नसुध्रिने भए महासचिव पौडेलः सरकारी जमिन अतिक्रमण गर्नेलाई च्यापेर हिँडिरहेका छन्
ठूला भूमाफियासँगको ‘नेक्सस’का कारण बद्नाम नेकपाका महासचिव विष्णु पौडेलको अर्को प्रकरण पनि सार्वजनिक भएको छ । पौडेलको गृहजिल्ला रुपन्देहीस्थित पाँच तारे टाइगर प्यालेस रिसोर्टले सरकारी जमिन अतिक्रमण गरेको विषय अदालतमै पुगेको छ ।
जग्गा अतिक्रमण गर्ने टाइगर प्यालेसका प्रमुख कार्यकारी निर्देशक विदेशी नागरिक माइक बालसोभरलाई लिएर प्रधानमन्त्रीसम्म पुग्ने काम विष्णु पौडेलले गरिरहेको विश्वस्त स्रोतको दावी छ ।
विदेशी लगानीको टाइगर प्यालेसले भैरहवा–लुम्बिनी सिँचाई आयोजनाको नौकठ्ठा जमिन हडपेको छ । सिँचाईले आफ्नो जमिन हडपिएपछि अदालतमा मुद्दा दायर गरेको छ । अदालतमा विचाराधीन मुद्दका एक पक्षलाई बोकेर महासचिव पौडेल नै शक्ति केन्द्रमा धाउन थालेपछि उनको भूमाफियासँगको उठबसमा शंका गर्ने थप आधार प्राप्त भएको छ ।
सिँचाईले मुद्दा दायर गरेपछि टाइगर प्यालेसले भने आफ्नो चलअचल सम्पत्ति बेचेर नेपाल छाड्ने तयारी गरेको छ । तर जिल्ला अदालत रुपन्देहीले जग्गा अतिक्रमणसम्बन्धी विवाद निरुपण नभएसम्म रिसोर्टलाई सम्पत्ति बिक्री नगर्न आदेश दिएको छ । तीन अर्ब लागतमा निर्माणाधीन रिसोर्ट ५ अर्बमा किन्ने ग्राहक आए बेचेर नेपाल छाड्ने लगानीकर्ताको चाहनामा अवरोध आएपछि महासचिव पौडेलको शरणमा लगानीकर्ता पुगेका छन् ।
‘भूमाफियाका प्रिय मित्र तथा शुभचिन्तक’ समेत भनेर बद्नाम पौडेलले सरकारी जमिन अतिक्रमण गर्ने रिसोर्टका लागि पनि काँध थापेका छन् ।
जानकारस्रोत भन्छ, ‘बालुवाटारको सरकारी जमिनमा भूमाफिया शोभाकर ढकाललाई सहयोग गर्दा उनले १० आना बक्सिस पाएका थिए । अहिले फेरि रिसोर्टले पनि केही सेयर दिने आश्वासन दिएको हुन सक्छ । जसका कारण उनी यति मरिहत्ते गरिरहेका छन् ।’
बक्सिसमा जग्गा जमिन नै हात थाप्न बानी परेका महासचिवको जग्गा कनेक्सन ५६ सालबाट नै सुरु भएको थियो । त्यो बेलो उनले रुपन्देहीमै ऐलानी जमिन छोराको नाममा पास गराएका थिए । उनी केही वर्षअगाडिसम्म रुपन्देहीका भूमिहीन नेताका रुपमा परिचित थिए ।
श्रीमतीको नाममा जमिन हुँदा हुँदै ऐलानी जमिन यसरी हात पारेका थिए विष्णुलेः
५२ सालसम्म हालका नेकपा महासचिव विष्णुप्रसाद पौडेल रुपन्देहीको सुकुम्बासी बस्तीमा माटोको टायलवाला घरमा बस्थे । उनले १८ धुर ऐलानी जग्गामा आफू सुकम्बासी हुँ भन्दै घर बनाएर बसेका थिए ।
उनी बसेको ठाउँलाई दीपनगर भन्ने गरिन्छ । १८ धुर ऐलानी जमिन विष्णुले अहिले आफ्ना छोराको नाममा पास गराइसकेका छन् । उनकी पत्नीको जमिन नवलपरासीको भुताहामा थियो । त्यो जमिनसँग बालुवाटारको जमिन साटेका थिए–त्यो पनि भुमाफिया शोभाकर ढकालकी पत्नी उमासँग । अझ रोचक त के छ भने विष्णुकी पत्नी दोमायाको नाममा नवलपरासीमा ५६ सालमै १३ कठ्ठा जमिन थियो ।
तर ६१ सालमा दीपनगरमा रहेको १८ जमिन ऐलानी जग्गा पौडेलले आफ्ना छोरा नवीनको नाममा श्रेस्ता कायम गराए । अर्थात विष्णुको परिवार सुकुम्वासी थिएन तर सुकम्बासी बनेर जमिन हात पारे । नेपाल आजबाट