चौधरी ग्रुपका विरुदमा स्थानीयवासीको कडा आन्दोलन
नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी ग्रुपको मुख्य ग्राम रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयबासीन्दाद्वारा सो ग्रुपका विरुद्धमा सडक आन्दोलनमा उत्रेका छन् । चौधरी ग्रुपको चौधरी ग्रुप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने र सो खरानीलाई सिधै बाहिर पठाएको र यसले जनजीवन नै प्रभावित भएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । स्थानीयवासीले उद्योगबाट निस्कने धुलो, धुँवाको उचित व्यवस्थापन गर्न उद्योगले पहल नगरेकाले सो कार्य तत्काल रोक्न सरकारसंग स्थानीयबासिन्दाले माग समेत गरेका छन् ।
सो माग राख्दै चौधरीको उद्योग अगाडि एक घण्टा धर्नासमेत दिएका थिए । विश्वको डलरअर्वपतिको सूचीमा नाम लेखाएका चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसबाट मधेशीकोटाबाट संघिय सासद बनेका बिनोद चौधरीको सो उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बन्न बाध्य भएका हुन ।
उद्योगले धुलो, धुँवा व्यवस्थापनका लागि कुनै पहल नगर्दासम्म दैनिकरूपमा एक घण्टा उद्योग अगाडि धर्ना दिने योजना रहेको समेत स्थानीयवासिन्दाले बताएका छन् । सो उद्योगमा इन्धन उत्पादनका लागि बालिने भुसबाट खरानी उडेर घर, आँगन, करेसाबारी, खाना पकाउने भान्सासम्म पुग्ने गरेको पीडित बासिन्दाको भनाई रहेको छ ।
धर्नामा सहभागी स्थानीय बासिन्दाले भने,‘कपडा सुकायो खरानीले पुरिन्छ, भान्सामा पकाएको खानासमेत सफा हुन पाउँदैन, यसको नियन्त्रणका लागि उद्योगले कुनै पहल नगर्दा धेरै समस्या भएको र सो समस्यालाई कुनै चासो नदिई आफ्नो उत्पादनलाई मात्र ध्यान दिएकाले बाध्यभएर आन्दोलनमा उत्रनु परेको हो ।’ उद्योगबाट निस्कने खरानी धुलोले असर पु¥याएको भन्दै आफूहरुले उद्योग प्रशासनलाई पटक–पटक यसको व्यवस्थापनका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको मिलन टोल सुधार समितिका अध्यक्ष चिनीबहादुर सुनारको भनाई रहेको छ ।
अध्यक्ष सुनारका अनुसार उद्योग प्रशासनसँग छलफल गर्दा अध्यधिक खरानी धुलो उड्ने समस्या समाधानका लागि पहल गर्ने मौखिक आश्वासन दिने तर नियन्त्रण भने नगर्ने गरेकाले हदै नाधेपछि आन्दोलनमा उत्रनु परेको बताए । उद्योगबाट धुलोसँगै दुर्गन्धसमेत फैलिएको प्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले उद्योग प्रशासनले यसको व्यवस्थापनका लागि पहल नगरे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
सो सम्बन्धमा उद्योगले स्थानीयवासीले भनेजस्तो मापदण्डविपरीत धुलो ननिस्किएको दाबी गर्दै आएको छ । उद्योगले अहिले आधुनिक प्रविधिबाट ऊर्जा उत्पादन गर्ने गरेको तर सो प्रविधिको चाररपाँच महिनामा मर्मत गर्नुपर्ने र मर्मतको समयमा केही दिन भुसे बोइलर सञ्चालन गरिने गरेको भन्दै सो समस्या नरहेको उद्योगका जनसम्पर्क अधिकृत रामचन्द्र धितालको दाबी रहेको छ । तर सो समस्या प्रायःदैनिक हुने गरेको स्थानीय बासिन्दाले बताएका तीब्रखबरले जनाएको छ ।


