महिनावारी ‘कप’ के हो? कसरी प्रयोग गर्ने?



 

हामीमध्ये धेरैलाई यसबारे थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौं होला। हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पाप’ नै कहलिन्छ। छाउगोठमा महिलाहरूले ज्यान गुमाएका समाचार आइरहेकै छन्।

महिनावारी स्वच्छ बनाउन हामी ‘स्यानिटरी प्याड’ प्रयोग गर्दै आएका छौं। अचेल ‘ट्याम्पुन’ पनि बजारमा देखिन थालेको छ। ट्याम्पुन भनेको कपासलाई लाम्चो आकार दिएर बनाइएको साधन हो, जुन महिनावारी बेला योनीभित्र राखिन्छ। यसले रगत सोस्छ। विदेशमा यसको चलन धेरै भए पनि हामीकहाँ प्याडजस्तो सर्वसुलभ छैन।

यस्तै वैकल्पिक साधन हो, मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो, जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ। यो कप गर्भाशयभन्दा तलपट्टि योनीको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन। रगत कपमा जम्मा हुन्छ।

यसको प्रयोग अनुभवबारे माल्भिका भन्छिन्, ‘यो नरम र लचिलो भएकाले समस्या हुँदैन। प्याड वा ट्याम्पुनजस्तो फेरेर फ्याँक्नु पर्दैन। राम्ररी धोइपखाली बारम्बार प्रयोग गर्ने हो। मेन्सट्रूअल कप स्वास्थ्य र आर्थिक दुवै हिसाबले फाइदाजनक छ। एउटा कपको आयु पाँचदेखि दस वर्ष हुन्छ।’

उनले भनेजस्तै संसारभर महिनावारी कपका फाइदाबारे चर्चा भइरहेका छन्। लगाउन आरामदायी र रगत नचुहिने भएकाले पौडी खेल्नेहरूलाई पनि फाइदाजनक भएको बताइँदै आएको छ। तर यसबारे धेरैलाई अलमलै छ। टालोबाट भर्खरै प्याडसम्म पुगेका महिलाका लागि त झन् यो के हो के?

यसबारे हामीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नीरा श्रेष्ठसँग कुराकानी गरेका छौं।

उनका अनुसार यो कप सुरक्षित छ। यसले स्वास्थ्यमा कुनै असर गर्दैन। प्याड प्रयोग गरेको ४ देखि ६ घन्टा अन्तरालमा परिवर्तन गरिनुपर्छ। नभए संक्रमणको सम्भावना बढ्छ। त्यसको तुलनामा महिनावारी कप धेरै गुणा राम्रो छ।

‘प्याड बढी समय प्रयोग गरे त्यसमा हुने रसायनले योनीमा असर गर्छ, जसले बाँझोपन वा पाठेघर क्यान्सरसमेत निम्त्याउन सक्छ,’ निराले भनिन्, ‘मेन्स्ट्रूअल कपमा रसायनको डर हुँदैन। यसलाई सफा भने गरिरहनुपर्छ।’

निराका अनुसार रगत बग्ने मात्रा हेरेर चारदेखि बाह्र घन्टाको अन्तरालमा कप सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ। प्रत्येक महिनावारीपछि कपलाई कम्तिमा पाँच मिनेट पानीमा उमालेर सफा गर्नुपर्छ। सुख्खा कपलाई झोला वा बट्टामा प्याक गरेर राख्नुपर्छ।

हरेकपटक प्रयोगपछि यही विधि अपनाए यो कप पाँचदेखि दस वर्ष प्रयोग गर्न सकिन्छ। कम्पनीअनुसार यसको प्रयोग अवधि फरक पर्न सक्छ।

कतिपयले यो कप प्रयोगमा ‘कुमारीत्व’ को प्रश्नसमेत उठाएका छन्। योनीभित्र छिराइने हुँदा ‘कुमारीत्व गुम्ने’ भन्दै धेरैले कप प्रयोग गर्न हिच्किचाउने पनि छन्। यो संकोच नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै छ।

यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रस्ट भनेका छन्– यो कपले कुमारीत्वमा कुनै असर पार्दैन। कुमारीत्वको अवधारणा आफैंमा बाझिएको छ। योनीको झिल्ली च्यातिएमा कुमारीत्व भंग भएको मानिन्छ, जुन सबै महिलाका हकमा समान हुँदैन। मेन्स्ट्रुअल कप वा ट्याम्पुनजस्ता साधनले यसमा कुनै असर गर्दैन।

मेन्स्ट्रुअल कप उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू रुबी कप र अर्गानी कपले यो दाबी पनि गरेका छन्।

डा. निरा यसमा सहमत छन्। ‘यसले कुमारीत्वमा असर पार्छ भन्ने भ्रम मात्रै हो। कपको आकार र त्यसलाई प्रयोग गर्ने तरिकामा भने ध्यान पुर्याउन जरुरी छ। बिनाज्ञान र आकार नमिल्दो कप जबर्जस्ती लगाउँदा भने असहज हुन्छ नै,’ उनले प्रस्ट्याइन्।

कप प्रयोगसम्बन्धी तरिका राम्ररी नबुझेका साना किशोरीलाई भने प्रयोग नगर्न नै उनी सुझाउँछिन्।

कसरी प्रयोग गर्ने त?

पहिले त आफूलाई कुन आकारको कप मिल्छ भन्ने यकिन हुनुपर्छ। यसबारे चिकित्सक वा बिक्रेतासँग बुझ्न सकिन्छ। आकार मिल्दो कप योनीमा कसरी छिराउने भन्नेबारे पनि उनीहरूले नै जानकारी दिनेछन्।

‘यस्तो कपको वातावरणीय फाइदा पनि छ। प्याड कुहिँदैन, कहाँ फ्याँक्ने भन्ने समस्या सधैं हुन्छ,’ उनी भन्छिन्, ‘यो त वर्षौं प्रयोग गर्न सकिन्छ। एकपटक किनेपछि महिनैपिच्छे खर्चिने पैसा जोगिन्छ।’

सामान्यतया महिनावारी कपको मूल्य पन्ध्र सयदेखि पच्चीस सयसम्म पर्छ। विदेशबाट आयात गर्नुपर्ने र लामो समय प्रयोग हुने भएकाले मूल्य बढी भएको व्यवसायी बताउँछन्। विदेशमा पनि प्याड र ट्याम्पुनको तुलनामा यसको मूल्य धेरै नै छ। रुबी र अर्गानी कपको मूल्य ७ देखि २५ अमेरिकी डलरसम्म पर्ने तिनका वेबसाइटमा उल्लेख छ।

एकपटकको लगानी हेर्दा धेरै लागे पनि हरेक महिना प्याडमा खर्चिने पैसाभन्दा यो सस्तो पर्न आउँछ।

‘साँच्चै भन्नुपर्दा महिनावारी कपको आर्थिक, शारीरिक, वातावरणीय सबै किसिमका फाइदै फाइदा छन्,’ माल्भिका भन्छिन्, ‘यसले महिनावारी सहज बनाउँछ, जसले स्वतः हाम्रो आत्मविश्वास बढाउँछ।’

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईं पाँच दिन थुनामै

  न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको