विप्लव नेकपाको बन्द, देशभर बम आतंक, दर्जनौ सवारी साधनमा आगजनी र बम प्रहार
आइतवार साँझ राजधानीका तीन स्थानमा बम विस्फोट गराएको विप्लव नेकपाको बन्द राजधानीदेखि देशभर परेको छ । राजधानी काठमाडौंमा यसअघिका बन्दहरुमा त्यति धेरै प्रभाव पर्ने गरेको थिएन । तर आइतबारको बम विस्फोटका कारण बन्दको प्रभाव परेको छ ।
राजधानीका सिमित मात्रामा सवारी साधन चलेका छन् भने राजधानी बाहिर दर्जनौ गाडीहरुमा आलो लगाइएको छ । देशभर बम आतंक नै मच्चिएको छ । राजधानी लगायत नवलपरासी, मकवानपुर, बारा र सुर्खेतमा गुडिरहेको गाडीमा आगजनी गरिएको छ भने दर्जनभन्दा बढी स्थानमा बम तथा विस्फोटक पदार्थ फेला परेका छन्।
नवलपरासीमा गुडिरहेको ट्रकमा बम प्रहार भएको छ । दाउन्नेबाट नारायणगढतर्फ सिमेन्ट बाकेर आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा बम प्रहार भएको हो । ट्रक जलेर नष्ट भएको र चालक दमौलीका ३३ वर्षीय अमर विक भाग्न सफल भएका छन्। त्यसैगरी मकवानपुरको थाहा नगरपालिकामा गाडी जलाइएको छ। ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेटौंडाकै मिनी ट्रक पनि जलाइएको छ।
सुर्खेतमा पनि चलिरहेको बसलाई रोकेर आगजनी गरिएको छ । गुर्भाकोटको गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बस गोचेखोलामा लागो लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बारामा भारतीय ट्रक जलाइएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३, बजनीमा रोकिराखेको भारतीय लरीमा आगो लगाइएको हो। एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकेर आएको थियो।
बम र विस्फोटक पदार्थ
बन्द सफल पार्न र जनमासलाई आतंक फैलाउन विप्लव नेकपाले दर्जनौ स्थानमा बम राखेको फेला परेको छ । पोखराको तीन ठाउँमा शंकास्पद बस्तु फेला परेको भने हेटौंडाको बुद्धचोकनजिक प्रेसर कुकर बम भेटिएको छ । तनहुँका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ ठहियाचोक नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहापुर चोकमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको च्यामासिंहमा शंकास्पद वस्तु फेला परेको छ । च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने ३ बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद वस्तु फेला पारेको हो । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुल बम फेला परेको छ ।