सुष्मा स्वराजको नेपाल सम्बन्धः सधैं नेपालीले सम्झने भारतीय विदेशमन्त्री



हाम्रो इकोनोमि

 

भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राति हृदयाघातका कारण एम्स अस्पतालमा निधन भएको छ । आजै दिउँसो अन्त्यष्टि गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा ५ वर्ष विदेशमन्त्री रहेकी उनलाई नेपालीले पनि विभिन्न हिसाबले सम्झने गरेका छन् ।

 

सन् २०१५ को नेपालमा आएको भूकम्पका समयमा भारतको विदेशमन्त्रीको हिसाबले उद्धारका लागि उनले तत्कालै पहल गरेकी थिइन् । उनले सोही समयमा अन्य देशका नेपालमा रहेका नागरिकलाई पनि उद्धार गरेर सहयोग गर्न आग्रह गरेको चर्चा भएको थियो । १९ फेब्रुअरी २०१९ मा स्पेन सरकारले नेपालबाट भूकम्पका बेलामा आफ्ना नागरिक उद्धार गरिदिएकोमा भन्दै ‘ग्रान्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ नामको सम्मान नै सुष्मालाई दिएको भारतीय मिडियामा समाचार आएका थिए ।

 

तर, उनै सुष्मा विदेशमन्त्री भएको बेलामा नेपालले नाकाबन्दी बेहोर्नुपरेको थियो ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला भारतीय नाकाबन्दीका प्रखर विरोधी भए पनि सुष्मासँग भने राम्रो सम्बन्ध रहेको प्रधानमन्त्री निकट जानकारहरुको भनाइ छ । सुष्माको पनि मृगौला प्रत्यारोपण भएको र प्रधानमन्त्री ओलीको पनि प्रत्यारोपण भएका कारण उनीहरुबीच सो विषयमा भेटघाटका समयमा कुराकानी हुने गरेको उनीहरुको भनाइ छ ।

 

प्रधानमन्त्री ओली दोस्रोपटक प्रधानमन्त्री हुनुभन्दा करिब दुईसाताअघि सुष्मा दुईदिने नेपाल भ्रमणमा आएकी थिइन् । विपक्षी नेताकै हैसियतमा ओलीले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सोही क्रममा २०१८को फेब्रुअरी पहिलो साता सुष्मा दुई दिने नेपाल भ्रमणमा पनि आएकी थिइन् ।

दोस्रो महिला विदेशमन्त्री

सुष्मा राजनीतिमा आउनुअघि भारतको सर्वोच्च अदालतकी वकिल पनि हुन् । भारतीय जनता पार्टीकी नेतृ स्वराज पछिल्लो समय २६ मे २०१४ बाट ३० मे २०१९ सम्म विदेशमन्त्री भएकी थिइन् । उनी भारतमा विदेशमन्त्री हुने इन्दिरा गान्धीपछि दोस्रो महिला हुन् । उनी सातपटकसम्म संसद् सदस्यका रुपमा निर्वाचित भएकी थिइन् ।

 

तीनपटक उनी विधानसभाको सांसद पनि भएकी थिइन् । उनी सन् १९७७ मा हरियाणा राज्यमा २५ वर्षमै सबैभन्दा कम उमेरको मन्त्री भएकी थिइन् ।  उनले दिल्लीको पाँचौ मुख्यमन्त्रीका रुपमा पनि १३ अक्टोबर १९९८ देखि ३ डिसेम्बर १९९८ सम्म काम गरेकी थिइन् ।  सन् २०१४ को आम निर्वाचनमा उनी मध्यप्रदेशको विदिशा क्षेत्रबाट निर्वाचित भएकी थिइन् । मत अन्तर झण्डै ४ लाख थियो ।

 

स्वराजलाई भारतको सबैभन्दा बढी मन पराइएकी राजनीतिज्ञको रुपमा अमेरिकी दैनिक वाल स्ट्रीट जर्नलले एक पटक घोषणा गरेको थियो ।  सुष्माले सन् २०१९ को आम निर्वाचनमा लड्न अनिच्छा व्यक्त गरेकी थिइन् ।  उनी मिर्गौला प्रत्यारोपणपछि उपचार गर्दै आएकी थिइन् । त्यसैले उनी धुलो र इन्फेक्सनबाट जोगिन रुचाउँथिन् । त्यसले गर्दा पनि उनी २०१९ मा मोदी सरकारमा सामेल हुन नचाहेको बताइएको छ ।

बाल्यकाल

सुष्माको जन्म १४ फेब्रुअरी १९५३ मा हरियाणा राज्यको अम्बाला क्यान्टोनमेन्टमा भएको थियो । उनका पिता हरदेव शर्मा राष्ट्रिय स्वयंसेवक संघका सदस्य थिए ।  उनका आमाबाबु पाकिस्तानको लाहौरस्थित धरम्पुरा क्षेत्रबाट भारत आएका हुन् । उनले सनातन धर्म कलेज अम्बाला क्यान्टोन्मेन्टमा पढेकी थिइन् ।  उनको पढाइको मुख्य विषय संस्कृत र राजनीतिक शास्त्र थिए । उनले पञ्जाव युनिभर्सिटी चण्डीगढमा कानुन पढेकी थिइन् ।

