बसपार्कमा पाउने टिकट गाडीको हो कि चुनावको?



हाम्रो इकोनोमि

 

आइतबार बिहानै चार बजेतिर घर अघिल्तिरको सडकमा निकै हल्लाखल्ला भयो । झल्याँस्स निद्रा खुल्यो । यस्तो हल्लाखल्ला पहिले पहिले भूकम्प जाँदा हुन्थ्यो । मलाई भूकम्प गएछ कि भन्ने भयो । तर भूकम्प जाँदाको भन्दा अलि फरक किसिमको हल्ला थियो ।

कुकुर भुकेका थिएनन् । उठेर बाहिर निस्किएँ । वरिपरि एक, दुई घरका मानिस पनि मजस्तै के भएछ भनेर बाहिर निस्किएका रहेछन् । बाहिर निस्किएपछि ८-१० जना महिला पुरुष बीच सडकमा उभिएर कतै जाने सुर गर्दै थिए ।

‘ल ल चाँडो गर पछि ढिला हुन्छ पाइँदैन” एउटाले फोनमा भन्दैथिए । मलाइ यो सुन्दा झन् अचम्म लाग्यो के होला यति आधा रातमा नै ढिला हुने र नपाइने ? ।उताबाट के भनेछ कुन्नी, फेरि यतैको मान्छेले भन्यो, त्यसोभए मै ल्याइदिन्छु  तिम्रो धनगढीको कि अत्तरियाको ?

अनि बल्ल मेरो दिमागले कुरो समात्यो । त्यो भिड त नयाँ बसपार्कमा बसको टिकट काट्न जानेहरुको पो रहेछ । कीर्तिपुरबाट रत्नपार्क चल्ने गाडी नचलेको भएर त्यहा उभिएका रहेछन ।

यो सबै देखेपछि अघिल्लो दिन आफैंले लेखेको ‘यात्रुको सुविधाको लागि अनलाइन टिकट बुकिङ’ शीर्षकको समाचारको याद आयो । आफैंलाई देखेर खिन्न महसुस भयो । यसरी टिकट काट्न बिहान चार बजे लाइनमा उभिन बाध्य भएकाहरुले त्यो समाचार पढेका भए यो सरकार र समाचार लेख्नेलाई कति सरापेका होलान् भन्ने लाग्यो ।

जनप्रतिनिधि र सरकारका कर्मचारीको भाषण र सञ्चारमाध्यमको कुरा हुबहु मान्ने हो भने हाम्रो देश डिजिटल युगमा प्रवेश गरिसकेको छ । पेपरलेस मन्त्रीपरिषद बैठक सुरु गरेको पनि एक वर्ष भइसक्यो । ल्याप्टप काखीमा च्याप्दै मन्त्री परिषदको बैठकमा ठडिएका कलम र कागजविहीन अनुहारहरु पत्रिकाको अगाडिको पेजमा देख्दा नेपाल विकसित देशहरुकै हाराहारीमा पुगिसकेको अनुभव हुन्छ ।सिंंगापुरबाटै प्रधानमन्त्रीज्यूले मन्त्रीपरिषद बैठक संचालन गरेको अनुभव पनि हामीले पहिलेपटक गर्यौं ।

सिंहदरबारमा बसेर दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द« मोदीसँग गफिँदै अमलेखगञ्जको पेट्रोलियम पाइपलाइनको उद्घाटन पनि गरियो । यी सबै घटना नेपाल प्राविधिक युगमा प्रवेश गर्यो र नेपाल विकासको बाटोमा अगाडि बढ्दैछ भन्न प्रयाप्त छन् । तर यसै देशको एउटा नागरिकले भनेजति पैसा तिरेर गाडीको टिकट पाउन हारलुछ र तानातान गर्दै पाँच-पाँच घण्टा लाइनमा बस्नु परेको छ ।

नेपाल सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरुको लागि यो खासै महत्वको विषय बन्न सकेको छैन । शायद उनीहरु यसरी कोचाकोच गरेर टिकटको लाइनमा बस्नुपर्दैन । न त दशँैमा काठमाण्डौ भित्रिने खसीबोकाजस्तै  गाडीमा उकुसमुकुस भएर उपत्यका बाहिरिनुपर्छ । र पनि यो त्यति महत्वको विषय बन्न सकेको छैन ।

यिनै कुरा सोच्दै मेरो बिहान वित्यो । दिउँसो कार्यलयबाट घर फर्किंदा गाडीमा गाउँको एकजना काकासँग भेट भयो । उहाँ निकै खुशी देखिनुहुन्थ्यो । मैले कताबाट आउनुभएको भनेर सोधें । उहाँले जोशका साथ जवाफ दिनुभयोे “टिकट लिएर आएको ।” मैले कतिखेर जानुभएको, अनि लाइनमा बस्नु परेन भनेर सोधें । उहाँले खल्तीको टिकट छाम्दै भन्नुभयो, लाइन लाग्नु परेन चिनेको मान्छे थियो पहिले नै काटेर राखेको थियो ।

काकाको अनुहारको चमक निकै तेज थियो । हेर्दा लाग्थ्यो उहाँको गोजीमा गाडीको टिकट होइन कि सांसद वा मेयरका लागि चुनावको टिकट छ र त्यो चुनाव उहाँले जित्ने पनि पक्कापक्की छ ।

म केही नबोली फेरि सोचमग्न भएँ । मलाई लाग्यो पैसा तिरेर गाडीको टिकट पाउन पनि चिनेको मान्छे खोज्नुपर्ने हाम्रा दिन अझै गएका रहेनछन् । दशैँको लागि घर जान टिकट पाउँदा पनि आधा दशैँ मनाएजतिक्कै खुसी हुनुपर्ने ? यदि यही नै खुशी हो भने त सरकारले भनेजस्तो खुशी हुनका लागि समृद्धि आउनै  पर्ने रहेनछ ।

काठमाण्डौ उपत्यकामा  कति मानिस बस्छन् भन्ने कुरा सरकारलाई थाहा हुनु पर्ने हो । असोजमा दशैँ मनाउने र दशैँमा मानिस उपत्यका बाहिर जाने पनि कुनै नौलो कुरा होइन । योबेला लगभग कति मानिस उपत्यका बाहिर जान्छन् भन्ने तथ्याँक पनि सम्बन्धित निकायसँग हुनुपर्ने हो ।

त्यसैअनुसार पहिलेदेखि नै तयारी हुनुपर्ने होइन र ? तर सम्बन्धित निकायहरुको यसतर्फ ध्यान जान सकेको छैन । र पो त सर्वसाधारणले कतिले त टिकटकै लागि कार्यालय बिदा लिनु परेको छ । घण्टौं लाइनमा बस्नु परेको छ । बिरामी र लाइन लाग्न नसक्नेको पीडा बेग्लै छ भने कतिले बाध्यताले जोखिममा यात्रा गर्नुपरेको छ ।

यो सबै भद्रगोल हेर्दा भन्न मन लाग्छ, हे सरकार कि त यो टिकट वितरण व्यवस्थित बनाउ कि जोरबिजोर नम्बरका गाडी फरक फरक दिन चलाउने नियमजस्तै दशैँ आधा नेपालमा एकचोटी र आधा नेपालमा अर्को चोटी मनाउने नियम बनाउ । तर यसरी समृद्ध नेपालका नारा मात्रै बाँडेर भद्रगोल पारा नदेखाउ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...