भ्रमण वर्ष -२०२० काे प्रवर्द्धन गर्न आङ साङ सुकी नेपाल आउने
म्यानमारका स्टेट कान्सिलर आङ साङ सुकी नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने भएकी छन् । राष्ट्रपति विद्या भण्डारीको म्यानमार राजकीय भ्रमणका क्रममा सुकीले नेपाल आउने चाहना व्यक्त गरेकी थिइन् ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा नेपाल आउने चाहना व्यक्त गरेपछि सरकारले सुकीको भ्रमणको तयारी गरेको छ । सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्नपछि स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुकीले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल चाहेको बताएका हुन् । ‘म्यानमारका स्टेट काउन्सिलर सुचीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ’, मन्त्री ज्ञवालीले भने, ‘हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौँ ।’
मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको भ्रमण सफल रहेको बताउँदै दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको पनि जानकारी दिएका छन् ।


