वालुवाटार जग्गा प्रकरण : महासचिव पौडेल, भ्रम र वास्तविकता



हाम्रो इकोनोमि

 

अहिले वालुवाटार जग्गा प्रकरण चर्चा र प्रश्नको घेरामा छ । यस प्रकरणमा एक जना ‘पात्र’ लाई सर्वाधिक विवाद र प्रश्नको घेराभित्र पारिएको छ । ती पात्र हुन नेकपाका महासचिव बिष्णु पौडेल । लामो समय देश र जनताको मुक्तिका खातिर सम्पुर्ण जिवन अर्पण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको वलिवेदमा हामिएको व्यक्ति विष्णु पौडेललाई अहिले विवादित ललिता निवास बालुवाटार जग्गा प्रकरणमा मुख्य अभियुक्तका रुपमा प्रचारित गरिएको छ ।

 

यसका पछाडि दुईवटा कारण हुन सक्छन : पहिलो नेकपाको वर्तमान सरकारले मुलुकलाई जनआकांक्षा अनुरुप सुशासन, विकास, र समृद्धिको नयाँ युगतर्फ यात्रा गरिरहेको कतिपय शक्ति, समुह र तत्वलाई पच्न सकिरहेको छैन र नेकपाको सरकार बनेदेखि नै सरकार र नेकपाबिरुद्ध अहोरात्र नियोजित रुपमा लागिरहेका तत्वले बिष्णु पौडेलको आठ आना जग्गाको त्यान्द्रो समातेर सरकार र पार्टीलाई बदनाम गर्ने डिजाईन अन्तर्गत यसो गरीरहेको हुन सक्छ ।

 

दोस्रो तत्कालिन नेकपा (एमाले) र माओबादी केन्द्रबीचको एकतापश्चात बनेको नेकपाभित्र एकाएक महासचिव बन्दै उदयीमान नेताका रुपमा देखापरेका पौडेलमाथि आन्तरिक राजनितिका कारणले पनि विवादित पार्ने प्रपन्च भैरहेको हुन सक्दछ । यस विषयमा भीड बढेको छ भने राजनीति घुसेको छ भनदा अतिसयोक्ति नहोला ।

 

बालुवाटार जग्गा प्रकरणमा जोडेर पौडेललाई अचानो बनाईएको छ, र मार हान्नका लागि खुकुरीमा साँध लगाएर तम्तयारी अवस्थामा राखिएको छ । मानौ विष्णु पौडेल दशैंमा देवी–देउतालाई भोग चढाउन ल्याईएको बोका जसरी । जेहास, सत्यतथ्य कुरा एकदिन बाहिर आउने नै छन् । यदि नियोजित वा एक किसिमको प्रायोजित ढंगले सामाजिक सन्जालदेखि मिडियामा श्रृङखलाबद्ध रुपमा आएका वा ल्याईएको जस्तै पौडेल सरकारी जग्गा हडप्ने खेल जस्तो अपराधजन्य कार्यमा संलग्न छन र सरकारी जग्गा छोराको नाममा दर्ता गराएका हुन भने उनी जुनसुकै आहोदा वा पदमा आसिन भए पनि कडा कारवाहीको भागिदार बन्नु पर्दछ नै ।

 

तर अहिले उनीमाथि अपराधकै रुपमा जसरी करार गर्ने डिजाईन भईरहेको छ, जे जसरी सामाजिक सञ्जाल र मिडियामा एकोहोरो ढंगले प्रहारको निशाना बनाईएको छ । त्यसले संशय पैदा गरेको छ । एकातर्फ नेकपाभित्र पौडेल नयाँ शक्तिका रुपमा उदाएको मन नपराएका वा उनलाई प्रतिस्पर्धी ठान्ने नेताहरु वा पद नपाएको रिसको झोकमा होस, तिनीहरुको प्रहारको निशाना बनेको बुझ्न त्यति कठिन छैन । तर यदि यो ढंगको घृणित खेल रहेको तथ्य सार्वजनिक भयो भने यो भन्दा ठूलो दुर्भाग्य र कुत्सित एबं फोहोरी खेल अरु हुन सक्ने छैन ।

 ( लेखक राजेन्द्र अर्याल )

