चिनियाँ लगानीको ह्वासिन सिमेन्ट उद्योग बाढीले क्षतिग्रस्त



हाम्रो इकोनोमि

 

१५ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले क्षतिग्रस्त बनाएको छ । चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट (हुवान) कम्पनी लिमिटेडको लगानीमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा निर्माणाधीन उद्योगमा बाढी पसेको हो ।

 

उद्योगमा कार्यरत ५ जना मजदुरसमेत बाढीमा फसेका थिए । यद्यपि, अहिले सबैको उद्दार भइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए । उनका अनुसार आइतबारबाट उद्योग क्षेत्रमा बाढी पस्न शुरु गरेको थियो । साँझसम्म डुबान भएपछि नजिकैको प्रहरी टोलीले उद्दार गरेको उनले जानकारी दिए ।

 

उद्योगले गतवर्ष १५ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी गर्न लगानी बोर्डबाट स्वीकृति पाएको थियो । उद्योगमा चिनिया कम्पनी हुवानको ८५ प्रतिशत र सुरज वैद्यको वैद्य समूहको १५ प्रतिशत लगानीमा ह्वासिन सिमेन्ट नारायणी प्रालिको निर्माण शुरु गरिएको थियो ।

 

गत फागुनमा सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेको यस उद्योग भौतिक संरचना निर्माण एक वर्षमा सक्ने लक्ष्य लिइएको थियो । होङ्सीपछि मुलुककै ठूलो उद्योगको रुपमा स्थापना गर्ने लक्ष्यका साथ यो उद्योगको निर्माण शुरु गरिएको कम्पनीका प्रतिनिधि डिल्ली अधिकारी बताउँछन् ।

 

सिमेन्ट उद्योगले आफूलाई चाहिने कच्चा पदार्थ स्थानीय सामाग्रीको प्रयोग गरेर उत्पादन गर्ने गरी तयारी थालेको थियो । उद्योग निर्माणको काम एक वर्षमा सकिने र त्यसपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य बताइएको थियो ।

 

क्षतिको विवरण आउन बाँकी

जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विवरण आइसकेको छैन । ‘कुनै मानवीय क्षति भने भएको छैन, फसेका मजदुरलाई पनि प्रहरीको टोलीले उद्दार गरिसकेको छ’ जिल्ला प्रहरी प्रमुख बैदवारले भने, ‘भौतिक संरचनाहरुमा भने क्षति पुर्‍याएको छ ।’ निर्माणाधीन आयोजनामा प्रयोग भइरहेको २ वटा गाडी बाढीले पल्टाएको छ । त्यसबाहेक निर्माणमा प्रयोग गरिने विभिन्न उपकरणहरु बगाएको छ ।

 

उद्योग निर्माणका लागि लगिएका भौतिक वस्तुहरु धेरै बगाएको हुनसक्ने भएपनि अहिले डुबान भइरहेका कारण यकीन तथ्यांक दिन नसकिने उनले बताए । त्यस क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । कम्पनीका प्रतिनिधि डिल्ली अधिकारीका अनुसार अझै थप क्षतिको खतरा छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...