प्रदेश ३ को राजधानी हेटौडै हुदैन : मुख्यमन्त्री पौडेल



 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् ।

प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ ।

काठमाडौंको नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउन नहुने जिकिर गरे ।

अबको केही दिनभित्रै प्रदेश ३ को नाम र राजधानी सुन्न पाइने दाबी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानीका विषयमा यस्तो दलील प्रस्तुत गरे–

तपाईहरुको सबैभन्दा ठूलो जिज्ञासा राजधानीको सन्दर्भ र नामको सन्दर्भ छ । मैले के अनुरोध गरें भने घरपायकका आधारमा राजधानी रहँदैन । मैले चाहेर हुने भए त स्वाभाविकरुपमा हेटौंडामा हुनुपर्छ भनौंला । किनभने, मेरो घर त्यहीँ छ, मैले बाहिर भन्न अलि मिल्दैन ।

तर, म एउटा कुरा के प्रष्ट पार्छु भने राजधानीका विषयमा मेरो आफ्नो लजिक छ । जबर्जस्त लजिक छ । त्यो के हो भने मैले हेटौंडै चाहिन्छ भन्दिनँ, तर राजधानी यो राजधानीमा (काठमाडौं) मा हुँदैन । यो मेरो निर्णय हो । यो सिंहदरबारको छायाँभित्र आएर प्रदेशको राजधानी बस्दैन ।

 

सिंहदरबार यहीँ छ । हामी २०/२५ वर्षसम्म केमा लडियो भने राजधानीलाई कसरी व्यवस्थित गर्ने ? राजधानीका जनतालाई कसरी डाइभर्ट गर्ने ? यो पपुलेसनलाई हामीले कसरी बाहिर लैजान सक्छौं ? कसरी बाहिरको क्षेत्रलाई विकास गर्ने ? यी सबै मान्छे काठमाडौंमा आउने र काठमाडौं अस्तव्यस्त शहरको रुपमा रुपान्तरण हुने कुराको अन्त्य गर्न सबभन्दा पहिले राजधानीको पपुलेसनलाई डाइभर्ट गर्नुपर्छ । यो एउटा वैज्ञानिक आधार हो । अब २०/२५ वर्षसम्म यिनै कुरा गरेर म आएँ । अब फेरि राजधानीलाई ल्याएर काठमाडौंमै राख्नुपर्छ भनेर मैले भनें भने मेरो २० वर्षको इतिहास, मैले जे कुरा गरें, जे लगानी गरें, त्यो खेर जान्छ । त्यो हुँदैन ।

 

राजधानी नुवाकोटमा लान पनि म तयार । कुनै आपत्ति छैन । हेटौंडा नै राख्नुपर्छ भन्दिनँ म । रामेछापमा यदि सम्भावना छ भने त्यहाँ पनि जाऔं । तयार होऔं । तर, के भने राजधानी हामी यस्तो ठाउँमा लैजाऔं, जहाँ त्यो क्षेत्रको पनि विकास हुन सक्छ, जनताले काठमाडौं बाहिर पनि देश हो भनेर सोच्नुपर्छ । हामीले त्यही सेवा र सुविधा दिन सक्यौं भने काठमाडौंमा जनता धेरै आउँदैनन् । योचाहिँ मेरो एउटा दृढ कुरा हो ।

 

अर्को पक्ष के हो भने म तपाईहरुलाई एउटा उदाहरण दिन्छु । २०१७/०१८ सालमा राजा महेन्द्रले बनाएका जिल्ला सदरमुकामहरु हेर्नुहोस् । प्रशासनिक भवनहरु हेर्नुहोस् । मेचीदेखि महाकालीसम्म जानुभयो भने जम्मै बोर्डर साइडमा छन् ।

 

किन तल–तल, तल–तल ? मास्तिर राखेको भए पनि हुन्थ्यो नि । चन्द्रनिगाहपुरमा नराखेर किन गौरमा राखियो ? सप्पै हेर्नुहोस् बोर्डरमा छन् । यसको अर्थ त्यो स्ट्राटेजीकल्ली पनि, सरक्षाको हिसाबले, हरेक हिसाबले भन्ने पनि एउटा तर्क हो ।

 

त्यसैले राजधानीजस्तो विषयलाई मैले भनेर त हुने हैन, हामी दुई/चार जनाले भन्नुभन्दा पनि सिंगो यो मुलुकको नेतृत्व गर्ने राजनीतिक पार्टीहरुको वीचमा एउटा सहमति भयो भने हुन्छ । किनभने यो त दीर्घकालीन प्रभाव पार्ने, दीर्घकालीन असर पार्ने कुरा हो ।

 

अहिले काठमाडौंका मान्छेलाई काठमाडौंमा हुँदा राम्रो । नजिकको हिसाबले सबै राम्रो होला । तर, के भने त्यसको व्यवस्थापकीय हिसाब र अरु हिसाबले पनि, संघीय व्यवस्थालाई व्यवस्थापन गर्ने हिसाबले पनि राजधानी काठमाडौंमा हुँदैन र काठमाडौंभन्दा बाहिर जानुपर्छ भन्ने मेरो मान्यता हो ।

 

तर, यसो भनेर मैले यहीँ नै हुनुपर्छ त भनिनँ । किनभने त्यसको संविधानले नै व्यवस्था गरेको छ । संविधानले राजधानी कहाँ बनाउने, कसरी बनाउने भन्ने कुराको व्यवस्था गरिसक्या छ । प्रदेशसभाको दुईतिहाई सदस्यको बहुमतले जहाँ भन्छ, त्यहीँ बनाउने भन्या हुनाले बाटो त त्यही हो, त्यहाँ जानुपर्छ । म जाने हो । तर, त्यसमा सकेसम्म अझ एकमना, एकरुपता सबैको भयो भने भोलि राजधानी जहाँ भए पनि सबैले सहज ढंगले स्वीकार गर्ने वातावरण बनोस् भन्नेमात्र मेरो चाहना हो । यसले गर्दा केही ढीला भएको हो ।

 

अब नामको विषयमा राजधानी नबनिकन नाममात्रै भन्दाखेरि पनि खासै त्यति ठूलो औचित्य नहुने र तपाईहरुको पनि चित्त बुझ्दैन । नाममात्रै निर्णय गर्‍यो, राजधानी के भन्ने हुन्छ । त्ससो भएको हुनाले दुईवटा कुरो एकै दिन हुन्छ । जहिले भए पनि, दुई दिन हामी लगाउँदैनौं । एक्कै दिन, एउटै प्रस्तावमा नाम र राजधानी हुन्छ । र, यहाँ मेरो कुनै इन्ट्रेष्ट छैन । तर, सैद्धान्तिक हिसाबमा मात्रै मैले कुरा गरेको हो ।

 

मेरो व्यक्तिगत इन्ट्रेष्टका आधारमा राजधानी रोकिएको हैन । हामी यसलाई अगाडि बढाउँछौं । अगाडि जान्छ र तपाईहरु सबैले केही दिनभित्र अब राजधानीको नाम र स्थायी राजधानीको ठाउँ पनि सुन्न पाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