पर्यटनमन्त्री योगेश भट्टराईले भने असफल भए राजिनामा दिन्छु



हाम्रो इकोनोमि

 

पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए ।

 

बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम गर्न सकिनँ अथवा म असफल भएँ, त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ, म पछाडि हट्छु ।’

 

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले भने, ‘सायद प्रधानमन्त्रीले मलाई दिने निर्देशन, करार पनि त्यही हुन्छ, त्यही अनुसार म काम गर्छु ।’

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग करार सम्झौता गरेका थिए । सम्झौतापछि मन्त्री नियुक्त भएकाले भट्टराईसँग करार सम्झौता हुन बाँकी छ ।

 

आफू सरकारको आलोचक र कठोर समर्थक भएको बताउँदै उनले केही दिनभित्रै आफूले गर्ने कामसहितको प्रतिबद्धता पत्र र मन्त्रालयका कतिपय विवादास्पद कुराहरु सार्वजनिक गर्ने बताए । उनले भने, ‘केही दिनपछि मन्त्रालयका कामकारबाहीको बारेमा, त्यहाँका विवादास्पद कतिपय विषयहरुको बारेमा र हामीले लिनुपर्ने निर्णयबारे आम जनतालाई बताउँछु ।’

 

खासगरी वाइडबडी जहाज खरिद प्रकरणका कारण मन्त्रालय विवादमा तानिएको छ । मन्त्रालयका ‘विवादास्पद विषय’ भनेर मन्त्री भट्टराईले त्यसैतर्फ संकेत गरेको बुझ्न सकिन्छ ।

 

पर्यटनमन्त्री बनेपछि धेरैले बधाइ दिएको बताउँदै उनले त्यो बधाइलाई आफूले चुनौतीको रुपमा लिएको बताए । ‘सोसल मिडियामा धेरै ठूलो बधाइ मलाई प्राप्त भएको छ, त्यो बधाइ मेरो लागि निक्कै ठूलो चुनौती होजस्तो मलाई लाग्छ । ती चुनौतीलाई सामनालाई अगाडि बढ्नु मेरो दायित्व हुने छ,’ उनले भने ।

 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको कामलाई तीव्रता दिने जानकारी उनले दिए । साथै सबैको सहमति जुटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई पनि अगाडि बढाउने उनले बताए ।

 

मदननगर बल्खुपछि मन्त्री भट्टराई तत्कालीन माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ता परिवारको स्मरणमा बनाइएको स्तम्भमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...