कुमार पौडेलका छोराको चित्कार : मेरो सिए र बहिनीको डाक्टर पढ्ने सपना तुहियो
सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेलको प्रहरीबाट जीवन नै समाप्त भएपछि छोराछोरीको पढाइ रोकिने चिन्तामा छन् । बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा दुखद मृत्यु भएको थियो ।
लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा प्रहरीले गरेको जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको सर्लाही प्रहरीले दाबी गर्दै आएको छ भने उनको पार्टीले मृत्यु नभई गम्भीर षड्यन्त्र भएको दावी गरेको छ । मृत्यु भएको तीन दिनपछि परिवारले शव बुझेर शनिबार हिन्दू परम्पराअनुसार बागमती नदीमा अन्त्यष्टि गरेका छन् ।
पौडेलका १५ वर्षका छोरा कुशल र ३७ वर्षीया श्रीमती कला किरिया बसेका छन् । बाबुको मृत्युबाट विक्षिप्त बनेका कुशलले भक्कानिँदै भने, ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
यो पनि, एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ–घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार ९८३ गरी ६ लाख ३५ हजार ९८३ रुपैयाँ लगिसक्नुभयो ।
स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ ।
२२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन् ।
‘मेयर सा’बले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो बिर्तामोड शाखामा निवेदन हाल्नुभएको थियो । २२ असार ०७५ मा दुवैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ,’
एनएलजी इन्स्योरेन्सका एक कर्मचारीले भने, ‘घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी जम्मा ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ भुक्तानी दिइएको छ ।’
इन्स्योरेन्स कम्पनीमा भएको रेकर्डअनुसार गाडी मेयर सिवाकोटीकै नाममा र घर श्रीमती विद्या बस्नेतको नाममा छ । गाडीको बिमा रकम मेयर सिवाकोटीको नाममा भुक्तानी दिएको र घरको भने सिंहबाहिनी टी स्टेट प्रालिको नाममा चेक बनाएर दिएको इन्स्योरेन्सका कर्मचारीले बताए । सिंहबाहिनी टी स्टेट मेयरको फर्म हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


