सुष्मा स्वराजको नेपाल सम्बन्धः सधैं नेपालीले सम्झने भारतीय विदेशमन्त्री



हाम्रो इकोनोमि

 

भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राति हृदयाघातका कारण एम्स अस्पतालमा निधन भएको छ । आजै दिउँसो अन्त्यष्टि गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा ५ वर्ष विदेशमन्त्री रहेकी उनलाई नेपालीले पनि विभिन्न हिसाबले सम्झने गरेका छन् ।

 

सन् २०१५ को नेपालमा आएको भूकम्पका समयमा भारतको विदेशमन्त्रीको हिसाबले उद्धारका लागि उनले तत्कालै पहल गरेकी थिइन् । उनले सोही समयमा अन्य देशका नेपालमा रहेका नागरिकलाई पनि उद्धार गरेर सहयोग गर्न आग्रह गरेको चर्चा भएको थियो । १९ फेब्रुअरी २०१९ मा स्पेन सरकारले नेपालबाट भूकम्पका बेलामा आफ्ना नागरिक उद्धार गरिदिएकोमा भन्दै ‘ग्रान्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ नामको सम्मान नै सुष्मालाई दिएको भारतीय मिडियामा समाचार आएका थिए ।

 

तर, उनै सुष्मा विदेशमन्त्री भएको बेलामा नेपालले नाकाबन्दी बेहोर्नुपरेको थियो ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला भारतीय नाकाबन्दीका प्रखर विरोधी भए पनि सुष्मासँग भने राम्रो सम्बन्ध रहेको प्रधानमन्त्री निकट जानकारहरुको भनाइ छ । सुष्माको पनि मृगौला प्रत्यारोपण भएको र प्रधानमन्त्री ओलीको पनि प्रत्यारोपण भएका कारण उनीहरुबीच सो विषयमा भेटघाटका समयमा कुराकानी हुने गरेको उनीहरुको भनाइ छ ।

 

प्रधानमन्त्री ओली दोस्रोपटक प्रधानमन्त्री हुनुभन्दा करिब दुईसाताअघि सुष्मा दुईदिने नेपाल भ्रमणमा आएकी थिइन् । विपक्षी नेताकै हैसियतमा ओलीले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सोही क्रममा २०१८को फेब्रुअरी पहिलो साता सुष्मा दुई दिने नेपाल भ्रमणमा पनि आएकी थिइन् ।

दोस्रो महिला विदेशमन्त्री

सुष्मा राजनीतिमा आउनुअघि भारतको सर्वोच्च अदालतकी वकिल पनि हुन् । भारतीय जनता पार्टीकी नेतृ स्वराज पछिल्लो समय २६ मे २०१४ बाट ३० मे २०१९ सम्म विदेशमन्त्री भएकी थिइन् । उनी भारतमा विदेशमन्त्री हुने इन्दिरा गान्धीपछि दोस्रो महिला हुन् । उनी सातपटकसम्म संसद् सदस्यका रुपमा निर्वाचित भएकी थिइन् ।

 

तीनपटक उनी विधानसभाको सांसद पनि भएकी थिइन् । उनी सन् १९७७ मा हरियाणा राज्यमा २५ वर्षमै सबैभन्दा कम उमेरको मन्त्री भएकी थिइन् ।  उनले दिल्लीको पाँचौ मुख्यमन्त्रीका रुपमा पनि १३ अक्टोबर १९९८ देखि ३ डिसेम्बर १९९८ सम्म काम गरेकी थिइन् ।  सन् २०१४ को आम निर्वाचनमा उनी मध्यप्रदेशको विदिशा क्षेत्रबाट निर्वाचित भएकी थिइन् । मत अन्तर झण्डै ४ लाख थियो ।

 

स्वराजलाई भारतको सबैभन्दा बढी मन पराइएकी राजनीतिज्ञको रुपमा अमेरिकी दैनिक वाल स्ट्रीट जर्नलले एक पटक घोषणा गरेको थियो ।  सुष्माले सन् २०१९ को आम निर्वाचनमा लड्न अनिच्छा व्यक्त गरेकी थिइन् ।  उनी मिर्गौला प्रत्यारोपणपछि उपचार गर्दै आएकी थिइन् । त्यसैले उनी धुलो र इन्फेक्सनबाट जोगिन रुचाउँथिन् । त्यसले गर्दा पनि उनी २०१९ मा मोदी सरकारमा सामेल हुन नचाहेको बताइएको छ ।

बाल्यकाल

सुष्माको जन्म १४ फेब्रुअरी १९५३ मा हरियाणा राज्यको अम्बाला क्यान्टोनमेन्टमा भएको थियो । उनका पिता हरदेव शर्मा राष्ट्रिय स्वयंसेवक संघका सदस्य थिए ।  उनका आमाबाबु पाकिस्तानको लाहौरस्थित धरम्पुरा क्षेत्रबाट भारत आएका हुन् । उनले सनातन धर्म कलेज अम्बाला क्यान्टोन्मेन्टमा पढेकी थिइन् ।  उनको पढाइको मुख्य विषय संस्कृत र राजनीतिक शास्त्र थिए । उनले पञ्जाव युनिभर्सिटी चण्डीगढमा कानुन पढेकी थिइन् ।

