प्रधानमन्त्रीको गृह जिल्लामा आरसीआईडी बम
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना कार्यकर्ताको गैर न्यायिक दमनको बिरोधमा मंगलबार आयोजना गरेको नेपाल बन्दका क्रममा देशभरका ३६ जिल्लामा ४६ घटना भएका छन्।
प्रहरीले विभिन्न जिल्लाबाट नेकपाका ७ जना जिल्ला तहका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ। बन्दकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आरसीआईडी बम फेला परेको छ। सुरक्षा अधिकारीहरुका अनुसार रिमोट कन्ट्रोल इन्टरसेप्टिङ डिभाईस (आरसीआईडी) बमबाट क्षति हुनु अगावै प्रहरीले बरामद गरेको हो। चाहेको समयमा रिमोटको सहयोगमा क्षति गराउन सकिने यसप्रकारको बम नेकपाबाट पहिलो पटक बरामद भएको हो।
मान्छेले रिमोटबाट सञ्चालन गर्ने यसप्रकारका डिभाईसमा बम राखेर क्षति गराईन्छ। सेना र प्रहरीको इन्टिलिजेन्स टोलीले घटनाको अनुसन्धान थालेको छ।
भद्रपुर नगरपालिकाका मेयर तथा उपप्रमुखको कार्य कक्ष चढ्ने सिँढीको तल कालो ब्यागभित्र रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम राखिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
भद्रपुर नगरपालिकामा बम रहेको जानकारी गृह मन्त्रालयका सचिवले फोनमार्फत झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गराएका थिए। प्रजिअ दाहाललाई खबर आउनुभन्दा अघि नगरपालिकामा बम राखिएको कसैलाई थाहा थिएन। प्रजिअ दाहाललाई भद्रपुर नगरपालिकामा बम राखेको सूचना आएलगत्तै प्रजिअ दाहालले तत्काल झापाका प्रहरी प्रमुखहरूलाई जानकारी गराए।
त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय झापाले सोमबार बेलुका पौने ९ मा वडा प्रहरी कार्यालय भद्रपुरलाई बम राखिएको सूचना दिए। सूचना पाउनासाथ वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगे। घटनास्थलमा पुगेका प्रहरीले नगरपालिकाभित्र बम खोज्न थाले। प्रहरीले करिब आधा घण्टापछि कालो झोलामा शङ्कास्पद वस्तु फेला पार्यो।
त्यस अवधिभित्र घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहाल, प्रहरी कार्यालय झापाका डीएसपी श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ आइपुगेका थिए। बन्दका क्रममा झापामै एक होक्स बम र एक स्थानमा शंकास्पद वस्तुसमेत फेला परेको प्रहरीले जनाएको छ। यस्तै झापामै फेला परेको एउटा प्रेसर कुकुर बम सेनाको टोलीले निश्कृय गरेको छ।
यस्तै कैलालीमा बेवारिसे राखिएको टाईम बम फेला परेको छ। सुरक्षा निकायले सेनाको सहयोगमा बम निष्कृय गरेका छन्। प्रहरीका अनुसार काठमाडौंको कीर्तिपुरका त्रास फैलाउन होक्स बम (बम आकारको वस्तु) राखेका छन्। यस्तै काठमाडौँकै अर्को एक स्थानमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। बन्दको दिन एकाबिहानै काठमाडौंबाट शंकास्पद अवस्थामा भेटिएका ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले शंकास्पद वस्तु राख्नमा विप्लव समूहलाई सघाएको आरोप छ। यस्तै ललितपुरको जावलाखेलमा राखिएको शंकास्पद वस्तु सेनाको टोलीले निष्कृय पारेको छ। भक्तपुरमा समेत होक्सबम राखेर त्रास फैलाईएको छ।
प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार अछामका दुई र डोटीका एक स्थानीय निकायका कार्यलयमा तोडफोड भएको छ। अर्घाखाचीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ। उदयपुरमा एउटा सुतली बमबाट क्षति गराउने प्रयास भएको छ। कपिलवस्तु, चितवन र काभ्रेमा एक–एक वटा शंकास्पद वस्तु फेला परेको छ।
विप्लव बन्दको प्रभाव कास्कीमा बढी देखिएको छ। कास्कीका ३ स्थानमा शंकास्पद वस्तु, दुई स्थानमा होक्स बम र एउटा शंकास्पद वस्तु फेला परेको छ। कास्की प्रहरीले विप्लवका लमजुङ जिल्ला सेक्रेटरीलाई पोखराबाट पक्राउ गरेको छ। बन्दकै क्रममा जाजरकोटका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ। धादिङमा एउटा सकेट बम फेला परेको छ। प्रहरीले बन्दकै क्रममा रुकुम पश्चिमबाट विप्लवका चारजना जिल्ला तहका नेता नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मंगलबार बिहानैदेखि अपरान्हसम्म ९ वटा होक्स बम, २० वटा शंकास्पद वस्तु, ३ वटा ग्यास सिलिन्डर बम, २ वटा सकेट बम, एउटा सुतली बम, ४ वटा प्रेसर कुकुर बम, एउटा आगजनीको घटना, ४ स्थानमा तोडफोड भएको छ। घटनामा संलग्न ७ जना पक्राउ परेका हुन्।