देशभर लगातार तीन दिन वर्षा हुने, बाढीपहिरोबाट सतर्क रहन सरकारको निर्देशन
मंगलबारदेखि सुरु भएको वर्षा अझै लगातार तीन दिनसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यून चापीय रेखा नजिक रहेकोले अझै तीन दिनसम्म नियमित वर्षा हुने विभागले जनाएको छ ।
भारी वर्षासँगै बाढीपहिरोकाे सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्नेहरूलाई होसियारी अपनाउन उनको सुझाव छ।
मंगलबार पनि देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । अहिले पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा जारी छ ।
बाढी पूर्वानुमान महाशाखाले पनि बुधबार चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाका खोला नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
आफ्नो ट्विट अकाउन्तमार्फत महाशाखाले भनेको छ– चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपास जिल्लाबाट बहने केही साना खोलामा एक्कासि बाढी आउन सक्छ, राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाऔं।’