वालुवाटार जग्गा प्रकरणका सन्दर्भमा तथ्यलाई केलाउने हो भने महासचिव पौडेलले प्रचलित कानुनअनुसार छोरा नविनको नाममा जग्गा खरिद गरी लिखित कायम भएको देखिन्छ । पोडेलमाथि शक्ति, सत्ता र पदको दुरुपयोग गर्दै सरकारी जग्गा हडप्ने खेलमा संलग्न भएको जुन दुष्प्रचार गरिदैछ, त्यो जनमानसमा भ्रम सिर्जना गर्ने र वास्तविकतालाई ओझेलमा पार्ने ‘ग्य्राण्ड डिजाईन’ का रुपमा लिन सकिन्छ । किनकि त्यसवेला पौडेल न त नेकपाका महासचिव नै थिए, न त मन्त्री नै थिए, न त सांसद नै । उनले कसरी पदीय दुरुपयोग गरे होलान भन्ने प्रश्न उठ्दछ । त्यससंगै उक्त जग्गा कुनै जालझेल वा प्रभाव र दवावमा नभई प्रचलित कानुनको परिधिभित्र रहेर मालपोत कार्यालयमा गएर जग्गा खरीद गरी नामसारी गरेको देखिन्छ ।

 

महासचिव पौडेलले सरकारी जग्गा हडपी आफ्नो छोरा नविनका नाममा दर्ता गरेको नभई उमाकुमारी ढकाल र माधवी सुबेदीसंग किनबेच गरी ल्याएको लिखत प्रमाणहरुले वताईएको छ । कसैले पनि जग्गा खरीद गर्दा सातपुस्ता खोजी निति गर्ने गरेको पाईदैन । जसरी पौडेलले पनि नगर्नु स्वभाविकै मान्न सकिन्छ ।

 

त्यसमाथि उक्त जग्गा खरिद गरी नामसारी गर्ने छैठौ व्यक्तिका रुपमा नविन पौडेल रहेका देखिन्छन । भरत समसेरकै नाममा रहदा अर्थात सरकारले उक्त जग्गा जफत नगर्दादेखि नै मोहीका रुपमा माया प्रजापती रहेको भुमि सम्बन्धि ऐन २०२१ ले ब्यबस्था गरेअनुसार मोहीले भर्ने फारम अनुसुचि २ को व्यबस्था अनुसार लिखतमै देखिन्छ । सरकारले उक्त जग्गा जफत गरेपनि मोही सोहीअनुसार कायम भएको देखिन्छ ।

 

सको अर्थ जफत भएको जग्गा सरकारका नाममा गयो । तर मोही यथावत नै रह्यो । किनकी त्यस बखत सरकारको नमको जग्गामा पनि मोही लाग्ने ब्यबस्था कायम थियो । त्यसमाथि उक्त जग्गाको हकमा सरकारको नाममा आउनु अघिदेखि नै मोही रहेको देखिन्छ । २०६७ सालमा भरत समसेरको जग्गा सरकारले फिर्ता गरपछि जग्गा धनी र मोहीबीच जग्गा बाँडफाँट भयो साविकको किक्ता न.ं २९ मोही बाँडफाँट हुँदा कित्ता काट भई कि.नं. ४४ मोही माया प्रजापती र कि.नं. ४५ राणा परिवारको नाममा भयो ।

 

मोहीयानी हकका रुपमा माया प्रजापतीको नाममा रहेको एक रोपनी भन्दा बढी जग्गा मायासंगै कृष्ण सुवेदी र शोभाकान्त ढकाल नाममा आयो । पछि माया प्रजापती, मचाबाबु प्रजापती हुँदै सुवेदी र ढकालको संयुक्त नाममा नामसारी भएको मालपोत कार्यालय डिल्ली बजारको श्रेस्ता र मठमा उल्लेख छ ।

 

रामकृष्ण सुवेदी र शोभाकान्त ढकाल हुँदै माधवी सुवेदी र उमा ढकालको नाममा नामसारी भई श्रेस्ता र लालपुर्जा बनेको उक्त एक रोपनी भन्दा बढी जग्गा मध्ये आठ आना जग्गा २०६१ पुस ११ गते रजिस्ट्रेसन पास गरी प्रचलित कानुनअनुसार नविन पौडेलले खरीद गरी नामसारी भएको देखिन्छ । जुन जग्गा नयाँ नापी हुनुका साथै हाल साबिकसमेत भएको जग्गा हो । सरकारी लिखत जग्गा मोही किटान भएर साबिक भएर, मोही कायम भएको र मोहीले मोहीयानी हक अनुरुप आफुले प्राप्त गरेको जग्गा हो ।

 

सरकार आफैले मोही कायम गरेर लालपुर्जा प्राप्त भएको जग्गा भएकोले यो जग्गा वैधानिकता माथि प्रश्न चिन्ह उठाउनु कुनै हिसावले पनि उपयुक्त र जायज मान्न सकिदैन । अर्थात नबिन पौडेलको नाममा रहेको जग्गा मोहीले मोहीयानी हकवापत प्राप्त गरको जग्गा बेचबिखन हुँदै आएको जग्गा हो । जुन जग्गा आमरुपमा प्रचार गरिरहेको जग्गाभित्र पर्दैन ।

