२०७७ सालमा असोज महिना छैन, ११ महिनाको एक बर्ष



हाम्रो इकोनोमि

 

पात्रो सुधार गर्ने अभियन्ताहरुले विसं २0७७ सालको पात्रोबाट असोज महिना हटाउन सरकारसँग माग गरेका छन् । लामो समयसम्म पर्वहरुको तिथिमिति सुधार गरेर नयाँ क्यालेण्डर नबनाएका कारण हाम्रा चाडपर्वहरु आकाशीय ग्रहस्थितिसँग नमिलेको भन्दै आवश्यक सुधार गर्न उनीहरुले माग गर्दै आएका हुन् ।

पर्वसुधार अभियन्ता मल्ल भन्छन्, ‘२0७७ सालमा पात्रो नसच्याउने हो भने तीन वर्षपछि अर्थात् २0८0 सालमा मात्रै सच्याउन मिल्छ । त्यसैले नेपाल सरकार, पञ्चांग निर्णायक समिति लगायत सबै सरोकारवालाहरुले नयाँ पात्रो बनाउने बेला नहुँदै यसबारे गम्भीर हुन जरुरी छ ।’

आगामी वर्षको पात्रोबाट एक महिना हटाएको खण्डमा आकाशीय पिण्डहरुको गतिसँग हामीले मनाउने पर्वहरु मिल्ने भएकाले आगामी वर्षको पात्रोबाट असोज महिना हटाउन र असोजमा पर्ने चाडहरु भदौमै मनाउन पर्वसुधार अभियन्ताहरुले माग गरेका हुन् । अधिकमासको एक महिना समायोजन नगर्दा सिङ्गो एक पूर्णिमा अघि सरेकाले यसमा सुधार गर्नुको विकल्प नरहेको उनीहरुको तर्क छ ।

 

मन्त्रिपरिषदले निर्णय गर्‍यो, तर कार्यान्वयन भएन

पर्व सुधार गर्ने एवं क्यालेण्डरमा परिवर्तन गर्नुपर्ने माग धेरै वर्ष पहिलेदेखि चल्दै आएको हो । लामो बहसपछि सरकार पनि यसमा सहमत भयो । वि.सं. 0६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ०६६ सालको चैत महिनालाई हटाई वि सं 0६७ वैशाख शुरु गर्ने निर्णय त्यतिबेला गरेको थियो । 0६७ वैशाखमा पर्ने अधिकमासलाई साधारण सरह गरी चन्द्रमासअनुसार मनाइने पर्व एक महिना वर सार्ने मन्त्रिपरिषदको निर्णय पछि कार्यान्वयन हुन सकेन ।

त्यतिबेला संविधान निर्माण भएपछि मात्रै कार्यान्वयन गर्ने भनी बहाना बनाइयो । यसको पक्ष र विपक्षमा समेत बराबरी मत देखिएकाले सरकारले अहिलेसम्म पनि यसलाई परिवर्तन गर्ने आँट गरेको छैन ।

पात्रो सुधारको माग तीव्र रुपमा बढेपछि 0६४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एउटा पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति नै गठन गर्‍यो । त्यो समितिले पर्व सुधारको सम्बन्धमा सरोकारवालाहरुसँग राय सुझावको मागसहित सूचना जारी गरेको थियो ।

सो सूचनाको आधारमा नेपाल पञ्चांग निर्णायक समितिसहित विभिन्न ११ वटा संस्थाले यसमा आशंका र समस्याहरु पहिचान गरी राय सुझाव पेश गरेका थिए । त्यो सुझाव पेश गरेपछि अहिले सरकारले पनि यस विषयमा केही पनि थप निर्णय गरेको छैन ।

त्यसो त भारत सरकारले पनि अंग्रेजी तारेखसँग पात्रो मिलाए पनि चन्द्रमास (तिथि)सँग मिलाउन सकेको छैन । सन् १९५७ मार्च २२ मा भारत सरकारले पनि चली आएको चन्द्रमास र सौर्यमासलाई २४ दिन अघि सारेर सायन प्रणालीअनुसार राष्ट्रिय पञ्चांग सुधार गर्ने निर्णय गरेको थियो । सायन प्रणालीलाई मात्र आधार मानेर यो सुधार गर्दा धार्मिक गतिविधिमा प्रतिकूल असर गर्ने भन्दै अहिलेसम्म पनि स्थानीय स्तरबाट सरकारको निर्णय बमोजिमको नयाँ क्यालेण्डर लागू गरिएको छैन ।

तर, नेपालमा सुधार गर्न लागिएको क्यालेण्डरको प्रकृति भने भारतको जस्तो नभएको अभियन्ताहरु बताउँछन् । सायन र निरयण पद्दतिलाई समन्वय गरेर क्यालेण्डर परिवर्तन गर्दा कुनै पनि समस्या नहुने अभियन्ताहरु तर्क गर्छन् ।

 

सुधारको आवश्यकता किन ?

