फास्ट ट्र्याकमार्फत काठमाडौंसम्मै पेट्रोलियम पाइपलाइन ल्याउने यस्तो छ सरकारको तयारी



हाम्रो इकोनोमि

 

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रूतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउने गृहकार्य सरकारले सुरु गरेको छ । भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई काठमाडौंसम्मै विस्तार गर्नेगरी तयारी थालिएको हो ।

 

नेपाल आयल निगमकै खर्चमा निमार्णाधीन सडकमा पाइपलाइन बिच्छ्याउन सकिने सम्भावनाबारे स्थलगत अध्ययनका लागि राय माग्दै रक्षा मन्त्रालयलाई पत्र पठाइएको वाणिज्य सचिव केदारबहादुर अधिकारीले बताए । ‘फाष्ट ट्र्याक र पेट्रोलियम पाइपलाइन एकैपटक सम्पन्न हुनेगरी काम अगाडि बढाउन छलफल चलेको छ,’ उनले भने ।

 

नेपाल आयल निगमको प्रस्तावमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफललाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ । काठमाडौंसम्म पाइपलाइन ल्याउन आयल निगमको प्रस्तावमा प्रधानमन्त्री पनि सकारात्मक रहेको निगम स्रोतले  बतायो ।

 

नेपाली सेनाका प्रवक्ता विज्ञानराज पाण्डेले द्रुतमार्गमा पाइपलाइन बिछ्याउनेबारे सम्भाव्यता अध्ययनका लागि स्थलगत रेकी गर्न नेपाली सेनालाई पत्र प्राप्त भएको बताए । नेपाली सेनाले तयार गरेर सरकारलाई बुझाएको द्रुत मार्गको डीपीआरमा भने पाइपलाइनबारे उल्लेख छैन । यद्यपि, सरकारले आयोजना अगाडि बढाउन तयार भयो र सम्भाव्यता देखियो भने नेपाली सेना तयार रहेको प्रवक्ता पाण्डे बताउँछन् ।

 

झण्डै सय किलोमिटर लम्बाइ

काठमाडौं तराई द्रुतमार्गको लम्बाई ७६ दशमलव २ किलोमिटर छ । यसबाहेक हाल र्पापलाइनमा सञ्जालमा जोडिइ सकेको अमलेखगञ्जबाट निजगढसम्मको दूरी २२ किलोमिटर छ । द्रुतमार्गको अन्तिम विन्दु ललितपुरसम्म पाइपलाइन ल्याउँदा कुल लम्बाइ ९८.२ किलोमिटर हुन आउने नेपाल आयल निगमले जनाएको छ ।

 

सम्भाव्यताकै चरणमा रहेका कारण खर्च अनुमान गर्न सकिने अवस्था नरहेको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेले बताए । पन्ध्र वर्षसम्म द्रुतमार्ग भएर ट्याङ्करमा इन्धन ढुवानी गर्दा लाग्ने खर्च र पाइपलाइन बिछ्याउँदा हुने खर्च कति हुन्छ भन्ने तुलनात्मक अध्ययन निगमले गरिरहेको उनले जानकारी दिए ।

 

‘पूर्वाधार बनाउँदा एकैपटक विविध प्रयोगका लागि पनि सोचिनु पर्छ भन्ने अवधारणामा प्रस्ताव अघि बढाइएको हो,’ उनले भने । अध्ययन सकारात्मक पाइयो भने पूर्वाधारका लागि लाग्ने खर्च र काठमाडौंमा पाइपलाइनमार्फत इन्धन खसाल्ने विन्दुमा जमिनका लागि गृहकार्य थाल्ने निगमले जनाएको छ ।

 

यसअघि भारतीय कम्पनीले तयार गरेको द्रुत मार्गको डीपीआरमा पनि पेट्रोलियम पाइपलाइन बिछ्याउन सक्नेगरी द्रुतमार्ग निर्माण गर्ने उल्लेख थियो । एडीबीले गरेको अध्ययनमा पनि द्रुतमार्ग हुँदै काठमाडौंसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न सम्भव रहेको देखिएको थियो

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...