उपराष्ट्रपति नन्दबहादुर पुनका स्वकीय सचिव सन्तोष सुवेदी पक्राउ
दाङबाट प्रहरीको सामूहिक गिरफ्तारीमा परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नेता तथा कार्यकर्ताहरुमा सत्ताधारी नेकपाका नेता झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी पनि परेका छन् । उनको गिरफ्तारीले फेरि एकपटक सुवेदी परिवारको राजनीतिक पृष्ठभूमिलाई खोजीको विषय बनाएको छ ।
सन्तोष सुवेदी रोल्पा जिल्लाको इञ्चार्ज हुन्, प्रतिवन्धित विप्लव नेकपाको । उनी तात्कालीन एकीकृत माओवादी छोडेर विप्लव नेकपामा गएका थिए । उनको परिवारका सदस्यहरु सबै हाल तात्कालीन एकीकृत माओवादी र एमाले मिलेर बनेको नेकपामा छन् । उनी जनयुद्ध सुरु हुँदाका बखत तात्कालीन नेकपा (माओवादी)को खुल्ला गतिविधि गर्ने मोर्चाको रुपमा रहेको जनमोर्चा नेपालको तर्फबाट तत्कालिन रोल्पा जिल्ला विकास समितिका निर्वाचित सभापति झक्कुप्रसाद सुवेदीका जेठा छोरा हुन् ।
सन्तोषको राजनीतिक जीवन माओवादीको उतारचढावपूर्ण राजनीतिक जीवनसँग गाँसिदै अघि बढेको छ । २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा प्रचण्डसँग अलग हुँदा नेत्रविक्रम चन्द ‘विप्लव’ साथै बाहिरिएका थिए । तर वैद्यको नेतृत्वमा अबको क्रान्ति संभव छैन भनेर विप्लवले २०७२ सालमा वैद्यसँग ‘सम्बन्ध विच्छेद’ को घोषणा गर्दै नेकपा माओवादी, त्यसपछि नेकपा (माओवादी) र पछिल्लो चरणमा नेकपा नामाकरण गरेर एकीकृत जनक्रान्तिको कार्यदिशा अन्तर्गत क्रान्ति गर्ने भनी भूमिगत खालको बाटो अपनाए ।
यसले युवाहरुलाई आकर्षित गर्यो पनि । मोहन वैद्यको तात्कालीन ड्यास माओवादीबाट युवाहरु केही थोरै बाहेक अधिकांश विप्लवसँग अलग्गिए । त्यति नै बेला झक्कुप्रसाद सुवेदीका जेठा छोरा सन्तोष सुवेदी पनि प्रचण्डको नेतृत्वमा रहेको तात्कालीन एकीकृत माओवादी छाडेर विप्लवको पार्टीमा प्रवेश गरेका थिए ।
दाङबाट उक्त दलको राप्ती ब्युरोको बैठकका क्रममा प्रहरीले केन्द्रीय सदस्यसहितका नेताकार्यकर्ता गिरफ्तार गर्दा अहिले उनी पनि गिरफ्तारीमा परी प्रहरी हिरासतमा छन् । हाल प्रहरी अनुसन्धानमा रहेका सन्तोषको घरपरिवारमा भने असन्तोष र चिन्ताले घर गरिरहेको छ ।
।
मंसिर १४ गते हुन गैरहेको दाङ प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को चुनावमा बाधा पुर्याउने योजनासहित वैठक बसेको आरोपसहित सुरक्षा अधिकारीहरूले उनीहरुमाथि अनुसन्धान भैरहेको जनाएको छ । प्रचण्ड माओवादीमा हुँदा लामो समयदेखि सन्तोष तात्कालीन जनमुक्ति सेनाका डिपुटी कमाण्डर, पछि कमाण्डर–इन–चिफहुँदै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन ‘पासाङ’का निरन्तर सहयोगी रहँदै आएका थिए । सन्तोष विप्लव नेकपा प्रवेश गर्नुअघिसम्म उपराष्ट्रपति पुनको स्वकीय सचिवका रुपमा कार्यरत थिए । विप्लव समूहमा प्रवेश गरेसँगै उपराष्ट्रपति पुनको सचिवालयबाट उनले बिदा लिएका थिए । त्यसपछि उपराष्ट्रपति पुनको स्वकीय सचिवमा नेकपाका केन्द्रीय सदस्य समेत रहेका रोल्पा जेलबाङ मझिबाङका सरद नियुक्त भएका छन् ।
संघीय प्रतिनिधिसभाको निर्वाचनमा बुवा झक्कुप्रसाद सुवेदी काठमाडौंबाट चुनाव लड्दा सन्तोष रोल्पामा चुनाव बहिस्कारको अभियानमा अग्रपंक्तिमा सामेल थिए । अंग्रेजी भाषामा राम्रो दख्खल भएका उनी क्रान्तिका लागि भनेर हिंडिरहँदा उनका भाइ सन्देश प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको सचिवालयमा छन् भने दिदी भावना प्रदेश सभा सदस्य छिन् । कान्छी दिदी नेकपामै छिन् ।
सन्तोषको गिरफ्तारीपछि उनकी आमा खुमा सुवेदी निकै चिन्तामा छिन् । जनयुद्धमा होमिनु पूर्व प्राथमिक विद्यालयको स्थायी शिक्षिका रहेकी सुवेदी छोराको चिन्ताले विरामी परेकी छिन् । आफूहरुसँगै पार्टीमा रहँदा छोराले निकै राम्रा काम गरेको भए पनि विप्लव नेकपामा गएपछि रोल्पामा जिल्ला शिक्षा अधिकारीलाई मोसो दलेको, फेरि युद्ध गर्छु भनी मनसुवा बनाएको र हाल गिरफ्तार भई दुःख पाइरहेकोमा उनको चित्त दुखाइ छ । उनले निकै दुःख गरेर छोराछोरी पढाएको कुरा पनि बारम्बार दोहर्याउँछिन् ।
तर सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध घोषणा गरी नियन्त्रणका लागि फौजी प्रक्रिया अघि बढाइसकेकाले निशर्त शान्ति प्रक्रियामा आउन आह्वान गर्ने परिस्थिति पनि छैन र अर्कोतिर विप्लव नेकपाले आत्मसमर्पण गरेर संसदीय राजनीतिमा आउने अवस्था पनि देखिदैन । तथापि सरकारका तर्फबाट वार्ताको कुरा भैरहेको छ र विप्लव नेकपाको तर्फबाट वार्ताको वातावरण तयार गर्नका लागि सरकारले आफ्ना गिरफ्तार गरिएका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गरिनु पर्ने कुरा भने उठाउँदै आएको छ ।


