निजी कम्पनीकाे प्रचारमा मन्त्री बिना मगर, मेलम्चीलाई बेवास्ता



 

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको आठ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए ।

 

तर उपत्यकावासीलाई यो समस्याबाट छुटकारा दिलाउने जिम्मा पाएको खानेपानी मन्त्रालयको नेतृत्व लिइरहेकी मन्त्री बिना मगरको प्राथमिकता भने मेलम्चीमा भन्दा अन्तै बढी भएजस्तो देखिएको छ ।

 

गत पुसमा मुख्य ठेकेदार कम्पनी सीएमसी दि रिभेन्नाले ठेक्का तोडेयता आयोजनाका काम अघि बढ्न सकेका छैनन् । त्यसको करिब ६ महिनापछि मन्त्रिपरिषद् निर्णयबाट नयाँ ठेकेदार कम्पनी छनोट गरिए पनि सरकारले उसलाई काम गर्ने वातावरण बनाइदिन सकेको छैन । पुरानो मुख्य ठेकेदार (सीएमसी दि रिभेन्ना) ले आफ्नो रकम नतिरेको भन्दै स्थानीयवासी र स्थानीय ठेकेदारले अहिले काम ठप्प पारिरहेका हुन् ।

 

‘अहिलेको अवस्था हेर्दा मेलम्ची खानेपानी आयोजनाका निमित्त मन्त्री–सचिवलागयत सम्बन्धित अधिकारीहरू चौबीसै घण्टा खटिनुपर्ने हो,’ पूर्वसहरी विकास सचिव किशोर थापाले भने, ‘मेलम्ची किन ढिला भयो भन्ने राष्ट्रिय बहसको विषय भइसकेको छ । मन्त्रीले अन्य ठाउँमा नअल्झिएर बढी ध्यान यसमै केन्द्रित गर्नुपर्छ ।’

 

मन्त्री मगरको दैनिकी भने थापाले अपेक्षा गरेजस्तो छैन । पछिल्ला दुई दिन उनी सहभागी कार्यक्रमहरू मात्रै हेर्दा उनको प्राथमिकता सरकारी योजनाका काममा भन्दा पनि निजी कम्पनीको प्रवर्द्धनमा बढी भएजस्तो देखिन्छ । मन्त्री मगरले बिहीबार ‘नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालि’ ले नेदरल्यान्ड्सबाट भित्र्याएको प्रेसरबाट पानी तान्ने प्रविधिको ललितपुरको गोदावरी र ठैबमा परीक्षण गरिन् भने शुक्रबार उनी रसुवाको पानी विदेश निर्यात गर्ने निजी कम्पनीको प्रवर्द्धनमा व्यस्त रहिन् ।

 

गौतम महर्जनको लगानीमा खुलेको नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालिले पहाडी क्षेत्रमा प्रेसरको माध्यमबाट पानी तान्न सक्ने प्रविधि भित्र्याएको दाबी गरेको छ । अर्को निजी ‘रुद्रगंगा नेचुरल वाटर कम्पनी’ ले रसुवा जिल्लाका हिमशृंखलाबाट बगेर आउने पानी ‘स्प्रिङ वाटर’ लाई विदेश निर्यात गर्ने योजना बनाएको छ ।

 

पछिल्लो कम्पनीको पानी निर्यात योजनाबारे जानकारी गराउन शुक्रबार राजधानीको याक एन्ड यती होटलमा आयोजित करिब आधा घण्टाभन्दा लामो पत्रकार सम्मेलनमा मन्त्री मगरले ठप्प रहेको मेलम्ची आयोजनाका कामकारबाहीबारे एक शब्द पनि बोलिनन् । बरु विदेशमा पानी निर्यात गर्ने योजना सुनाइन् । हिमशृंखला र हिमनदीबाट खेर गइरहेको पानीलाई विदेशमा निर्यात गरिछाड्ने उनको अठोट थियो ।

 

‘नेपालको पानी विश्व बजारमा बिक्री गर्ने योजनामा सरकार लागेको छ,’ उनले भनिन्, ‘हिमालबाट बगेर खेर गइरहेको पानीमा निजी क्षेत्रले लगानी गर्नु राम्रो हो ।’ यसअघि गत वैशाखमा मन्त्री मगरले पत्रकार सम्मेलन गरेर विदेशमा पानी निर्यात गर्ने योजना सुनाएकी थिइन् । उक्त कार्यक्रममा पनि उनले मेलम्ची आयोजना ठप्प रहेकोबारे कुनै प्रसंग निकालेकी थिइनन् । आवश्यक ऐन–कानुन सुधार गरेर पानी निर्यात गर्ने जानकारी गराएकी थिइन् ।

 

