काठमाडौंमा पहिलोपटक बिजुलीबाट चल्ने यस्ता बस आउदैछन्



हाम्रो इकोनोमि

 

 

सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा एउटा निजी कम्पनी भने एक कदम अगाडि बढिसकेको छ । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म बिजुली बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोबाइल कम्पनीसँग हालै सम्झौता गर्‍यो ।

सुन्दरले काठमाडौंसहित देशमा मुख्य शहरहरुलाई लक्षित गर्दै चीनको ‘बीएके’ ब्रान्डका विद्युतीय बसहरु भित्र्याउँदै छ । हालै चीन पुगेर कम्पनीको टोलीले थप ११ वटा विद्युतीय बस भित्र्याउने गरी समझदारी गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

कम्पनीले यसअघि ७ वटा बस नेपाल ल्याउन कम्पनीसँग समझदारी गरिसकेको थियो । त्यसमध्ये २ वटा बस नेपालका लागि हिँडिसकेको छ । तत्कालै २५ वटा बिजुली बस ल्याउने योजनामा कम्पनी छ ।

ट्रली बसपछि काठमाडौंमा पहिलोपटक साझाले सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन रिंगरोड लगायतका सडकमा रुट मागेको छ ।

यो बस एक करोड ६२ लाख मूल्यको हो ।

सरकारले साझामार्फत विद्युतीय बस ल्याउनुभन्दा अगाडि नै सुन्दर यातायातले काठमाडौंमा आफ्नै बस गुडाइसक्ने लक्ष्य लिएको छ । थापा नेपालमा विद्युतीय बसकको युग सुरुआत गर्न आफूहरु आतुर रहेको बताउँछन् । सुन्दरले विद्युतीय बस चलाएर हासिल गर्ने अनुभव सरकार र अन्य यातायात कम्पनीका लागि पनि उपयोगी हुने थापाको विश्वास छ ।

सुन्दरले भित्र्याउने विद्युतीय बस र्‍याङ्किङमा टप १० भित्र रहेको कम्पनीको दावी छ । यो कम्पनीले झण्डै ५० लाख युनिट बस बेचिसकेको छ ।

कम्पनीमा तयार भएका बसहरु नेपाल पठाउने क्रम पनि सुरु भएको छ । अबको एक महिनापछि सुन्दरका थप विद्युतीय बसहरु धमाधम काठमाडौं आइपुग्न थाल्नेछन् ।

सडक हेरेर छुट्टै डिजाइन

हाल नेपाल आउने बसहरु चीनको सिचुवान प्रान्तस्थित लसान नगरमा अवस्थित कम्पनीमा बनिरहेको छ । हालै साउदी अरेबियालाई ३ सय बिजुली बस बेचेको कम्पनीले नेपाली बाटो सुहाउँदो हुनेगरी बस तयार गरेको छ ।

बीएके कम्पनीका बसको चिनियाँ सडकमा बाहुल्यता छ । त्यहाँका सरकारी कम्पनीहरुले यस कम्पनीका बसहरु प्राथमिकतामा राखेर चलाइरहेका छन् । चीनमा मात्रै बीएकेका बसहरुको बजार हिस्सा ७० प्रतिशत रहेको दावी कम्पनीको छ ।

सुन्दर यातायातले चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराउँदै बसको डिजाइन गराएको थियो । त्यही स्वीकृत डिजाइन अनुरुप राम्रो ‘ग्राउन्ड क्लेयरेन्स’ राखेर बस निर्माण भइरहेको छ ।

चीनमा हाल प्रयोग भइरहेका बसहरुको ग्राउन्ड क्लेयरेन्स कम हुन्छन्, किनकि त्यहाँ सडकको अवस्था निकै राम्रो छ । तर, नेपालमा त्यही बस ल्याउँदा गुडाउन समस्या हुने भएपछि नेपालका लागि छुट्टै प्राविधिक डिजाइन गरिएको हो ।

खाल्डाखुल्डीमा अगाडि नठोक्कियोस् भनेर नेपाल आउने बसलाई छुट्टै तवरले डिजाइन गरिएको छ । काठमाडौंमा गुडिरहेका बसहरुभन्दा फरक लाग्ने यी बसका पछाडिको भागलाई पनि खाल्डाखुल्डी युक्त सडकमा जान सकिने गरी बनाइएको छ ।

शहरी रुटका लागि उपयोगी

बसको अगाडि डिजिटल डिस्प्ले जोडिएको छ । बाहिरबाट हेर्दा बस आकर्षक छ नै, बसभित्र पनि नेपाली यात्रु सुहाँउदो गरी सिट व्यवस्थापन गरिएको छ ।

सुन्दरले ४० सिट क्षमतासम्मका बस नेपाल ल्याउन लागेको हो । कम्पनीले फरक-फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ । यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरु छन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाउन सकिने अध्यक्ष थापा बताउँछन् । कम्पनीले यी बस चलाउन रुट इजाजत लिने प्रक्रिया पनि थालिसकेको छ ।

अध्यक्ष थापाकाअनुसार यी बसहरु नेपाली सडकको अवस्था हेरेर नै डिजाइन गरिएकाले शहरभित्र सार्वजनिक यातायातको प्रयोजनका लागि निकै उपयोगी हुनेछन् ।

