वरीयता नफेर्न माधव नेपालको चेतावनी
अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरूको मर्यादा हेरफेरसम्बन्धी एजेन्डा अचानक प्रवेश गराएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर त्यसो गरिए सचिवालय बैठकमा ‘काउन्टर’ एजेन्डा ल्याउने चेतावनीसमेत दिए ।
कोटेश्वरस्थित आफ्नै निवासमा शनिबार प्रचण्डसँगको भेटमा नेपालले वरीयता तलमाथि गर्न खोजिए ‘एक व्यक्ति : एक जिम्मेवारी’को नीति अघि सार्ने बताएका छन् । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ ।
शुक्रबारको बैठकमा वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरिएलगत्तै आफूमाथि अन्याय भएकाले खनालले वरीयताक्रम पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए । टुंगिसकेको मुद्दा उठाएर हेरफेरको कोसिस गरिए विधानमा व्यवस्था गरिएको एक व्यक्ति : एक जिम्मेवारी अध्यक्षबाटै लागू हुनुपर्ने माग राख्ने नेपालको तयारी छ ।
ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने गत पुसमा वामदेव गौतमले पूरक प्रस्ताव अघि सारेका थिए । एमाले धार कोअर्डिनेसन केन्द्र र नेकपा माले गठन हुँदादेखि नै खनालभन्दा आफू माथिल्लो कमिटीमा रहेर काम गरेको, माले–मार्क्सवादी एकतापछि आफ्नै प्रस्तावमा खनाल स्थायी समितिमा मनोनीत भएकाले उनीभन्दा वरिष्ठतामा अगाडि रहेको नेपालको दाबी छ । खनालले भने आफू निवर्तमान अध्यक्षको हैसियतमा नेपालभन्दा माथिल्लो वरीयतामा हुनु स्वाभाविक भएकाले पार्टी एकतापछि अन्याय भएको बताउँदै आएका छन् ।
प्रचण्ड र नेपालले शुक्रबारको निर्णय र एकता र कार्यविभाजनसम्बन्धी बाँकी एजेन्डामा केन्द्रित रहेर छलफल गरेको नेपाललाई उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले बताए । महासचिव विष्णु पौडेलले भने वरीयतासम्बन्धी विषयले एजेन्डाका रूपमा बैठकमा प्रवेशै नपाएको बताए । ‘जेएन कमरेडले बैठकमा वरीयता हेरफेरको कुरा उठाउनुभएको हो,’ महासचिव पौडेलले नयाँ पत्रिकासँग भने, ‘त्यस विषयमा कुनै छलफल भएको छैन । नयाँपत्रिकाबाट