 

हरियाणाको भाषा विभागले गरेको एउटा राज्य तहको प्रतिस्पर्धामा उनले बेस्ट हिन्दी स्पीकर अवार्ड पनि जितेकी थिइन् ।  स्वराजले आफ्नो राजनीतिक करियर सन् १९७० को दशकमा अखिल भारतीय विद्यार्थी परिषदबाट शुरु गरेकी थिइन् । उनका पति स्वराज कौशल सोसलिस्ट नेता जर्ज फर्नान्डिजसँग नजिक मानिन्थे ।

 

त्यसैले स्वराज सन् १९७५ मा फर्नाण्डिजको कानुनी प्रतिरक्षा टोलीमा समेत सामेल भएकी थिइन् ।  उनी जयप्रकाश नारायणको आन्दोलनमा पनि सामेल भएकी थिइन् । भारतमा संकटकाल लागु भएपछि उनी भारतीय जनता पार्टीमा संलग्न भइन् । उनका गुरु लालकृष्ण आडबाणी मानिन्छन् । पछि गएर उनी भाजपाको राष्ट्रिय नेता नै बनिन् ।

राज्य तहको राजनीति

स्वराज सन् १९७७ देखि १९८२ सम्म हरियाणाको विधानसभा सदस्य थिइन् ।  त्यतिबेला उनी २५ वर्षकी मात्रै थिइन् । जुलाई १९७७ मा उनी मुख्यमन्त्री देवी लालको सरकारमा मन्त्रीको रुपमा सामेल भएकी थिइन् । उनी १९७९ मा जनता पार्टी हरियाणाको प्रदेश अध्यक्ष समेत भएकी थिइन् ।  त्यतिबेला उनी २७ वर्षकी मात्रै थिइन् । उनी त्यतिबेला भारतीय जनता पार्टी र लोक दलको मिलिजुली सरकारमा शिक्षा मन्त्री समेत भएकी थिइन् ।

दिल्लीको मुख्यमन्त्री

राष्ट्रिय स्तरको राजनीति गर्ने क्रममा सन् १९९८को अक्टोबरमा उनले युनियन क्याबिनेटबाट राजिनामा दिइन् र दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनिन् । यद्यपि भाजपाले विधान सभा निर्वाचन हार्यो । त्यसपछि उनी विधान सभाको सिटबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।

राष्ट्रिय राजनीतिमा प्रवेश

अप्रिल १९९० मा उनी राज्यसभाको सदस्यमा निर्वाचित भइन् । सन् १९९६ मा उनी दक्षिणी दिल्लीको निर्वाचन क्षेत्रबाट ११ औं लोकसभामा निर्वाचित भएकी थिइन् । उनी सन् १९९६ मा अटलविहारी बाजपेयीको १३ दिन लामो मन्त्रिमण्डलमा सूचना तथा प्रशारण मन्त्री समेत भएकी थिइन् ।  उनी दक्षिणी दिल्लीको संसदीय निर्वाचन क्षेत्रबाट दोस्रो कार्यकालका लागि मार्च १९९८ मा निर्वाचित भएकी थिइन् ।

 

वाजपेयीको दोस्रोपटकको सरकारमा उनी सूचना तथा प्रसारणमन्त्री भएकी थिइन् भने उनलाई नै दूरसञ्चार सम्बन्धी मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।  उनको कार्यकालमा गरिएको सबैभन्दा महत्वपूर्ण निर्णय भनेको चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिनु पनि थियो ।  उनले विश्वविद्यालय र अन्य प्रतिष्ठानमा सामुदायिक रेडियो पनि शुरु गरेकी थिइन् ।

 

सेप्टेम्बर १९९९ मा उनलाई भाजपाले कंग्रेसका तत्कालीन अध्यक्ष  सोनिया गान्धीसँग कर्णाटकाको बेलारी निर्वाचन क्षेत्रमा चुनाव लड्न खटाएको थियो ।  छोटो चुनाव प्रचारकै क्रममा उनले ३ लाख ५८ हजार मत ल्याएकी थिइन् ।  तर उनले सोनिया गान्धीसँग चुनाव भने हारिन् । उनलाई अप्रिल २०००मा उत्तर प्रदेशबाट राज्य सभा सदस्यको रुपमा छनोट गरिएको थियो  ।