 

हरियाणाको भाषा विभागले गरेको एउटा राज्य तहको प्रतिस्पर्धामा उनले बेस्ट हिन्दी स्पीकर अवार्ड पनि जितेकी थिइन् ।  स्वराजले आफ्नो राजनीतिक करियर सन् १९७० को दशकमा अखिल भारतीय विद्यार्थी परिषदबाट शुरु गरेकी थिइन् । उनका पति स्वराज कौशल सोसलिस्ट नेता जर्ज फर्नान्डिजसँग नजिक मानिन्थे ।

 

त्यसैले स्वराज सन् १९७५ मा फर्नाण्डिजको कानुनी प्रतिरक्षा टोलीमा समेत सामेल भएकी थिइन् ।  उनी जयप्रकाश नारायणको आन्दोलनमा पनि सामेल भएकी थिइन् । भारतमा संकटकाल लागु भएपछि उनी भारतीय जनता पार्टीमा संलग्न भइन् । उनका गुरु लालकृष्ण आडबाणी मानिन्छन् । पछि गएर उनी भाजपाको राष्ट्रिय नेता नै बनिन् ।

राज्य तहको राजनीति

स्वराज सन् १९७७ देखि १९८२ सम्म हरियाणाको विधानसभा सदस्य थिइन् ।  त्यतिबेला उनी २५ वर्षकी मात्रै थिइन् । जुलाई १९७७ मा उनी मुख्यमन्त्री देवी लालको सरकारमा मन्त्रीको रुपमा सामेल भएकी थिइन् । उनी १९७९ मा जनता पार्टी हरियाणाको प्रदेश अध्यक्ष समेत भएकी थिइन् ।  त्यतिबेला उनी २७ वर्षकी मात्रै थिइन् । उनी त्यतिबेला भारतीय जनता पार्टी र लोक दलको मिलिजुली सरकारमा शिक्षा मन्त्री समेत भएकी थिइन् ।

दिल्लीको मुख्यमन्त्री

राष्ट्रिय स्तरको राजनीति गर्ने क्रममा सन् १९९८को अक्टोबरमा उनले युनियन क्याबिनेटबाट राजिनामा दिइन् र दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनिन् । यद्यपि भाजपाले विधान सभा निर्वाचन हार्यो । त्यसपछि उनी विधान सभाको सिटबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।

राष्ट्रिय राजनीतिमा प्रवेश

अप्रिल १९९० मा उनी राज्यसभाको सदस्यमा निर्वाचित भइन् । सन् १९९६ मा उनी दक्षिणी दिल्लीको निर्वाचन क्षेत्रबाट ११ औं लोकसभामा निर्वाचित भएकी थिइन् । उनी सन् १९९६ मा अटलविहारी बाजपेयीको १३ दिन लामो मन्त्रिमण्डलमा सूचना तथा प्रशारण मन्त्री समेत भएकी थिइन् ।  उनी दक्षिणी दिल्लीको संसदीय निर्वाचन क्षेत्रबाट दोस्रो कार्यकालका लागि मार्च १९९८ मा निर्वाचित भएकी थिइन् ।

 

वाजपेयीको दोस्रोपटकको सरकारमा उनी सूचना तथा प्रसारणमन्त्री भएकी थिइन् भने उनलाई नै दूरसञ्चार सम्बन्धी मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।  उनको कार्यकालमा गरिएको सबैभन्दा महत्वपूर्ण निर्णय भनेको चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिनु पनि थियो ।  उनले विश्वविद्यालय र अन्य प्रतिष्ठानमा सामुदायिक रेडियो पनि शुरु गरेकी थिइन् ।

 

सेप्टेम्बर १९९९ मा उनलाई भाजपाले कंग्रेसका तत्कालीन अध्यक्ष  सोनिया गान्धीसँग कर्णाटकाको बेलारी निर्वाचन क्षेत्रमा चुनाव लड्न खटाएको थियो ।  छोटो चुनाव प्रचारकै क्रममा उनले ३ लाख ५८ हजार मत ल्याएकी थिइन् ।  तर उनले सोनिया गान्धीसँग चुनाव भने हारिन् । उनलाई अप्रिल २०००मा उत्तर प्रदेशबाट राज्य सभा सदस्यको रुपमा छनोट गरिएको थियो  ।

