सिन्दूर हाल्न नपाई ट्रकले लुट्यो तीन वर्षको प्रेम
सिन्दूर हाल्ने अवसर कुर्दाकुर्दै सदाका लागि छुट्टिएको छ । आफ्नो प्राण प्यारी सुनिताको सिउँदोमा एक चिम्टी सिन्दूर हाल्ने समय कुर्दाकुर्दै भीमबाट दैवले सुनितालाई कहिले भेट नहुने गरी चुँडेर लगेको छ ।
मंगलबार पूर्वपश्चिम राजमार्गको लम्कीमा बिहान कलेजबाट फर्कंदै गर्दा २२ वर्षीया सुनिताको ट्रकले च्यापेर ज्यान गएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे पनि लगातार तीन वर्षसम्म आफन्तको मृत्युको कारणले भीमले सुनिताको सिउँदोमा सिन्दूर हाल्ने अवसर जुट्न सकेन ।
‘बिहे गरेको साल आफ्नै हजुरआमा बित्नुभएकाले सिन्दूर हाल्न मिलेन’ भीमले सुनाए, ‘त्यसपछि पनि लगातार आफन्त बितेपछि सुनिताको सिउँदोमा सिन्दुर रंगाउने सपना अब सपनामै सीमित बन्यो । ललितपुरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा सिभिल इन्जिनियरिङ अध्ययनरत भीम घटनाको अघिल्लो दिन मात्र काठमाडौंबाट घर पुगेका थिए ।
घर पुगेकै दिन पतिपत्नी कैलालीको घोडाघोडी तालमा घुमफिर गरेर रमाइलो गरे । ‘मध्यरातसम्म लामो सुखदुःख भयो’, भीमले भक्कानिँदै भने, ‘करिब ६ महिनापछिको भेट सुखदुःखका साथै भविष्यको योजनाबारेमा कुरा गर्दै रात बितेको थियो । निद्रा नपुगेकाले बिहान कलेज नजानू भनेको थिएँ तर उनी गइहालिछिन् ।’
बिहान त एक्कासि दुर्घटनाको खबर सुनेपछि भीमको होसहवास उड्यो । कलेज हुँदा पनि सुनिताले भीमलाई फोन गरेकी थिइन् तर मोबाइल साइलेन्समा राखेर सुतेकाले थाहा पाएनन् । ‘दुर्घटनापछि मोबाइल खोलेर हेर्दा त मलाई पनि हजुरसँगै काठमाडौं लिनुहोला भनेर म्यासेज गरेकी रहिछिन्’, भीमले भने, ‘सँगै काठमाडौं जाने र पढाइका लागि अस्ट्रेलिया जाने योजना बनेको थियो । सबै दैवले चुँडाएर लगिदियो ।’
एकअर्कालाई निकै माया गर्ने भएकै कारण पनि दैवले हाम्रो जोडी नसहेको भीम बताउँछन् । भीमले पत्नीको शव हेर्न सकिरहेका छैनन् । ट्रकले सुरुमा हात मात्र च्यापेकोमा पछि ब्याक गरेर टाउकोमै टायर चढाएर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
‘छोरीले अघिल्लो दिन मात्रै पनि भेटेर बुबा एक्लो भाइ छ । उसले चाहेको सबै कुरा पूरा गरिदिनुहोला । हजुरले कुनै चिन्ता नलिनुहोला । म छिट्टै जागिर गरेर पैसा कमाउँछु र हजुरलाई सहयोग गर्छु भनेकी थिई’, सुनिताका बुबा तप रावलले भने, ‘अब त मलाई आश्वासन दिने मान्छे पनि कोही रहेन ।’
अघिल्लो दिन भेट हुँदा देखेको छोरीको हँसिलो अनुहार अब तपले पनि कहिलै देख्न नपाउने भएका छन् । ‘मलाई सधैँ सान्त्वना दिने र आश्वास्त पार्ने छोरी अब म कहिलै पाउने छैन’, तपले भक्कानिँदै भने, ‘छोरीको त्यो मीठो बोली सुन्ने इच्छा अब अधुरै रह्यो ।
दोषी चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने कुरा लिखित रूपमै सहमति हुनुपर्ने माग राख्दै आएका पीडित पक्षले अन्त्येष्टि गरेका छैनन् ।