संघीय स्वास्थ्यमन्त्री

उनी स्वास्थ्य र परिवार कल्याण तथा संसदीय मामिला मन्त्री जनवरी २००३ देखि मे २००४ सम्म भइन् । स्वास्थ्यमन्त्रीको हिसाबले उनले ६ वटा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज खडा गर्न लगाएकी थिइन् । स्वराज अप्रिल २००६ मा  मध्यप्रदेश राज्यबाट राज्य सभामा निर्वाचित हुनुका साथै अप्रिल २००९ सम्म राज्य सभामा संसदीय दलको उपनेता रहेकी थिइन् ।

 

उनी १५औं लोकसभाको निर्वाचन २००९मा विदिशा लोकसभा निर्वाचन क्षेत्रबाट ४ लाखको अन्तरमा निर्वाचित भएकी थिइन् ।  त्यसपछि उनी लालकृष्ण आडबाणीले सम्हाल्दै आएको विपक्षी दलको नेताको भूमिका पनि निर्वाह गरिन् । सन् २०१४मा भाजपासँगै उनीपनि विजयी भएकी थिइन् ।

विदेशमन्त्री

स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालको विदेशमन्त्री भएकी थिइन् । ट्विटर चलाउन रुचाउने सुष्माले आफू कार्यकालमा रहेको बेलामा विदेशमा अलपत्र परेका आफ्नो देशको नागरिकलाई उद्धार गर्न निकै राम्रो पहल गरेको भारतीय सञ्चार माध्यमले पछि सम्म चर्चा गरेका थिए । उनी हरियाणा राज्यमा २५ वर्षको सबैभन्दा कम उमेरमा मन्त्री हुनुका साथै २७ वर्षमा प्रदेशको पार्टी प्रमुख भएको रेकर्डपनि छ । उनी राष्ट्रियस्तरको राजनीतिक पार्टीको पहिलो प्रवक्ता तथा भाजपाबाट पहिलो महिला मुख्यमन्त्री पनि हुन् ।

निजी जीवन

संकटकालको समयमा १३ जुलाई १९७५ मा सुष्माले स्वराज कौशलसँग विवाह गरेकी थिइन् । कौशल पनि  सर्वोच्च अदालतका वकिल थिए ।  संकटकालको गतिविधिका कारण उनीहरुलाई त्यतिबेला नजिक पुर्याएको थियो । कौशल १९९० देखि १९९३ सम्म मिजोरमको गभर्नरको रुपमा समेत काम गरेका थिए । उनी १९९८ देखि २००४ सम्म संसदका सदस्य समेत  थिए ।

 

उनीहरुकी एक मात्र छोरी बाँसुरी हुन् । जो अक्सफोर्डबाट ग्राजुएट र ल फर्म इन्न्।र टेम्पलमा बरिस्टर छन् । उनकी बहिनी वन्दना शर्मा हरियाणाको सरकारी महिला कलेजमा राजनीतिक शास्त्रकी सहप्राध्यापक छन् ।  उनका भाइ डा। गुल्शन शर्मा अम्बालामा आयुर्वेद चिकित्सक हुन् । सन् २०१६को डिसेम्बर १० का दिन एम्स अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सन् २०१४ मा उनले भागवत गीतालाई राष्ट्रिय पुस्तक घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको प्रसंगका कारण विवादमा पनि तानिएकी थिइन् । उनलाई मंगलबार राति ९:५० बजे हृदयाघात भएपछि एम्स अस्पताल लगिएकोमा उनलाई चिकित्सकले बचाउन सकेनन् ।

प्रखर वक्ता

सुष्मा भाजपाका नेतामध्येमा निकै प्रखर मानिने नाम हो ।  प्रधानमन्त्री मोदीले उनको निधनपछि ट्विट गर्दै उनलाई स्मरण गरेका छन् । एक ताका भाजपामा राम्रो बोल्ने चारजनामध्ये अटल बिहारी वाजपेयी, सुष्मा स्वराज र प्रमोद महाजनको चर्चा हुने गरेको थियो । पछिल्लो समयमा मोदी सरकारले काश्मीरको बारेमा गरेको निर्णयबाट उनी निकै खुसी भएकी थिइन् ।

 

उनले मृत्यु हुनुभन्दा तीनघण्टा अघि ट्विट गर्दै भनेकी थिइन्, “प्रधानमन्त्रीजी, तपाईंलाई हार्दिक अभिनन्दन । म मेरो जीवनमा यो दिन देख्नको लागि प्रतिक्षा गरिरहेकी थिएँ ।”

 

बीबीसीले भाजपाका एक नेतालाई उद्धृत गर्दै जनाएअनुसार स्वराजको पार्थिव शरीरलाई बुधबार १२ बजेदेखि अन्तिम दर्शनका लागि पार्टी कार्यालयमा राखिने छ । ३ बजेसम्म शव पार्टी कार्यालयमा राखिएपछि लोधी रोडस्थित क्रेमेटोरियममा राष्ट्रिय सम्मनका साथ अन्तिम संस्कार गरिनेछ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...