२२ जनालाई जिउँदै इँटाभट्टामा जलाएको दिन के–के भएको थियो ?



हाम्रो इकोनोमि

 

 

चुनावमा बुथ कब्जा गर्न आफैंले बनाउन लगाएको बम विस्फोटमा परी घाइते भएका २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लगेका कांग्रेस सांसद अफ्ताब आलम अहिले प्रहरी हिरासतमा छन् ।

जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरीको अहिलेको नेतृत्व १२ वर्षअघिको त्यस्तो घटनाको अनुसन्धानमा जुटेको छ जसलाई लुकाउन प्रहरीकै तत्कालीन जिल्ला नेतृत्वले भूमिका खेलेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट अहिले एसपी भूपेन्द्र खत्रीको नेतृत्वमा छ ।

उतिबेला सत्ता, शक्ति र पैसाको बलमा लुकाइएको घटना अहिले आएर सार्वजनिक भएको छ ।

आलमले त्यतिबेला हत्या गरेका मध्ये २ जना नेपाली भएको खुलेको छ ।

त्रिलोकप्रताप सिंह र ओशी अख्तर नाम गरेका ती दुई युवा आलमलाई चुनाव प्रचारमा सघाउन गएका थिए ।

विस्फोटमा घाइते भएका उनीहरूलाई बेहोश बनाउने सुइ लगाएर जिउँदै इँटाभट्टामा हालिएको पीडित परिवारको आरोप छ ।

त्यतिबेला भएको विस्फोटको घटनाका प्रत्यक्षदर्शीमध्ये एक हुन्, किरण साह ।

साह २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवार समेत बनेका थिए ।

आलमले चुनाव जित्दा राजपा सहितको मधेसी गठबन्धनका उम्मेदवार साह निकटतम प्रतिद्वन्द्वी थिए ।

२०६४ साल चैत २७ गते अर्थात् संविधान सभा चुनावको अघिल्लो दिन के भएको थियो ?

 

साहसँग गरिएको कुराकानीको सम्पादित अंश:

२०६४ साल चैत २७, ऐतिहासिक संविधान सभाको पहिलो चुनावको अघिल्लो दिन गाउँमा चुनावी रौनक थियो ।

औपचारिक प्रचारप्रसार सकिएपनि मतदानका लागि अन्तिम तयारी चलिरहेको थियो ।

रौतहटमा मेरो र अफ्ताब (पक्राउ परेका सांसद अफ्ताब आलम) को घर नजिकै छ, मुस्किलले ३ सय ५० मिटरको दूरीमा पर्छ ।

चुनाव हुनुभन्दा अघिल्लो दिन हामी घरमै थियौं, जुन दिन त्यो अकल्पनीय घटना भयो ।

साँझ करीब ६ बजेर १५ मिनेट जाँदा भयानक बम धमाकाको आवज आयो ।

मेरो घरबाट आगोको मुस्लो नै स्पष्ट देखियो ।

गाउँका अन्य मानिसहरूसँगै हामी पनि पानीको बाल्टिन बोकेर त्यतातर्फ लाग्यौं ।

त्यहाँपुग्दा घाइतेहरू छट्पटाइरहेका थिए । केही क्षतविक्षत भएका थिए ।

केहीका त शरीका टुक्राहरू नै पंखामा अड्किएका थिए ।

तत्काल जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय रौतहटमा खबर गर्‍यौं ।

जिल्ला प्रशासनमा दुर्गा सुवेदी प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयमा एसपी लक्ष्मण न्यौपाने प्रहरी प्रमुख हुनुहुन्थ्यो ।

उहाँहरूले ल ठीक छ, हामी हेर्छौं भन्नुभयो ।

केही समयमा प्रहरी पुग्यो । प्रहरीले तत्काल घटनास्थललाई सिल गर्‍यो ।

स्थानीयलाई त्यहाँबाट बाहिर धपाइयो ।

घटनास्थल त सिल गर्नु त स्वभाविक थियो तर, प्रहरीकै संरक्षणमा घटनालाई दबाइयो ।

मृतक केहीलाई खाडल खनेर पुरे । घाइते अवस्थामा छट्पटाइरहेकाहरूलाई बेहोश बनाउने सुइ लगाएर इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाए ।

गाउँमा अफ्ताबको आतंक थियो । कोही बोल्यो भने बाँकी राख्दैनौं भन्थे ।

तिमीहरूको घरमा पनि त्यसैगरी बम विफोट गराइदिन्छु भनेर धम्की दिन्थे ।

पीडित परिवारका तर्फबाट जाहेरी दिन जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी लक्ष्मण न्यौपानेसमक्ष पुगेका थियौं, तर उहाँले जाहेरी लिन मान्नुभएन ।

पछि हामीले हुलाकमार्फत जाहेरी दियौं ।

जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिल ध्रुवमणि अधिकारी थिए ।

उनले त्यो बेलामा वकिलले त्यो मुद्दालाई नचलाउने बताए ।

यहाँका जनताले यस्ता अपराधीलाई सर्वस्वहरण सहित जन्मकैद हुनुपर्ने अपेक्षा रोखका छन् ।

 

अर्कै थियो षड्यन्त्र !

उक्त स्थानमा बम बनाइँदै गरेको भन्ने जनाकारी जिल्ला प्रशासन कार्यलाय र जिल्ला प्रहरी कार्यलयमा तत्कालीन नेकपा एमालेका उम्मेदवार शैलेन्द्र साहले दिएका थिए ।

आफ्ताब आलमले सयजना भारतीय गुण्डाहरू ल्याएर बम बनाइराखेका छन्, सर्व साधारणलाई क्षति पुग्छ । चुनावको समयमा जनतालाई तर्साउने काम हुन्छ भन्दै शैलेन्द्र साहले निवेदन दिनुभएको थियो ।

त्यो बेलामा नेपाली कांग्रेसको सरकार थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । गिरिजाबाबुको छायाँमा हुर्केका अफ्ताब आलमले प्रशासनलाई हातमा लिएका थिए ।

विपक्षका जनतालाई तर्साउने, मार्ने अनि बूथ कब्जा गर्ने षड्यन्त्र गरिएको सूचना हामीले पाएका थियौं ।

चुनावका दिन पड्काउने गरी तयार गरिएको बम भण्डारण गरिएको स्थानमा चुरोटको ठूटो परेपछि अचानक विस्फोट भएछ । विस्फोटका कारण उसको पहिलो योजना विफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...