प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, दुई देशको सम्बन्ध मजबुत बनाउने प्रतिवद्धता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार दिउँसो नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।
वार्तामा दुईपक्षीय हितको बारेमा छलफल भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई रुद्राक्षको माला र चाँदीको सिक्का उपहार दिएका छन् । भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो कार्यकालका लागि बधाई तथा शुभकामना पनि दिए ।
दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषत: जनताबीचको सम्बन्ध, अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री बनेका बेला मोदीको शपथ समारोहमा सहभागी हुन बिहिबार दिल्ली पुगेका थिए । प्रधानमन्त्री ओली शपथग्रहणपछि भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओली समकक्षी मोदी र अन्य विशिष्टहरुसँगको भेटपछि शुक्रबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथग्रहणमा सहभागी हुन बिमस्टेक सदस्य राष्ट्र नेपाल, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाईल्याण्डका सरकारप्रमुखलाई निम्तो दिएका थिए । बिमस्टेकका अलावा मौरिसस र किर्गिस्तानका सरकारप्रमुख पनि सहभागी भएका थिए।
सपथग्रहणमा सहभागी हुन आएका बिभिन्न देशका सरकारप्रमुखसँग मोदीले शुक्रबार बिहानबाट भेटवार्ता सुरु गरेका हुन् । सबैभन्दा पहिला उनले किर्गिस्तानका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। त्यसपछि श्रीलंकाका राष्ट्रपति र मौरिससका प्रधानमन्त्रीसँग मोदीले भेटवार्ता गरेका थिए।