पर्यटनमन्त्री भट्टराईको सफलतासँग जोडिएका यी हुन् चुनौतीका ‘चाङ्ग’
‘म परिणाम देखिने गरी काम गर्छु’, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदभार ग्रहणका क्रममा भनेका थिए । विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेन । त्यतिबेला गरिएका अधिकांश प्रतिवबद्धता व्यवहारतः पूरा भएका थिए ।
आफ्ना प्रतिबद्धतामा निरन्तर खटिएकै कारण पर्यटन क्षेत्रमा सकारात्मक परिणाम पनि देखिए । त्यसले गर्दा आज सम्झना र सम्मानयोग्य पर्यटनमन्त्रीको छाप छोड्न सफल भए । पर्यटनकै गतिविधिमा लागेकै बेला मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्ने भिरमा भएको हेलिकप्टर दुर्घटनमा निधन भएको थियो ।
पाँच महिनाको अन्तरालपछि मुलुकले अर्का आशलाग्दा जुझारु पर्यटनमन्त्री पाएको छ । बुधबार नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले पदभार ग्रहणका क्रममा भन्दै थिए, ‘चुनौतीका चाङलाई चिरेर मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्छु’ तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको दुःखद् निधनले असल युवा राजनीतिकर्मी र घनिष्ठ मित्र गुमाएको स्मरण गर्दै उनले परिस्थिति र घटनाक्रमले अधिकारीको कुर्सीमा उनको उत्तराधिकारीका रुपमा आफू आइपुगेको बताए ।
मन्त्री अधिकारीले थालेका अधुरा कामलाई सफल पार्नु मन्त्री भट्टराईको जिम्मेवारीसँग जोडिएका चुनौती हुन् । यतिखेर पर्यटन क्षेत्रमा अवसरका चाङ त छन् नै, चुनौतीका पहाड पनि त्यतिकै छन् । मन्त्री भट्टराईका सामु मुख्य चुनौती भनेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को साख जोगाउनु र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु हो ।
निगमकोे जीर्ण अवस्थालाई सुधार गर्नु निकै चुनौतीपूर्ण छ । निगममाथि तीता टिप्पणी भइरहेको अवस्थामा त्यसको विश्वसनीयतालाई माथि उठाउने प्रतिबद्धता जनाउँदै मन्त्री भट्टराईले ‘वाह ! नेपाल एयरलाइन्स भन्ने’ बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
निगमको आर्थिक सङ्कट निवारण, व्यवस्थापन सुधार अपरिहार्य छ । भ्रमण वर्षलाई लक्षित गरी विमान थप्नु र भएका विमानलाई प्रभावकारीरूपमा सञ्चालनमा ल्याउनु मुख्य जिम्मेवारी हुनेछ । अन्य आन्तरिक विमानस्थलको सुदृढीकरण, विस्तार गरी निजी सहयोगी संस्थासँग हातेमालो गरेर अघि बढ्ने उनको भनाइ छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रु २४ अर्ब ऋणमा गत वर्ष खरीद गरिएका दुई वटा वाइडबडी जहाजलाई लामो गन्तव्यमा व्यावसायिक उडानमा लैजानु कम चुनौतीपूर्ण छैन । दुई पटकको किस्ता रकम निगमले तिर्न सकेको छैन ।
निगमले जापानको ओसाका र नारितामा भदौको दोस्रो सातादेखि उडान थाल्दैछ । छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडानका लागि प्रयास गरेको भए पनि अझै सफलता हात परेको छैन । साउदी अरब र दक्षिण कोरियामा पनि उडानको पहल भइरहेको छ ।
चीनबीच अहिलेसम्म पनि दोहोरो हवाई उडान हुन सकेको छैन । हालै चीनसँग नेपाल सरकारले द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन गरेको छ । द्विपक्षीय सम्झौतामा पहिले भएको ७० उडानको सम्झौतालाई पुनरावलोकन गरी ९८ पुर्याइए पनि नेपालले त्यसबाट लाभ लिन सकेको देखिन्न ।
चीनको ग्वाञ्जाओ उडानका लागि निगमले पहल गरेको भए पनि चिनियाँ पक्षले निगमको सेफ्टी अडिट पछि मात्र निर्णय दिने भनेको छ । निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि चीनका विभिन्न गन्तव्यमा उडानको पहल गरिरहेको छ । चीनको ग्वाञ्जाओमा शुरुवाती उडान गरी अन्य १५ वटा विमानस्थलसम्म नेपाली जहाज पुर्याउने चुनौती मन्त्री भट्टराई सामु छ ।
मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजना प्रगतिउन्मुख छन् । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक सञ्चालनमा ल्याउनु, बारास्थित दोस्रो निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणलाई तीब्र गति दिनु मन्त्री भट्टराईका सन्निकट चुनौती र अवसर हुन् ।
एक वर्षअघि रवीन्द्र अधिकारीले जिम्मेवारी सम्हालेपछि यी दुवै आयोजनाले उल्लेख्य प्रगति हासिल गरेका थिए । गौतमबुद्ध विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत छ । आगामी सन् २०२० को जनवरीदेखि सञ्चालनमा ल्याउने गरी तीव्रगतिमा काम भइरहेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावकारीरुपमा अघि बढेको छ । निर्धा्रित समय सन् २०२१ अघि नै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।
मुलुकको एक मात्र त्रिभिुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको इतिहासमै पहिलो पटक धावनमार्ग पूर्णरुपमा स्तरोन्नति गर्ने ‘रनवे रिह्याब’ को काम एक महिनाअघि सकिएको छ । निर्धारित तीन महिनाको अवधिमा यो काम पूरा भएको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा परिणत गर्ने गरी सुधारका काम धमाधम भइरहेको छ । भूकम्पबाट क्षति भएका महत्वपूर्ण पर्यटकीय सम्पदाको पुनर्निर्माणको काम सकिसकेको छ । धरहरा, रानीपोखरीलगायतका बाँकी महत्वपूर्ण सम्पदाको निर्माणको काम भइरहेको छ ।
मन्त्री भट्टराईले पर्यटनमा देखिएका चुनौतीलाई जित्दै सफलता हासिल गर्न सरोकारवालासँग छलफल गरेर अघि बढ्ने प्रण गरेका छन् । एक–दुई दिनमै मन्त्रालयको कार्ययोजना ल्याउने बताएका उनले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्ने तथा सन् २०२० को नेपाल भ्रमण वर्ष साकार पार्ने प्रतिबद्धता जनाएका छन् ।
अबको चार महीनामा भ्रमण वर्ष अभियान शुरु हुँदैछ । भ्रमण वर्ष अभियान मनाएर २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना कम चुनौतीपूर्ण छैन । मन्त्री भट्टराईको काँधमा पहिलो चुनौती भ्रमण वर्ष नै बन्नेछ ।
चुनौतीलाई अवसरमा परिणत गर्नु नै ठूलो सफलता हो । त्यही आत्मविश्वासका साथ मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाएरै छाड्ने उद्घोष गरेका छन् । भ्रमण वर्षको लक्ष्य पूरा गर्न मन्त्रालयको सम्पूर्ण शक्ति सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।
युरोपेली सङ्घको कालोसूचीबाट नेपाललाई हटाउनु अर्को चुनौती छ । सन् २०१३ देखि नेपालको हवाई क्षेत्रबारे सुरक्षा सुरक्षा चासो जनाउँदै कालोसूचीमा समावेश गरिएको छ । सोही कारण निगमका वाइडबडी जहाजले लामा गन्तव्यमा उडान भर्न कठिनाइ भइरहेको छ ।
युरोप तथा एशियाका विकसित मुलुक चीन, दक्षिण कोरिया, जापानलगायत मुलुकका हवाई गन्तव्यमा सिधा उडान गर्न निमगलाई हम्मे परेको छ । मुलुकको हवाई सुरक्षालाई चुस्त बनाउन, पूर्वाधार विस्तार, कानून निर्माण तत्कालै गर्नुपर्ने काम हुन् ।
यति मात्र होइन, विश्व सम्पदाको संरक्षण र पुनर्निर्माणलाई विशेष ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ । मुलुकको सङ्घीयता अनुकूल पर्यटनलाई विस्तार गर्नु, पर्यटकीय गन्तव्यको विकास प्रवद्र्धन तथा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सेवा सुविधामा गुणस्तर कायम गर्नु पनि कम चुनौतीका विषय होइनन् ।
मुलुकको हवाईसेवा प्रदायकको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा स्थापित गर्नु, सरकारले घोषणा गरेका १०० गन्तव्यको प्रवद्र्धनलगायतका कामलाई खातिर गर्नुपर्नेछ ।