 

अझ अर्को महत्वपुुर्ण बिषय मोहीका बिषयमा २०६६ चैत्र र २०६७ बैशाखमा मन्त्रिपरिषदको बैठकले पनि सम्बोधन गरेको छ २०६६ चैत्रमा समरजंग कम्पनीको नाममा दर्ता भई मोही लागेको जग्गा रोपनि २७– ७–२– १ मध्ये प्रम निवासक्षेत्र वस्तार गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ भने २०६७ बैशाखमा निवास नाममा दाखा दर्ता गर्ने र कम्पाउन्डभित्र परेका मोहीलाई पनि मोही वापत पाउने आधा जग्गा कम्पाउन्ड बाहिर शोधभर्ना दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

 

यसरी कित्ता नं. अनुसार मोहीले कमाउदै आएको जग्गालाई अहिले मोहीयानी हकअनुसार प्राप्त गरी पुर्जासमेत बनेर नामसारी समेत हुँदै आएको जग्गालाई अहिले जनमानसलाई दिगभ्रमित पार्ने गरी एउटै डालोमा हालेर नियोजित ढंगले प्रचार गरिनु ‘ग्य्रण्ड डिजाईन’ अनुसार भएको हो कि भन्ने गंभीर आशंका पैदा हुनु स्वभाविक नै हो ।

 

आशंका भए मेटाउन सकिन्छ, अन्यौलता हटाउन सकिन्छ तर पूर्वाग्रह नत मेटाउन सकिन्छ, नत हटाउन नै । पौडेल पुत्रका नाममा रहेको जग्गाका विषयमा आशंका भए सम्बन्धित पक्ष र निकायले मेटाउन पहल गर्नुपर्छ, अन्यौलता भए हटाउन पहल गर्नुपर्छ । कुनै विषयमा कुरा उठान भएपछि बैठान गर्न जरुरी छ । तर पूर्वाग्रह साँधेर नियोजित ढंगले अँध्यारो कोठामा बसेर आक्रमण गर्ने नियतका साथ लागेको भए समयक्रमसँगै त्यो पर्दा खुलेपछि सबै कुरा छर्लङ्ग हुनेछ । तर सरसर्ती हेर्दा मोहीको वैधानिक र प्रचलित कानुन अनुरुप खरिद गरी ल्याएको जग्गामाथि प्रहारको निशाना बनाउनु महासचिव पौडेलमाथिको आक्रमण त हुँदै हो । त्यसमाथि नेकपामाथिको प्रहार पनि हुनसक्छ, जुन समयक्रमले बताउने नै छ ।

 

अहिले जबर्जस्त ढंगले महासचिव पौडेलको संलग्नता रहेको गोयवल्स शैलीले प्रचार गरी सके पौडेललाई महासचिवबाट राजिनामा दिन बाध्य पार्ने, यो सफल नभएमा पौडेलको तेजावोध हुनेगरी हुर्मत लिने सकुनीहरुको डिजाइन पार्टी भित्रैबाट पनि भइरहेको आशंकालाई विभिन्न घटनाक्रमले पुष्टि गर्दैछन भने नेकपा र नेकपाको सरकारलाई बदनाम गर्ने बाह्रमासे तत्वहरु सल्बलाईरहेको छन् । यद्यपि बालुवाटार जग्गा प्रकरणमा महासचिव पौडेलले आफ्ना कुराहरु खुलस्त ढंगले सार्वजनिक गरेका छन् ।

 

पौडेलले सार्वजनिक जग्गाको संरक्षण गर्ने प्रणाली बनाउन वर्तमान सरकारले संचालन गरिरहेको अभियानलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको बालुवाटार स्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिको नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले हालै गरेको निर्णयको स्वागत र समर्थन गरेका छन् । साथै महासचिव पौडेलले आफू सत्य र तथ्यको पक्षमा उभिएको बताउँदै आफूमाथि लगाइएका आरोपहरुको पुष्टि गर्न चुनौति दिएका छन् । यसले उनले टेकेको धरातल सही छ भन्ने प्रष्टै देखिन्छ ।

 

