देउवाले थाले सरकार ढाल्ने गोप्य तयारी, प्रचण्डसंग डेढ घण्टा बार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्ने उद्घोष गरेका छन् । स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले सरकार असफल भएको महसुस जनताले गरिसकेकाले अब कांग्रेसले सडक र सदनबाट आन्दोलन छेड्ने तयारी गरिसकेको बताए ।
मानवअधिकार आयोगमासमेत सरकारले हस्तक्षेप गरेको बताउँदै उनले तानाशाही शैलीमा गरिएका क्रियाकलाप सैह्य नहुने चेतावनी दिए ।कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको ‘म्यान्डेट’लाई दुईतिहाइको शक्तिशाली सरकारले सम्बोधन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।
लोकतन्त्र र संघीय संरचनालाई संस्थागत गर्न आवश्यक पर्ने कानुन पनि सरकारले निर्माण गर्न नसकेको उनको भनाइ थियो । दुई दिनसम्म चल्ने स्थानीय तहको भेलामा देशभरका कांग्रेस आवद्ध ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको छ ।
यसैबिच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज लामो बार्ता भएको छ । ललितपुरको होटल समिटमा भएको बार्तामा शान्ति प्रक्रिया टुंग्याउने बिषयमा लामो छलफल भएको हो ।
नेकपा स्रोतका अनुसार दुई नेताबीचको बार्तामा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन उच्चस्तरीय समझदारीका साथ ाथ अघि बढने सहमतिसमेत भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझावअनुसार अध्यक्ष प्रचण्डले आज शान्ति प्रक्रियाको समग्र बिषयमा कांग्रेस सभापति देउवासँग छलफल गर्नुभएको हो ।
‘दुई अध्यक्षबीच छलफल भएर नै अध्यक्ष प्रचण्डले देउवासँग बार्ता गर्नुभएको हो, हिजोको शान्ति प्रक्रियाका सहयात्री दल रहेकोले सत्ता र प्रतिपक्षी नभनी उच्चस्तरीय सहमतिका साथ अघि बढन बार्ता फलदायी रह्यो,’ अध्यक्ष प्रचण्ड र देउवाबीचको भेटबारे नेकपाका एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार प्रचण्ड र देउवाबीच छिटै प्रधानमन्त्री ओलीसहित तीन नेताको बैठक बसेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति बनेको छ ।
अव प्रधानमन्त्रीसहित तीन नेताबीच उच्चस्तरीय बैठक हुनेछ, सो बैठकले शान्ति प्रक्रियाको समग्र पाटोमा छलफल गरी निश्कर्षमा पुर्याउने छ,’ ती नताले भने । भेटमा अध्यक्ष प्रचण्डले सरकार प्रतिपक्षीसँग समग्र बिषयमा सहमतिका साथ अघि बढन चाहेको भन्दै समृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गर्न सहकार्यको प्रस्ताव गर्नुभएको समेत स्रोतले बतायो । देउवासँगको भेटमा प्रधानमन्त्री र आफूबीच छलफल भएरै पहिलो चरणमा बार्ताका लागि आएको जानकारीसमेत दिनुभएको थियो ।