अभियन्ताहरुले चन्द्रमासमा मलमास हुने गरेको जस्तै सौर्यमासमा पनि हरेक १ वर्षमा २० मिनेट हेरफेर हुने गरेको बताउँछन् । यही समयको अन्तर बढ्दै गएका कारण आकाशीय पिण्डहरुको आधारमा तय हुने मानिसको ग्रह र नक्षत्रसमेत सही नहुने भएकाले यसको सुधार आवश्यक रहेको अभियन्ताहरु बताउँछन् ।

विदेशी क्यालेण्डरमा पनि हरेक ४ वर्षमा एक दिन ‘लिभ-डे’ भनेर मनाउने गरिन्छ । नेपालमै तिथिमितिका लागि प्रयोग गरिने चन्द्रमास अनुसारको क्यालेण्डरमा पनि हरेक ३ वर्षमा एकपटक मलमास आउँछ ।

चन्द्रमास अनुसार ३५६ दिनमा एक वर्ष हुने गर्छ । सौरमास अनुसारको एक वर्षभन्दा ९ दिनअघि नै वर्ष सकिने भएकाले हरेक ३ वर्षमा एउटा अधिकमास हुन्छ । यसरी हरेक १ वर्षमा बढी हुने २0 मिनेटलाई जोडेर राख्दा सौरमास अनुसार ७२ वर्षमा १ दिन हेरफेर हुन्छ । उनीहरुका अनुसार हामी अहिले वास्तविक मितिभन्दा २४ दिन ढिला छौं । आजको दिनलाई आधार मान्दा हामी अहिले मंसिरको १७ गते मनाउनुपर्नेमा कात्तिकको २३ गते मनाइरहेका छौं । यसको अर्थ १७२८ वर्ष पहिलेदेखि क्यालेण्डरको पुनर्मूल्यांकन गरेका छैनौं ।

तर, कतिपय ज्योतिष शास्त्रीहरुले भने २४ दिन ढिला हुँदैमा १ महिना नै किन गायब गराउने ? भनेर पनि यसमा आपत्ति जनाएका छन् । यस्तो उत्तरमा एक महिना हटाउन माग गर्ने अभियन्ताहरुले भने अधिकमास खेल्ने क्रममा १५ दिनसम्म तलमाथि हुने भएकाले ६ दिन ऋणात्मक हुँदैमा केही असर नपर्ने तर्क गर्छन् ।

 

के हो निरयण पद्दति र सायन सिद्धान्त ?

ज्योतिष शास्त्रमा ‘सायन’ र ‘निरयण’ गरी २ सिद्धान्तहरुको प्रयोग गरिन्छ । सायन सिद्धान्त अनुसार ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्डको एक वर्ष हुन्छ । त्यस्तै, निरयण पद्दति अनुसार ३६५ दिन ६ घण्टा ९ नौ मिनेट ९.७६ सेकेण्डको एक वर्ष हुन्छ ।

वैदिक कालपूर्व नै खगोल र ज्योतिषको विकास भएको मानिन्छ । हडप्पा सभ्यताको समयमा निरयण सिद्धान्तको प्रचलन थियो भने त्यसबाहेक अन्यत्र सायन पद्दतिको प्रचलन थियो । तर, सन् ५00 देखि ८00 सम्मको अवस्थामा भारतीय खगोलशास्त्री आर्यभट्ट र वराहमिहिरको समयमा सायन र निरयणको गणना समान गरिएको थियो । त्यो बेलामा निरयण पद्दति सूर्य सिद्धान्तमा आधारित थियो, जुन भारतले स्वीकारेको थियो । भारत बाहिर भने सायन पद्दतिको प्रचलन रह्यो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुरले डाके कांग्रेस इतर समूहको बैठक

    नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक डाकेका छन् ।...

यस्ता छन मन्त्रिपरिषद्का निर्णयहरू

    सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ...

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिनको म्याद...

यात्रुबाहक बस कर्णाली नदीमा खस्यो

    सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खसेको छ...