विष्णु पौडेल र बामदेव गौतमबिच गोप्य भेट, महासचिव पद धरापमा



हाम्रो इकोनोमि

 

 

बालुवाटारको सरकारी जग्गा काण्डमा मुछिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई पदबाट राजीनामा दिन दवाव परेको छ ।

 

नेकपाका दोस्रो तहका नेताहरूले पौडेललाई महासचिव पदबाट राजीनामा दिएर छानविनलाई निष्पक्ष बनाउन सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । नेकपाकै नेताहरूबाट राजीनामाका लागि दवाव परेपछि तनावमा परेका पौडेलले आफ्नो पक्षमा माहोल बनाउन खुमलटार र भैँसेपाटीसँग निकटता बढाएका छन् ।

 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद जस्तो गम्भीर प्रकरणमा महासचिव पौडेलको नाम जोडिएपछि त्यसप्रति पार्टी मौन बस्न नहुने नेताहरूको भनाइ छ ।

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गरिरहेकाले ती निकायलाई निष्पक्षताका साथ काम गर्ने वातावरण बनाउन पनि महासचिव पौडेल पदबाट अलग हुनुपर्ने उनीहरूको धारणा छ ।

 

पौडेल स्वयंले पद त्याग गरेर छानविनका लागि सहयोग गर्नुपर्ने नेकपाका नेता एवम् सांसद विशाल भट्टराईले बताएका छन् । एउटा निजी टेलिभिजनसँगको कुराकानीका क्रममा भट्टराईले सरकारी जग्गा खरिद प्रकरणमा अनुसन्धान र छानविन गर्न सबैले बाटो बनाइनदिनुपर्ने बताएका हुन् । भट्टराई संस्थापन निकटका नेता मानिन्छन् ।

 

नेकपाका नेता एवम् सांसद मेटमणि चौधरीले पनि महासचिव पौडेललाई हटाएर छानविन गर्नुपर्ने बताएका छन् । चौधरी वरिष्ठ नेता माधवकुमार नेपाल निकटका हुन् । सरकारी जग्गा किनबेच जस्तो जघन्य अपराधका विषयमा दोषी पाइए जोसुकैलाई कार्वाही गर्नुपर्ने नेकपाका नेता र सांसदहरू बताउँछन् । नेतृत्वको नाम जोडिएकाले यस विषयमा छानविन गरी तत्काल सत्य तथ्य सार्वजनिक गर्नु पर्ने उनीहरूको भनाइ छ ।

 

पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको सरकारी छानविन टोलीले ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा भूमाफियाले व्यक्तिको नाममा सारी विभिन्न व्यक्ति र संस्थालाइ बेचबिखन गरेको र कतिपय उच्च नेता तथा प्रभावशाली व्यक्तिलाई पनि दिएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।

 

नेकपाका महासचिव पौडेलले छोरा नवीन पौडेलका नाममा ८ आना जग्गा रहेको र वैधानिक रूपमै कारोबार गरेको दावी गरेका छन् । यस विषयमा नेकपाको आधिकारिक धारणा सार्वजनिक भएको छैन । पौडेलमाथिको कारवाहीबारे पार्टीमा औपचारिक प्रस्ताव भने दर्ता गरिएको छैन ।

 

बिहीबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारी जग्गा खरिद प्रकरणमा जोसुकै भएपनि दोषी पाइए कारबाही हुने बताएका छन् । उनले अनुहार हेरेर कारबाहीबाट कोही पनि बच्न नसक्ने बताएका छन् ।

 

स्रोतका अनुसार महासचिव पौडेलले नेकपाको संस्थापन पक्षबाट जग्गा विवाद पारेर हटाउन खोजेको गुनासो आफू निकटका नेताहरूसँग गर्दै आएका छन् ।

 

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफूलाई बचाउन कुनै पनि पहल नगरेको बरु आफू निकटका नेताहरूलाई उचालेर महासचिव पदबाट हटाउन खोजेको बताउने गरेका छन् ।

 

संस्थापन समूह आफूविरुद्ध लागेको अनुभूति गरेका महासचिव पौडेल कारबाहीबाट जोगिन खुमलटारमा बस्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भैंसेपाटीमा बस्दै आएका बामदेव गौतमसँग सम्पर्क बढाएको आरोप छ ।

 

वैशाख ९ गतेभित्र नेकपाको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । त्यो बैठकमा पौडेललाई महासचिव पदबाट हउटाउने प्रस्तावले प्रवेश पाउन सक्ने स्रोतको भनाइ छ ।

 

यो कारबाहीबाट जोगिन पौडेलले प्रचण्ड र गौतमसँग बाक्लो सम्बन्ध बनाएको उच्च स्रोतले जनाएको छ । पौडेललाई बचाउन भन्दै केही दिन अगाडि गौतमले काठमाडौंको एउटा होटेल (सम्पर्क कार्यालय) मा गोप्य परामर्श समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...