सुपर चार्ज सुविधा

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको छ । हाल कम्पनीसँग २ घन्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन आईसकेको छ ।

काठमाडौंमा चार्जिङ स्टेशनका लागि धेरै जग्गा उपलब्ध हुन सक्दैन, त्यसैले जतिसक्दो छिटो चार्ज हुने र एउटै मेसिनबाट फरक-फरक गाडीमा पनि चार्ज गर्न सकिने प्रविधि चिनियाँ कम्पनीले नेपालकै लागि विकास गर्दैछन्,’ उनले भने, ‘त्यसमा हाम्रा प्राविधिहरुले पनि सघाइरहनुभएको  छ । यस्तो आधुनिक मेसिन ल्याएपछि बीएकेका बसहरु काठमाडौंमा चलाउन अझ बढी प्रभावकारी हुन्छ ।’

सिट व्यवस्थापन

सुन्दरले ल्याउन लागेका बसको भित्री भाग फरक किसिमको छ । यी बसका पछाडिका भागहरुमा सिटहरु धेरै छन् । पछाडिको भागलाई महत्व दिँदै सिट व्यवस्थापन गरिएको छ ।

‘अहिले यात्रुहरु सकेसम्म अगाडिको भागमा बस्न खोज्छन्, तर, हाम्रो बसहरुमा अगाडि बसेरभन्दा पछाडि बसेर यात्र गर्नु बढी रोमाञ्चक हुन्छ, ‘ अध्यक्ष थापा भन्छन्, ‘बीचका भागमा आरक्षण सिटहरुसहित प्रशस्त स्पेस छ । शहरभित्र उभिएर यात्रा गर्न पनि सकस हुँदैन ।’

४० सिटको बसमा थप ३० भन्दा बढी यात्रुहरुले उभिएर यात्रा गर्न सक्छन् । उभिने यात्रुका लागि ह्याङ्गरहरु राखिएका छन् । बसमा आरक्षण सिटहरुलाई बेग्लै रंग दिइएको छ ।

यी बसहरुमा एयरकन्डिसनरको पनि सुविधा छ । ४० सिटका बसको छततर्फको भागमा ३ स्थानमा एसी जोडिएका छन् । शहरी सार्वजनिक बसमा एसी सुविधायुक्त सुन्दर यातायात पहिलो हुनेछ ।

यसैगरी यी बसहरुमा अपांगता भएका व्यक्तिले सजिलै चढेर यात्रा गर्न सक्छन् । अटोमेटिक डोर लक/अनलक सुविधा सहितका यी बसमा यात्रु उक्लिन ठूलो खालको ढोका पनि छ । काठमाडौंमा बस चढ्न ठेलमठेल गर्नुपर्ने अवस्थालाई यसले कम गराउनेछ । बसभित्रै कम्पनीकै सेट भएका डस्टिविन छन् ।

स्मार्ट पेमेन्ट सिस्टम

सँगै यो बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा भुक्तानी गर्न पाउनेछन् । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।

बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । जसमा यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् ।

बसको भित्री बनोट पनि मजबुत तवरको रहेको कम्पनीका अध्यक्ष थापा बताउँछन् । आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने उनले बताए ।

विद्युतीय बस वातावरणमैत्री हुन्छन् । साथै यी बसहरुले डिजेल गाडीले जस्तो चर्को ध्वनी निकाल्दैननन् ।

आफ्ना विद्युतीय बसहरु उकालो सडकमा पनि सजिलै चल्न सक्ने बीएके कम्पनीको दावी छ । काठमाडौंको सडकलाई ध्यानमा राखेर कम्पनीले चीन पुगेका बेला त्यहाँको उकालो सडककै त्यसको परीक्षण गरेको थियो । परिक्षण सफल भएको र त्यसले बसप्रतिको विश्वास अझ बढेको अध्यक्ष थापाले बताए ।

सञ्चालन खर्च न्यून

बीएकेका विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुनेछ । हाल काठमाडौंमा चलिरहेका डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्चन्छन् ।

तर, विद्युतीय बसको सञ्चालन खर्च त्योभन्दा निकै कम छ । प्रत्येक ५ किलोमिटरमा बीएके कम्पनीको सञ्चालन खर्च २० रुपैयाँ मात्रै पर्ने अध्यक्ष थापा बनाउँछन् । ३ देखि ५ किलोमिटर चल्दा विद्युतीय बसले डिजेलको भन्दा १०० रुपैयाँ कम खर्च गर्ने उनको भनाइ छ । विद्युतीय गाडीहरुमा डिजेल गाडीको भन्दा कम प्राविधिक समस्या देखिने भएकाले मर्मत खर्च पनि धेरै बचत हुने सुन्दर यातायात बताउँछ ।

यसैकारण कम्पनीले बसको भाडादर हालको भन्दा सस्तो गर्न सरकारसँग प्रस्ताव गरेको छ ।

यी बसहरु किन्दा भने डिजेल गाडीभन्दा महंगो नै पर्छ । तर, सञ्चालन खर्च कम भएकाले लगानी उठाउन ठूलो समस्या नपर्ने कम्पनीको विश्वास छ । डिजेल बसको आयु २० वर्ष तोकिए पनि विद्युतीय बसको आयु नै नहुने भएकाले कालान्तरसम्म यसमार्फत सेवा दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...