पूर्वमन्त्री बस्नेतले गुण्डा चलाउँदा सिन्धुपाल्चोक कांग्रेसमा किचलो
पूर्व सूचना तथा प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतका कारण सिन्धुपाल्चोकमा कांग्रेसको जागरण अभियानमा हात हालाहाल भएको खुलेको छ ।
उनी सिन्धुपाल्चोक जिल्ला समितिका पूर्वसभापति पनि हुन् । तर, अहिले उनीइतरका विकास लामा सभापति छन् । जागरण अभियानका क्रममा गएको शुक्रबार कार्यक्रममै भएको हानाहान पनि बस्नेत र लामाको विवादको परिणाम भएको स्रोतले जनायो ।
सभापति शेरबहादुर देउवा निकट बस्नेतले जिल्ला समितिसँग समन्वय नगरी एकलौटी हिसाबले कार्यक्रम गर्दै आएको आरोप पनि लाग्ने गरेको छ । उनले भ्रातृ संगठनमा समानान्तर समिति गठन गर्ने, आफ्ना बिरोधी र भनेको नमान्ने समूहलाई गुण्डा लगाएर थर्काउने गरेको बताइन्छ ।
‘कुटाकुटसम्मको अवस्था आउनुमा स्टेजमा बोल्ने विषयको विवाद थियो, यो बस्नेत र लामाबीचको मतभेदको परिणाम पनि थियो’, पुराना कांग्रेस नेता भन्छन्,‘संस्थापनइतरकालाई पेल्ने नियत राखिएको छ ।’
केन्द्रबाट जिल्लामा कार्यक्रम गर्ने निर्देशन हुँदा बस्नेत र लामाले छुट्टा छुट्टै कार्यक्रम राख्छन् । केही महिनाअघि बस्नेतको निर्देशमा तरुण दलका उपाध्यक्ष समेत रहेका गुण्डा नाईके सगुन श्रेष्ठको नेतृत्वमा जिल्ला पार्टी सभापति बिकास लामाको गाडी रोकी हातपातको प्रयास भएको थियो ।
बस्नेतले खटाउने श्रेष्ठ लगायत एक दर्जनलाई पार्टीको आचरणबिरुद्ध काम गरेको भन्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ बस्नेतले साधारण सदस्य समेत नरहनी गरी कारवाही गरेका थिए ।
तर प्रमोद लामाको नेतृत्वमा समान्तर समिति गठन गरेर सगुन श्रेष्ठलगायतलाई तरुणदलकै कार्यकर्ता भएको भन्दै गैर कानुनी तरिकाबाट उभ्याइएको बताइन्छ ।
शुक्रबार पनि कार्यक्रमको उद्घाटन सत्रमा देउवानिकट हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले जिल्ला सभापति लामाले एकलौटी गरेको आरोप लगाएपछि विवाद सुरु भएको थियो ।
जिल्ला सभापति लामाले श्रेष्ठ र नेपालले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको थियो । संस्थापन समितिविरुद्ध प्रमोद लामाको नेतृत्वमा समानान्तर जिल्ला समिति बन्यो । केन्द्रीय सदस्यको निर्देशनमा समिति गठन गरिएकाले यो नै वैधानिक तरुण दल भएको समानान्तर समितिको दाबी छ । घोषणासभामा पार्टीका तर्फबाट प्रतिनिधिसभा–१ का सभापति बालकृष्ण बस्नेत उपस्थित थिए दैनिक नेपालले जनाएको छ ।