मिटर नचलाउने ११० ट्याक्सी चालक नियन्त्रणमा,
तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गरिएको सहसूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
उनका अनुसार दशैँ मनाउन विभिन्न जिल्लामा जाने यात्रु नठगिउन भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडक एवं बढ्दो सवारी चाप हुने स्थानमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको थियो । यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ गर्ने प्रवृत्ति अन्त्यका लागि सडकमा जाँचका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्र्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
त्यस्तै, खोटाङ मा यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो ।
खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही रु एक हजार ४५० लिनुपर्नेमा रु दुई हजार लिएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरू पक्राउ परेका थिए ।
पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा रु १० लाखसम्म जरिवाना गर्न सकिने कानूनी प्रावधान छ ।
दशैँ–तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले जाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए ।


