रेलमार्गलाई छुट्याइयो ७ अर्ब ७० करोड बजेट



हाम्रो इकोनोमि

 

रेलमार्गहरुको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने ८ अर्ब करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमार्गले आगामी वर्ष ७ अर्ब ७० बजेट पाएको हो ।

 

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेको बताए । यो बजेट मुख्यरुपमा रेलमार्गको जग्गा अधिग्रहण लगायतका काममा खर्च हुनेछ । पूर्व-पश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट आएको छ ।

 

रेल विभागले झण्डै २० अर्ब मागेको थियो । पूर्व-पश्चिम रेलमार्गमा पर्ने सबै जग्गा एकैपटक अधिग्रहण गर्ने गरी बजेट माग गरिएको थियो । सरकारले चीन तथा भारतलाई रेलमार्गले जोड्ने महत्वकांक्षी आयोजना अघि बढाउनसमेत यही रकम उपयोग गर्नेछ ।

रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं जोड्ने रेल अनुदानमा बनाइदिन नेपालले भारत र चीनसामू प्रस्ताव गरेको छ । दुबै अन्तरदेशीय रेलमार्गलाई अघि बढाउन डीपीआर तयार गर्न यसै वर्षको बजेट खर्च गर्ने योजना छ ।

यस्तै काठमाडौं-लुम्बनी र काठमाडौं-पोखरा जोड्ने रेल, काठमाडौंमा मोनो वा मेट्रो रेल पनि सरकारको प्राथमिकतामा छ । बजेटमा जनकपुर-जयनगर र जोगबनी-बिराटनगर ब्रोडगेज रेलमार्गमा रेल चलाउने गरी आगामी वर्षमा काम हुनेछ ।

पूर्व-पश्चिम रेलमार्गमा अहिले बर्दिबास-सिमरा खण्डको एक भागमा ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको छ । अब सिमरासम्मको रेल्वे खण्डको ट्रयाक खोल्ने तयारी छ ।

पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्म ट्रयाक खोल्ने काम भइरहेको छ । पर्याप्त बजेट नहुँदा यो खण्डमा कामको गति सुस्त छ ।

सरकारले पूर्व-पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरु ९४५ किलोमिटरको भए पनि पोखरा-काठमाडौं, काठमाडौं-वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने १ हजार ३ सय ७६ किलोमिटर हुनेछ ।

बुटवलदेखि गड्डाचौकीसम्म ४ सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर तयार भइसकेको छ । निजगढ-इनरुवा खण्डमा त निर्माणको काम नै सुरु भएको छ ।

हाल निजगढ-हेटाैंडा-चितवन खण्डको डीपीआर तयार गरिँदैछ । यो काम सकिएपछि पूर्व-पश्चिम रेलमार्गको मुख्य खण्डको डीपीआर तयार हुनेछ ।
पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ मै सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले अझै गति लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...