बालुवाटारको अन्य जग्गा भूमाफियाले जालसाजी ढंगले सरकारीलाई व्यक्तिको नाममा दर्ता गरेको भएपनि नविनको नामको जग्गाका विषषयमा उक्त विवादित जग्गाभित्र पर्ने देखिंदैन । यदि यो कानुनी हिसाबले पुष्टि भयो भने महासचिव पौडेलको चरित्र हत्या गर्न खोज्ने पीडाको क्षतिपुर्ति कसले र कसरी दिने ? यो अहम र गम्भीर प्रश्न हो । राज्यको सम्पत्ति र राजनीतिक नेतृत्वको नैतिक मूल्यका पक्षमा सार्वजनिक चिन्ता र चासो राख्नु, रहनु स्वाभाविक नै हो । जुन सराहनीय कुरा हो । तर जुन ध्येय र सिलसिलाका साथ सत्य र तथ्यको गहिराईमा नपुगी अमुक व्यक्तिलाई निशाना बनाएर नङ्ग्याउने प्रयत्न गरिंदैछ ।

 

यसले समाजलाई हामी कता लैजाँदैछौं ? यो पनि चिन्ताको विषय हो । नेपाली मिडियाहरु पनि सत्य तथ्य खोज्ने भन्दा पनि भीडको पछाडी कुद्ने प्रवृत्ति बढ्दो छ । परिणामतः यसले अन्ततः विश्वासनीयतामाथि नै प्रश्नचिन्ह खडा गर्छ । बेलाबखत मूलधारका भनिने मिडिया हाउस पनि चुक्ने गरेका छन् । यदि त्यस्तो नहुँदो हो त आज उपेन्द्र महतो, विनोद चौधरी वा कैलाश सिरोहिया भन्दा धनी व्यक्ति भएर समाजमा प्रतिष्ठित हुन्थे होला रसेन्द्र भट्टराई ।

 

त्यस्तै दिलशोभा श्रेष्ठ दिदीमाथि यतिबेला साँच्चिकै अपराधी बनेर जेल जीवन बिताइरहेकी हुन्थिन् । त्यसैगरी अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की पनि नेपालमै हुन्थे होला वा निर्मला पन्तको हत्यारा पत्ता लागेर यतिबेला जेलमा हुन्थे होला । यसर्थ नेपालका मिडियाले पनि आफूलाई रिभ्यु गर्नुपर्ने अवस्था छ ।

 

एकातिर यस्तो अवस्था छ भने अर्कातिर अहिले जे जसरी महासचिव पौडेलबिरुद्ध दुष्प्रचार गर्दै चित्रित गरिंदैछ । पौडेलको सार्वजनिक छवि त्यस्तो पटक्कै छैन । सबैसँग समान व्यवहार गर्ने, हत्तपत्त कसैलाई नचिढ्याउने, मिलनसार, सबैलाई समन्वय गर्न सक्ने समन्वयकारी, बढी नबोल्ने, शालिन र शिष्ट स्वभावका पौडेल त्याग र समर्पण गर्न सक्ने गुण भएका नेता हुन । सरल र सहज शैलिका पौडेल यस्ता कार्यमा संलग्न हुुनुपर्ने आशंका कुनै पनि दृष्टिकोणबाट गर्न सकिदैन ।

 

न त उनको विलासीतापुर्ण जीवन देखिन्छ, न त घरपरिवारको तडक भडक नै । पौडेल श्रीमती सामान्य रहनसहन मै हिडिरहेको देख्न सकिन्छ भने एक छोरा र एक छोरीका पीता पौडेलले छोराछोरीका लागि यस्तो कार्य गर्नुपर्ने आबश्यकता नै छैन । किनकी छोरा आफ्नै पेशामा रमाएका छन् बुहारी सरकारी र आकर्षक सरकारी सेवामा कार्यरत छन् भने छोरीको सम्पन्न परिवारमा बिबाह भइसकेको छ ।

 

यसर्थ पनि भन्न सकिन्छ कि वालुवाटारको जग्गा प्रकरणमा पौडेलले पदीय दुरुपयोग गरेर खरीद गरेको हाईन । यदी पदिय दुरुपयोग गरेको सही मान्ने हो भने १ सय १३ रोपनीको चलखेल हुदा किन आठ आना लिन्थे होला ? त्यसो गर्नुपर्ने उनलाई कुनै जरुरत नै छैन । तर भैदियो के भने आठ आनाको त्यान्द्रो समायर पौडेलबिरुद्धको रोटी सेक्न सकिन्छ कि भन्नेहरु विभिन्न ढंगले एकैपटक प्रहार गर्नु आश्चर्यजक बिषय बनेकोे छ ।

 

जे होस यस बिषयमा सत्य तथ्य कुरा सम्बन्धित पक्ष र निकायले सार्वजनिक गर्न जरुरी छ । यदि समयमै यसो हुन गयो भने धेरै कुराको पटाक्ष हुनेछ । सरकारले भने जग्गा हडप्ने भुमाफिया भुमाफियालाई सघाउने कर्मचारी तथा यो अपराधजन्य कार्यमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउन खुट्टा कमाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...