अब भटाभट सडक चौडा, आलेखगन्ज र लोथरमा डोजर चल्यो
गत असार २३ गतेबाट सुरु भएको राजमार्ग चौडा कार्यक्रम वर्षाको कारण केही दिन प्रभावित भएपछि आज बिहीबारबाट पुनः सुरु भएको छ।एसियन हाइवेको मापदण्डअनुसार सडक विस्तार गर्ने क्रम सुरु गरेको केही दिनमा भारी वर्षाभएपश्चात ग्रामिण भेगमा पहिरो हटाउन लगिएको स्काभेटरहरु फर्केपछि पुनः सडक चौडा पर्ने क्रम सुरु भएको हो।
बिहीबार अपरान्हबाट मकवानपुर र बाराको सिमानामा पर्ने आलेखगन्ज र चितवन र मकवानपुरको सिमानामा पर्ने लोथरबाट फेरी काम थालिएको छ। यसअघि इस्काभेटर नहुँदा पनि स्थानीयंले सुरक्षित तवरले आफ्ना अतिक्रमित क्षेत्रमा रहेको टहरा तथा भौतिक संरचनाहरु हटाउने क्रम जारी राखेका थिए।
रहेको डिभिजन सडक कार्यालय मकवानपुरका सूचना अधिकारी इञ्जिनियर अजय अधिकारीले मकवानपुरका विकट बस्तीसम्म पुग्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएपछि इस्काभेटर गाउँ पठाइएको थियो। ‘अब पुनः कामले रफ्तार लिने छ’ सूचना अधिकारी इञ्जिनियर अजय अधिकारीले भने। अहिलेसम्म झण्डै २ सयबढी टहरा स्थानीयले आफैं हटाएको इन्जिनियर अधिकारीले बताए।
संघीय सरकारले महेन्द्र राजमार्गको धन्सार पुल (बारा)देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगन्ज भन्सार (पर्सा)देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग खाली गर्नका निर्देशन दिइएको छ। पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको दाँया–बाँया २५–२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिरलगायतको संरचना हटाउन आग्रह गरिएको अधिकारीले बताए।
यता सडक बिस्तार कार्य अन्तर्गत १६–१६ मिटरमात्र भत्काएर बाइपासको बाटो ब्यवस्थित गर्नुपर्ने धारण आफूहरूको रहेको मकवानपुर उद्योग बाणिज्य संघले अघि सार्दै आएको छ। यसअघि केही वर्ष अगाडी हेटौंडाको डिभिजन सडक कार्यालयले आफैं कम्पाउण्ड वाल भत्काउँदै राजमार्ग चौडा कार्यक्रमको सुरुआत गरेको थियो। तर स्थानीयको तीव्र विरोध र अदालतको आदेशको कारण काम स्थागन गरिएको थियो। हेटौंडा बजारका ३ सय बढी घरहरुलाई तत्काल नभत्काउन सर्वोच्च अदालतले ‘स्टे अर्डर’ दिएको कारण पनि समस्या देखिएको छ।
यसअघि सडक चौडापार्ने काम सुरु हुँदा अदालत पुगेका तीन सयभन्दा बढी घरलाई अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो। अहिले पनि २५ मिटरको सन्दर्भमा हेटौंडाको राप्तिखोलाबाट कर्रा खोलासम्म तथा चौकिटोलबाट बुद्धचोक क्षेत्रसम्मका करिब तीन सय भन्दा धेरै घरको सन्दर्भमा सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेपछि उक्त घर टहराको सन्दर्भमा कुनैपनि क्रियाकलाप गर्न पाउने छैन। स्थानीय केन्द्र तथा संघ सरकारको निर्णय अहिले पनि बाझिदै आएको कारण डिभिजन सडकको योजना अनुसार भटाभट काम हुनेमा भने आशंका गरिएको छ।
हेटौंडाको मुख्य राजमार्गमा पर्ने संरचना भत्काउनका लागि संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले असार ७ गते सूचना जारी गरेको थियो। पटक–पटक सूचना जारी गरेपनि पूर्व–पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकको दायाँ–बायाँ २५ मिटर सडक विस्तार गर्न सकेको छैन।
सडक विस्तार कार्य अन्तर्गत १६–१६ मिटरमात्र भत्काएर बाइपासको बाटो ब्यवस्थित गर्नुपर्ने नत्र २५ मिटर भत्काउँदा पीडितलाई मुआब्जा दिंदै पर्ने धारणमा मकवानपुरको उद्योगी व्यवसायीहरुको छाता संस्था मकवानपुर उद्योग बाणिज्य संघले अडान लिंदै आएको छ।
हेटौंडा क्षेत्रमा समस्या
डिभिजन सडक कार्यालयले चलाखिपूर्वक जिल्लाको सिमानाबाट बाटो चौडा गर्दै आएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको सिमाना र चितवनको सिमानाबाट बाटो चौडा गर्दै हेटौंडातर्फ ल्याइरहेको छ। ति क्षेत्रमा स्थानीयहरुले पनि बाटो चौडा गर्न सहयोग गरिरहेको कार्यालयले जनाएको छ। तर जति सहज ति क्षेत्रमा राजमार्ग चौडा गर्न छ हेटौंडा क्षेत्रमा प्रवेश गरेपछि नहुने प्रष्ट देखिएको छ।
हेटौंडा बजार क्षेत्रमा सडक बिस्तार गर्ने काम अन्यौल छ। हेटौंडाको मेनरोड, राप्तीरोड, चौकिटोल, एचआइडीलगायतका क्षेत्रका घरधनीहरुले सर्बोच्च अदालत र उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्धा हालेपछी सडक बिस्तारमा अन्यौलता सृजना हुने भएको छ।
यसअघिका वर्षहरुमा पनि अदालतकै कारण बाटो चौडा पार्ने योजना विफल हुँदै आएको थियो हेटौंडा बजार क्षेत्रमा भने संरचना हटाउन थालेपछी घरधनी अदालत जानेक्रम बढेको छ। सडक डिभीजन कार्यालय हेटौंडाका इञ्जिनियर अधिकारीका अनुसार अघिल्लोपटक नै अदालतले झण्डै ३ सयवटा घरहरु तत्काल नभत्काउन आदेश दिएको थियो।
सडक सीमाको विषयमा घरधनीले मुद्धा हालेपछि आज बिहिबारको लागि दुवै पक्षलाई अदालतले छलफलको लागि बोलाइएको थियो। तर, समय अभावको कारण घरधनी र सडक कार्यालयलाई फेरी बोलाएर छलफल गर्ने भन्दै बिना निष्कर्ष छलफल टुङ्गेको छ।
नेपाल न्युजबाट, सरिता दाहाल


