काठमाडौंको बागबजारमा श्रीमतीको हत्या, श्रीमान पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले पत्नी हत्या गर्ने एक व्यक्तिलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको छ । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती स्थायी घर भई हाल काठमाडौंको बागबजारमा पत्नी निर्मला नेपालसँग डेरा गरी बस्ने पुष्कर भन्ने राजकुमार पहरीलाई प्रहरीले पक्राउ गरेको हो ।
२७ वर्षीय पहरी २३ वर्षीया पत्नी नेपालसँग बागबजारमा डेरा बस्दै आएका थिए । पत्नीसँग विवाद हुँदा पहरीले वैशाख २१ करीव साढे पाँच बजे पलंगमा ठोकेर पत्नी निर्मला नेपाललाई हत्या गरेको महानगरीय प्रहरी महाशाखा काठमाडौंका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । भोजपुर जिल्लाको याङपाङ माइत भएकी निर्मला नेपालले पहरीसँग विवाह गरी बस्दै आएकी थिइन् ।
पत्नीको हत्या गरी पहरीले घटना लुकाएर राखेका थिए । पत्नीको मृत्यु भएको खबर उनले आफन्तलाई गराएका थिए । सूचना पाएपछि हत्या भएको स्थानमा पुगेको प्रहरीले पहरीसँग सोधपुछ गरेको थियो । पहरी आफूले पत्नीको हत्या गरेको स्वीकार गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको एसएसपी सिंहले बताए ।
साढे दुई वर्षीय बालकको अपहरणपछि हत्या
धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए।
बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।
आधा घाँटी काटेको अवस्थामा शव फेला परको राईले बताए । आर्यन सोमबार साँझ हरियो रङको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए। उनी खेल्न थालेपछि अभिभावक बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए।
त्यहीबीचमा आर्यन बेपत्ता भएका थिए। बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए । बालक नभेटिएपछि अभिभावकले बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई गराएका थिए ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए । तर, बालक फेला परेका थिएनन् । खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको थियो । तर, राती खोज्दा बालक फेला परेका थिएनन्।
मंगबार बिहान राति नै खोजिएकै ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राईले बताए।
बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या गरिएको अनुमान प्रहरीले गरेको छ। अपहरणपश्चात हत्या किन र कसले गर्यो भन्ने केही खुल्न सकेको छैन।


