घनश्याम भुसालले भने ठूला भ्रष्टाचारमा राष्ट्रिय सहमति हुन्छ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले ठूला भ्रष्टाचारमा घटनामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् । कानुनको पालनामा भएको बलमिच्याईका कारण राज्य र समाजमा ब्यापक विकृति देखिएको भन्दै उनले राष्ट्रिय सहमति विना ठूला घोटाला हुन नसक्ने टिप्पणी गरे ।
अरब भन्दा माथिको भ्रष्टाचार व्युरोक्रेसीले मात्र गर्छ ?’ उनले प्रश्न गरे ‘यद्यपी कारबाही भयो भने ब्युरोक्रेसीको मान्छे पर्छन्, माथिको मान्छे कम पर्ने गरेका छन् । तर यो निसन्देह भन्न सकिन्छ ठूला घोटाला एक्लै हुँदैन, एक हिसाबले भन्न सकिन्छ, त्यो राष्ट्रिय सहमति बन्छ ।’
मंगलबार संसदमा बजेट छलफलमा भाग लिँदै उनले राजनीतिक दलभित्र फस्टाएको दलाल पुँजीवादका कारण समाज विस्तारै भ्रष्टाचारमा फस्दै गएको बताएका छन् ।
‘राजनीतिक पार्टी माथिदेखि तलसम्म दलाल पुँजीवादको प्रक्रियामा मिसिएका छन् तिनले हाम्रो समाजलाई निरन्तर करप्ट बनाउँदैछन्’ उनले भने ‘उनीहरु आफू करप्ट छैनन्, अरुलाई करप्ट बनाउँदैछन् ।’
दलहरुकै कारण समाजमा भ्रष्टाचार बलियो हुँदै गएको भन्दै उनले वलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको बताए । ‘यो नतोड्ने हो भने ऐतिहासिक रुपले राजाले सुरु गरेको, हामीले नियन्त्रण गर्न नसकेको, जानेर नजानेर त्यसमा (भ्रष्टाचारमा) पस्दै गएको दुष्चक्र निरन्तर बढिरहने जस्तो देखिन्छ’ भुसालले भने । दलाल पुँजीवादको जञ्जालले हाम्रो विकास र स्वतन्त्रतालाई निरन्तर खुम्च्याइरहेको भन्दै भुसालले यस विषयमा गम्भीर हुनुपर्ने बेला आएको बताए ।
वाइडबडी खरिदमा सन्तुष्ट छु : सुगतरत्न कंसाकार
नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंसाकार वाइडबडी विमान खरिद प्रकरणलाई लिएर विवादित बन्दै आएका छन् । विमान खरिदमा अनियमितता भएको आरोप एकातर्फ लागिरहेको छ । अर्कोतिर कंसाकारको पहलमा खरिद गरिएका जहाजले नेपाल एयरलाइन्सलाई ‘अजम्बरी बुटी’ को काम गरेको तर्कसमेत गर्न थालिएको छ ।
कंसाकारले निगमका लागि कति काम गरे, कति अनियमितता या भ्रष्टाचार गरे, त्यो हेर्ने आधिकारिक निकाय छन् । उनीहरुले यसबारेमा नै फैसला गर्लान् । तर, करीव ३ दशकसम्म जहाज नभित्र्याएर निगमलाई धरासायी बनाउने प्रवृत्तिविरुद्ध भने कंसाकारले खुट्टा कमाएनन् । निगमलाई अहिले ४ वटा नयाँ जहाज ल्याएर एक सक्षम कम्पनी बन्ने आधार भने बनाइदिएका छन् । अब आगामी नेतृत्वले यी जहाजलाई कसरी उपयोग गर्छ, त्यो भने हेर्न बाँकी छ ।
धन्न नेपालले बोइङ किनेन !
पूर्वसचिव भीम उपाध्यायले १४ जेठमा ट्वीट गरे– सुगत कंसाकारले अरुको दबावमा परी एयरवस वाइडबडी नकिनेर अहिले विश्वभरि ग्राउण्डेड भएको बोइङ वाइडबडी किनेको भए नेपालको अहिले के हालत हुने रैछ है ! पशुपतिनाथले नै नेपालको रक्षा गरेछन् ।
हुन पनि, इन्डोनेसियाको लायन एयर र इथियोपियाको इथियोपिन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज एक वर्षका अन्तरमा एउटै प्रकृतिको प्राविधिक त्रुटीका कारण दुर्घटनामा परेपछि यी मोडलका जहाज संसारभर ग्राउण्डेड छन् । थुप्रै देशले बोइङ ७३७ म्याक्सलाई उडान प्रतिवन्ध लगाएका छन् ।
नेपाल एयरलाइन्सले जहाज किन्ने प्रक्रिया थाल्दा विश्वमा यही मोडल लोकप्रिय थियो । बोइङ कम्पनीको ब्यापार उच्च गतिमा चलिरहेको थियो । त्यही मेसोमा नेपाल वायु सेवा निगमले पनि बोइङ ७३७ म्याक्स किनेको भए अहिले के हुने थियो होला भन्ने भीम उपाध्यायको प्रश्न आफैंमा अर्थपूर्ण छ ।
इन्जिनियरदेखि महाप्रबन्धकसम्म
नेपाल एयरलाइन्सका महाप्रवन्धकका रुपमा विवादास्पद दोस्रो कार्यकाल बिताएर सुगतरत्न कंसाकार बिदा भएर जाँदाजाँदै उनले आधिकारिक सामाजिक सञ्जालमार्फत आफ्नो विदाई भाषण सार्वजनिक गरे । जहाँ उनले भनेका छन्, ‘नेपाल भ्रमण वर्ष २०११ अगावै जसरी भए पनि कम्तिमा एउटा नयाँ टल्केको विमान काठमाडौंमा अवतरण गराउने महान लक्ष्य लिएर युद्धस्तरमा खरिद प्रकृया बढाएँ । तर, निगमलाई कुनै हालतमा उँभो लाग्न नदिने केही तत्वले अनर्गल प्रचार–प्रसार गरी विमान खरिद प्रकृयामा अवरोध खडा गरिदियो र मुद्दा मामिलामा अल्झाएर दुईवटा न्यारोबडी ए३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन गयो ।’
सरकारी सेवामा करीव ४१ वर्ष बिताएका इञ्जिनियर कंसाकारलाई नेपालको खरीद प्रक्रियाको जञ्जाल थाहा नहुने कुरै भएन । त्यो खुबीले पनि नेपाल टेलिकममा उनको नेतृत्व सफल भयो । वायुसेवा निगममा चाहीँ उनी धेरै विवादित बन्न पुगे । त्यसो किन भयो त ?
