प्रचण्ड दुबईबाट फिर्ता, ओली सिंगापुर प्रस्थान
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पुरा गरी शनिवार राति स्वदेश फर्किनुभएको छ ।
साउन १४ गते मंगलवार परिवारका सदस्यहरुसहित दुबई भ्रमणमा गएका अध्यक्ष प्रचण्ड शनिबार स्वदेश फर्किनुभएको हो ।

पत्नी सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राखेका कारण उहाँको इच्छा अनुसार अध्यक्ष प्रचण्ड दुबई गएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डसहित छोरीहरु रेणु र गंगासँगै नाति नातिनी पनि त्यसतर्फ गएका थिए। सीता लामो समयदेखि बिरामी हुनुहुन्छ ।
अध्यक्ष दाहलले उहाँको सिंगापुरमा लामो उपचार गराइरहनुभएको छ । त्यसपछि नेपालमै पनि सीता प्राकृतिक उपचार गराईरहनुभएको छ । श्रीमती दाहालमा प्रेसर, सुगर लगायतका समस्या छन्।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नु भएको छ । ओली गएराति १० बजे सिल्क एयरबाट त्यसतर्फ प्रस्थान हुन् । ओलीले सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ एनयूएचमा स्वास्थ्य परीक्षण गराउनु हुनेछ ।

प्रधानमन्त्रीसँग उहाकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत जानु भएको छ ।
स्वास्थ्यमा समस्या थपिएपछि थप परीक्षणका लागि सिंगापुरको अस्पताल जानु भएको हो । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले उहाँलाई सिंगापुर जान सुझाव दिएका थिए।
ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनु भएको छ ।
यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्यान्ड जानु भएको थियो। प्रधानमन्त्री ओलीको आइतबारदेखि नै स्वास्थ्य परीक्षण शुरु हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनुहुनेछ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ।


