५ तस्विरमा हेर्नुहोस राजकीय भोजमा राष्ट्रपति भण्डारी र सीको ‘ग्यान्बे’
दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् ।
राष्ट्रपति सी बसेकै होटल सोल्टी क्राउन प्लाजामा राष्ट्रपति भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । सीको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा केही नेपाली परिकारहरुको पनि व्यवस्था गरिएको थियो ।
रात्रीभोज कार्यक्रमलाई दुवै देशका राष्ट्रपतिले सम्बोधनसमेत गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सुस्वास्थ्यका लागि भन्दै चियर्सको प्रस्ताव गरेपछि राष्ट्रपति सीले त्यसको स्वीकारोक्तिमा ‘ग्यान्बे’ भन्दै चियर्स गरेका थिए ।.
रात्रीभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सहभागी भएका थिए । रात्रीभोजका लागि परराष्ट्र मन्त्रालयले अतिथिहरुलाई ड्रेस कोड तोकेर निम्तो पठाएको थियो ।
औपचारिक भ्रमणका लागि शनिबार अपराह्न करिब ४ः४५ बजे काठमाडौं ओर्लिएका सीले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तासमेत गरिसकेका छन् । उनी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । चीनबाट नेपालमा भएको यो २३ वर्ष पछिकै उच्चस्तरीय भ्रमण हो ।






