मन्त्रिपरिषद हेरफेरको तयारीमा ओली, को को छन सभामुखका दाबेदार
चीनका राष्ट्रपति सी जिङफिङलाई बिदाई गरेसँगै प्रधानमन्त्री केपी ओली र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभाको सभामुखको छनौटका सम्बन्धमा चिन्तन गर्न थालेका छन् । यसैगरी प्रधानमन्त्री ओली तथा नेकपा अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनको छलफल गृहकार्य समेत गर्न थालेका छन् । सभामुख पदमा नेकपाका धेरै सांसदको दाबी पर्न थालेकाले उनीहरूलाई व्यवस्थापन गर्न पनि मन्त्रिपरिषद्को पुनर्गठन आवश्यक परको हो भनिन्छ । चीनका राष्ट्रपति सीको यो नेपाल भ्रमण नभएको भए अहिलेसम्म सभामुखसँगै उपसभामुख समेतको टुंगो लागिसक्ने थियो ।
अप्ठ्यारोमा सत्तारुढ नेकपा
तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा गर्नुपूर्व संविधान विपरीत नेकपाकै सभामुख र उपसभामुख रहेका थिए । नेपालको संविधानले प्रतिनिधिसभाको सभामुख एउटै पार्टीको हुन् नहुने व्यवस्था गरेको छ भने यी दुई मध्ये महिला र पुरुषमा भागवण्डा गर्नुपर्ने व्यवस्था पनि गरेको छ । सभामुख र उपसभामुख चयन हुँदा तत्कालीन नेकपा माओवादीको तर्फबाट सभामुख र तत्कालीन नेकपा एमालेको तर्फबाट उपसभामुखमा सहमति भएको थियो र यो सहमतिअनुसार तत्कालीन नेकपा माओवादीका नेता सभामुख र तत्कालीन नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए ।
तर, २०७४ जेठ ३ गते यी दुई पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि सभामुख र उपसभामुख एउटै पार्टीका कायम रहेको अवस्था थियो । तर, अब महराले सभामुख पदबाट राजीनामा गरेपछि यो स्थिति कायम रहनेछैन र सम्भवतः शिवमाया तुम्बाहाम्फेलाई उपसभामुख(हाल सभामुख) पदबाट राजीनामा गराएर सत्तारुढ नेकपाले सरकारमा सामेल रहेको समाजवादी पार्टीलाई उपसभामुख पद दिने सम्भावना रहेको छ । तर, उपसभामुख पद समाजवादी पार्टीलाई दिएर सभामुख पद नेकपा एमालेले लिनका लागि संवैधानिकरुपले सहज स्थिति छैन ।
सभामुखका लागि संवैधानिक संकट
कृष्णबहादुर महराले राजीनामा गरेपछि रिक्त रहेको सभामुख पद सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आफैंसँग राख्नका लागि संवैधानिक संकट उत्पन्न हुनसक्ने स्थिति रहेको छ । सभामुख पदमा नेकपाकै सांसदलाई चयन गर्नका लागि कार्यवाहक सभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा गर्नुपर्दछ । तर, अहिलेको स्थितिमा कार्यवाहक सभामुख तुम्बाहम्फेले कहाँ राजीनामा गर्ने भन्ने सम्बन्धमा संविधान र प्रतिनिधिसभा नियमावली २०७५ ले केही बोलेको छैन ।
स्वयम् तुम्बाहम्फेलाई सभामुख बनाउनका लागि पनि संवैधानिक प्रावधान र प्रतिनिधिसभा नियमावली २०७५ ले अवरोध गरेको छ । किनभने उपसभामुख पदबाट राजीनामा नगरी तुम्बाहम्फेले पनि सभामुख चयनको प्रतिस्पर्धामा भाग लिन पाउँदिनन् तर संविधान र प्रतिनिधिसभा नियमावलीले अहिलेको अवस्थामा कार्यवाहक सभामुख तुम्बाहम्फे कहाँ राजीनामा गर्ने भन्ने उल्लेख गरेको छैन ।
यो स्थिति प्रधानमन्त्रीका कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्नि खरेल र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कानूनी सल्लाहकार समेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले खडा गरिदिएका हुन् । स्मरणरहोस् सुवासचन्द्र नेम्वाङले तत्कालीन नेकपा एमाले २०५१ साल मङ्सिर १४ गते स्व.मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनाउँदा पनि यसैगरी अप्ठ्यारो स्थिति खडा गरिदिएका थिए ।
२०४७ सालको संविधानमा न्यायपरिषद्मा पदेन सदस्य कानून तथा न्याय मन्त्री हुने प्रावधान रहेको थियो । तर, तत्कालीन प्रधानमन्त्री स्व. अधिकारीले सुवासचन्द्र नेम्वाङलाई आफूले गठन गरेको मन्त्रिपरिषद्मा न्याय, कानून राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।
न्याय कानून राज्यमन्त्री न्याय परिषद्को सदस्य हुन नसक्ने भएपछि दुई दिनमा नै मन्त्रिपरिषद् गठन गरेर नेम्वाङलाई मन्त्रीमा बढुवा गरिएको थियो । अहिले कृष्णबहादुर महरालाई सभामुख पदबाट राजीनामा गराउँदा संवैधानिक प्रावधानतिर नेम्वाङ र खरेलले ध्यान नदिँदा अब सभामुख चयनका निम्ति संविधान नै संशोधन गर्नुपर्ने अवस्था खडा भएको छ ।
सभामुखका लागि दाबेदार नेकपा नेताहरू
२०७६ असोज १३ गते कृष्णबहादुर महराले राजीनामा दिएसँगै नेपाल कम्युनिष्ट पार्टीमा सभामुखको दाबेदारका रुपमा लगभग आधा दर्जन नेताहरू अगाडि आएका छन् । अग्नि सापकोटा, सुवासचन्द्र नेम्वाङ, देव गुरुङ, ओनसरी घर्ति सभामुखको दाबेदारकारुपमा देखापरेका छन् । साविक नेकपा एमालेको पक्षमा यो पद गएमा सुवासचन्द्र नेम्वाङले सभामुखको बाजी मार्नसक्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्री केपी ओलीले सभामुख आफू निकटको हुनुपर्ने एउटै तर्कको आधारमा मात्र यो पद साविक नेकपा एमालेको पक्षमा जाने स्थिति छ र साविक एमालेको पक्षमा यो पद गएमा नेम्वाङ सभामुख हुने सम्भावना रहन्छ भनिन्छ । तर, नेकपाभित्र शक्ति सन्तुलनका लागि र यो पद साविक माओवादी केन्द्रको भागमा परेको कारणले गर्दा सभामुख साविक माओवादी केन्द्र कित्ताकै सांसद हुने ठोकुवा गरिन्छ । यो स्थितिमा सबैभन्दा बलियो दाबेदार अग्नि सापकोटालाई मानिएको छ । वर्तमान सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको रामबहादुर थापाको जोड भने देव गुरुङलाई सभामुख बनाउनेमा भइराखेको छ ।