संघीय स्वास्थ्यमन्त्री

उनी स्वास्थ्य र परिवार कल्याण तथा संसदीय मामिला मन्त्री जनवरी २००३ देखि मे २००४ सम्म भइन् । स्वास्थ्यमन्त्रीको हिसाबले उनले ६ वटा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज खडा गर्न लगाएकी थिइन् । स्वराज अप्रिल २००६ मा  मध्यप्रदेश राज्यबाट राज्य सभामा निर्वाचित हुनुका साथै अप्रिल २००९ सम्म राज्य सभामा संसदीय दलको उपनेता रहेकी थिइन् ।

 

उनी १५औं लोकसभाको निर्वाचन २००९मा विदिशा लोकसभा निर्वाचन क्षेत्रबाट ४ लाखको अन्तरमा निर्वाचित भएकी थिइन् ।  त्यसपछि उनी लालकृष्ण आडबाणीले सम्हाल्दै आएको विपक्षी दलको नेताको भूमिका पनि निर्वाह गरिन् । सन् २०१४मा भाजपासँगै उनीपनि विजयी भएकी थिइन् ।

विदेशमन्त्री

स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालको विदेशमन्त्री भएकी थिइन् । ट्विटर चलाउन रुचाउने सुष्माले आफू कार्यकालमा रहेको बेलामा विदेशमा अलपत्र परेका आफ्नो देशको नागरिकलाई उद्धार गर्न निकै राम्रो पहल गरेको भारतीय सञ्चार माध्यमले पछि सम्म चर्चा गरेका थिए । उनी हरियाणा राज्यमा २५ वर्षको सबैभन्दा कम उमेरमा मन्त्री हुनुका साथै २७ वर्षमा प्रदेशको पार्टी प्रमुख भएको रेकर्डपनि छ । उनी राष्ट्रियस्तरको राजनीतिक पार्टीको पहिलो प्रवक्ता तथा भाजपाबाट पहिलो महिला मुख्यमन्त्री पनि हुन् ।

निजी जीवन

संकटकालको समयमा १३ जुलाई १९७५ मा सुष्माले स्वराज कौशलसँग विवाह गरेकी थिइन् । कौशल पनि  सर्वोच्च अदालतका वकिल थिए ।  संकटकालको गतिविधिका कारण उनीहरुलाई त्यतिबेला नजिक पुर्याएको थियो । कौशल १९९० देखि १९९३ सम्म मिजोरमको गभर्नरको रुपमा समेत काम गरेका थिए । उनी १९९८ देखि २००४ सम्म संसदका सदस्य समेत  थिए ।

 

उनीहरुकी एक मात्र छोरी बाँसुरी हुन् । जो अक्सफोर्डबाट ग्राजुएट र ल फर्म इन्न्।र टेम्पलमा बरिस्टर छन् । उनकी बहिनी वन्दना शर्मा हरियाणाको सरकारी महिला कलेजमा राजनीतिक शास्त्रकी सहप्राध्यापक छन् ।  उनका भाइ डा। गुल्शन शर्मा अम्बालामा आयुर्वेद चिकित्सक हुन् । सन् २०१६को डिसेम्बर १० का दिन एम्स अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सन् २०१४ मा उनले भागवत गीतालाई राष्ट्रिय पुस्तक घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको प्रसंगका कारण विवादमा पनि तानिएकी थिइन् । उनलाई मंगलबार राति ९:५० बजे हृदयाघात भएपछि एम्स अस्पताल लगिएकोमा उनलाई चिकित्सकले बचाउन सकेनन् ।

प्रखर वक्ता

सुष्मा भाजपाका नेतामध्येमा निकै प्रखर मानिने नाम हो ।  प्रधानमन्त्री मोदीले उनको निधनपछि ट्विट गर्दै उनलाई स्मरण गरेका छन् । एक ताका भाजपामा राम्रो बोल्ने चारजनामध्ये अटल बिहारी वाजपेयी, सुष्मा स्वराज र प्रमोद महाजनको चर्चा हुने गरेको थियो । पछिल्लो समयमा मोदी सरकारले काश्मीरको बारेमा गरेको निर्णयबाट उनी निकै खुसी भएकी थिइन् ।

 

उनले मृत्यु हुनुभन्दा तीनघण्टा अघि ट्विट गर्दै भनेकी थिइन्, “प्रधानमन्त्रीजी, तपाईंलाई हार्दिक अभिनन्दन । म मेरो जीवनमा यो दिन देख्नको लागि प्रतिक्षा गरिरहेकी थिएँ ।”

 

बीबीसीले भाजपाका एक नेतालाई उद्धृत गर्दै जनाएअनुसार स्वराजको पार्थिव शरीरलाई बुधबार १२ बजेदेखि अन्तिम दर्शनका लागि पार्टी कार्यालयमा राखिने छ । ३ बजेसम्म शव पार्टी कार्यालयमा राखिएपछि लोधी रोडस्थित क्रेमेटोरियममा राष्ट्रिय सम्मनका साथ अन्तिम संस्कार गरिनेछ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...