सर्बियामा विद्यार्थी आन्दोलनको जित
सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् ।
प्रारम्भिक मतपरिणामअनुसार २५० सिट रहेको सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा धेरै सिट जितेको छ । बुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) गठबन्धन १०५ सिटमा सीमित भएको छ । निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको थियो, जुन सन् २००० मा युगोस्लाभियाको विघटनपछिकै सर्वाधिक उच्च मतदाता सहभागिता हो ।
नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेड र नोभी सादलगायत प्रमुख सहरहरूमा हजारौँ युवा तथा नागरिकहरूले विजयोत्सव मनाइरहेका छन् । उनीहरुले ‘आलेक्जान्दर ढल्यो !’ (आलेक्जान्दर इज गन !) र सन् २००० मा स्लोबोदान मिलोसेभिचको पतन हुँदा घन्किएको ऐतिहासिक नारा ‘उनी सकिए !’ (हिज फिनिस्ड !) पुन: दोहोर्याइरहेका छन् ।
यो ऐतिहासिक राजनीतिक परिवर्तनको जग नोभेम्बर २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट क्यानोपी भत्किँदा १६ जनाको ज्यान गएको भयानक दुर्घटनापछि बसेको थियो । उक्त दुर्घटनाको मुख्य कारण सरकारी भ्रष्टाचार, कमिसनतन्त्र र गुणस्तरहीन निर्माण कार्य भएको भन्दै देशभरका विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए । सुरुमा भ्रष्टाचार र जवाफदेहिताका लागि सुरु भएको सडक आन्दोलन पछि गएर पूर्ण राजनीतिक आन्दोलन र चुनावी मोर्चामा रूपान्तरण भयो ।
‘स्टुडेन्ट लिस्ट’ले कुनै परम्परागत राजनीतिक नेतालाई अगाडि सारेन । विद्यार्थी नेताहरूले मुटुरोग विशेषज्ञ डा. इलिया स्रदानोभिचको नेतृत्वमा प्राध्यापक, कलाकार, खेलाडी र कृषकहरू सम्मिलित समावेशी उम्मेदवार सूची तयार पारेका थिए । ती अधिकांश उम्मेदवारहरु विजयी भएका छन् ।
विजय घोषणा भएपछि बोल्दै ‘स्टुडेन्ट लिस्ट’का प्रमुख उम्मेदवार डा. इलिया स्रदानोभिचले भने, ‘आज राति जनताको आवाज सुनिएको छ । भोलिदेखि हामी कानुनी राज्य र लोकतन्त्रको पुनरुत्थानका लागि काम सुरु गर्नेछौँ । यदि दृढ इच्छाशक्ति छ भने परिवर्तन सम्भव छ भन्ने हामीले प्रमाणित गरेका छौँ । अब हामी सबैले सत्य, आवाज र भविष्य पाउने देशको निर्माण गर्नेछौँ ।