मेलम्चीका सबै काम अवरुद्ध भइरहेका बेला निजी कम्पनीका पानी व्यापार प्रवर्द्धन गर्ने कार्यक्रमहरूमा मन्त्रीको सहभागिता बढेपछि मन्त्रालयभित्रै उनकोचर्को आलोचना हुन थालेको छ । ‘उपत्यकावासी पानी नपाएर छट्पटाइरहेका छन्, मन्त्रीज्यू भने व्यवसायीसँग पानी विदेश निर्यात गर्ने छलफलमा व्यस्त हुनुहुन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले  भने, ‘उहाँ मेलम्ची आयोजना छिटो सम्पन्न होस् भन्नेमा गम्भीर हुनुभएको पाएनौं ।’

 

गत वैशाखमा मन्त्रालयले १४ वटा हिमशृंखलाका २८ हिमनदीको पानी बल्क र बोटल वाटरका रूपमा बेच्न सकिने जनाएको थियो । मुलुकभर उपलब्ध स्रोतको पानी १५ प्रतिशत मात्रै नेपालका लागि आवश्यक पर्ने र बाँकी ८५ प्रतिशत खेर गइरहेको तथ्यांक पनि मन्त्रालयले सार्वजनिक गरेको थियो । हिमनदीको पानी बेच्नका लागि सम्भाव्यता अध्ययन गर्न टेन्डर आहवान गरिने मन्त्री मगरले बताएकी थिइन् । यसबारे विभिन्न क्षेत्रका विज्ञलाई बोलाएर उनले मन्त्रालयमा छलफलसमेत गराइएकी थिइन् ।

 

‘निजी क्षेत्रबाटै भए पनि मुलुकबाट पानी निर्यातको पहल हुनु आफैंमा राम्रो हो,’ मन्त्रालयका ती अधिकारीले भने, ‘तर ९७ प्रतिशत काम सकिइसकेका मेलम्ची आयोजनाको अवरोध हटाउनेबारे कुनै पहल नै नहुनुचाहिँ उदेकलाग्दो छ । अहिले त मन्त्रीज्यूले हामीसँग पनि यसबारै खासैछलफल गर्नुहुन्न ।’

मन्त्री नियुक्त हुनेबित्तिकै मगरले मेलम्चीको खानेपानी गत वर्षको साउनमै राजधानी ल्याउने तालिका सार्वजनिक गरेकी थिइन् । ‘त्यो प्रतिबद्धता पूरा गर्नु त कता हो कता ठेकेदार भागेकोप्रति पनि गम्भीर देखिनुभएन,’ उनले भने, ‘उल्टै तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरसँग पौंठेजोरी खेल्न थाल्नुभयो । मन्त्री र सचिव दुवै भ्रष्टाचारको आरोप–प्रत्यारोपमा उत्रिए ।’

यसबारे प्रतिक्रिया लिन खोज्दा मन्त्री मगर कान्तिपुरसितको सम्पर्कमा आउन चाहिनन् । उनका प्रेस संयोजक सुकदेव चापागाईंले मेलम्ची खानेपानीबारे मन्त्री गम्भीर रहेको दाबी गरे । ‘प्रत्येक दिन मन्त्रीज्यूले छलफल गरिराख्नुभएको छ,’ उनले भने, ‘मेलम्ची ठप्प भयो भन्दैमा निजी क्षेत्र वा अन्य कार्यक्रममा जानै हुँदैन भन्ने होइन ।’
मेलम्चीका स्थानीय ठेकेदारका मागबारे पनि छलफल भइरहेको उनले बताए । मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्र पन्तले भने अहिले ठेक्काको मूल्यांकन भइरहेको दाबी गरे । ‘हेडवर्क र सुरुङको फिनिसिङको मूल्यांकन भइरहेको छ,’ उनले भने, ‘काम नभएको भन्ने होइन, अलि समस्या हुँदा केही ढिलाइ भएको मात्र हो ।’

पूर्वसचिव थापाले भने मेलम्ची आयोजनामा ढिलाइ भइरहँदा जनतामा ठूलो निराशा जागेको बताउँछन् । ‘मेलम्चीमा ढिलाइप्रति विशेष गरी सत्तापक्ष गम्भीर हुनुपर्छ,’ उनले भने, ‘यसमा सत्तापक्ष/प्रतिपक्ष यो वात्यो केही भन्न मिल्दैन, सबैलेगम्भीर हुनैपर्छ ।’

राजधानीमा शुक्रबार आयोजित स्प्रिरिङ वाटर सार्वजनिक कार्यक्रममा रुद्रगंगा नेचुरल वाटर कम्पनीका अध्यक्ष गणेश भण्डारीले दुई वर्षदेखि रसुवामा पानीबारे अध्ययन गरेको बताए । अब उक्त पानी विदेशमा निर्यात गर्ने उनले जनाए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य उपस्थित थिए । कम्पनीले कलाकारद्वय श्रेष्ठ र आचार्यलाई ब्रान्ड एम्बेस्डरसमेत घोषणा गरेको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