विमान कारोबारका जानकारहरुका भनाइमा, नेपालमा विमान निर्माता कम्पनीहरु बोइङ र एयरबसको व्यापारिक स्वार्थ जोडिएको कुनै पनि निर्णय निर्विवाद हुन गाह्रो छ । उनीहरुका अनुसार, जहाज व्यापारमा मध्यस्तकर्ताका रुपमा कमिसन खान चाहनेहरुले निगमको खरीद प्रक्रियालाई जहिल्यै विवादित बनाउँछन् ।
कंसाकार पहिलो पटक ०६५ मंसिरमा निगमको महाप्रवन्धक नियुक्त भएका थिए । सरकारी सेवामा ३४ वर्षे अनुभव लिएर निगम प्रवेश गर्नासाथ उनले नयाँ जहाजलाई नै लक्ष्य बनाएका थिए । निगमले ०४४ सालयता जहाज थप्न सकेको थिएन । अर्कोतर्फ भएका जहाज बिक्री गर्ने र भाडाका जहाज उडाउने खेलले निगमलाई धराशयी बनाउन लागेको अवस्था थियो ।
यसबीचमा धमिजादेखि लाउडासम्मका काण्ड भएका थिए । कंसाकार आएको पाँचौं महिनामा निगमले नयाँ जहाज किन्न टेण्डर आह्वान गर्यो । त्यो निर्णयलाई निगमको पुनरागमन मान्नेहरु अहिले पनि भेटिन्छन् । तर, त्यो निर्णयबाट जहाज खरिद प्रक्रिया शुरु हुनासाथ कंसाकार विवादमा तानिए । मामिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्यो ।
अख्तियारले छानविन थाल्दा निगमले एयरबस कम्पनीलाई प्रतिवद्धता वापत पाँच करोड ७३ लाख ७५ हजार रुपैयाँ पठाइसकेको थियो । त्यसमा अनियमितता भएको भन्दै अख्तियारले ९ पुस २०६७ मा विशेष अदालतमा मुद्दा दायर गर्यो । त्यो मुद्दा कसरी, कहाँ पुग्यो भन्नेमा कंसाकार खासै मतलब राख्दैनन् ।
‘त्योबेला योजना अनुसार ६ वटा विमान ल्याउन दिएको भए आज निगमसँग घटीमा १० वटा जेट विमान हुन्थे, सन् २०१३ को शुरुमै जापान र युरोप उडान भइसक्थ्यो’, उनी भन्छन्, ‘मतलब राख्नुपर्ने कुरा त यो हुनुपर्ने हो नि !’
त्यो हुन सकेको भए आज नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र यूरोपेली यूनियन (इयू)को कालो सूचीमा पनि नपर्ने कंसाकारको भनाई छ । ‘हामी उनीहरुको ब्ल्याक लिस्टमा परेको सन् २०१३ को अन्त्यतिर हो’, उनी भन्छन्, ‘किनभने, सेवा सञ्चालन भैसकेका गन्तव्यहरुमा ब्ल्याक लिस्टको असर पर्दैनथ्यो ।’
पहिलो कार्यकालमा कंसाकारमाथि लागेको भष्ट्राचार मुद्दामा सर्वोच्च अदालतले १२ बैशाख ०६९ मा फैसला सुनाउँदै जहाज खरीद प्रक्रिया ऐन–कानून बमोजिम नै रहेको भन्दै आरोपित सबैलाई सफाई दियो ।
त्यसबेला सर्वोच्चको फैसलाको एक वाक्यलाई कंसाकारले आफ्नो बिदाई मन्तव्यमा उद्धृत गरेका छन् । जसमा भनिएको छ–‘व्यवस्थापनको प्रतिभा, क्षमता र नेतृत्वदायी भूमिकाको जिम्मामा धेरै ठूलाठूला आयोजना जिम्मा लगाउने हुनाले उनीहरु पनि राष्ट्र र समाजका पूँजी हुन भन्ने सकारात्मक दृष्टिकोणले उनीहरुको सम्बन्धमा जिम्मेवारीका साथ र विधिसम्वत निर्णय लिने सोच सबैमा हुन जरुरी छ । ’
त्यसबेला एयरबसले पनि कंसाकारको पक्षमा ठूलै निर्णय गरेको थियो । निगमले जहाज खरीद प्रतिवद्धतावापत पठाएको बैना रकम उसले फिर्ता दिएको थियो । सामान्यतः यस्तो रकम फिर्ता हुँदैन । मुद्दा शुरु भएपछि कंसाकार जिम्मेवारीविहीन भए, अनौपचारिक कुराकानीका क्रममा उनी भन्ने गर्छन, ‘त्यो काण्डपछि एयरबसको हेडअफिसमा सुगत कंसाकार भन्ने नेपालीको नाम खुब चल्यो ।’