नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे



हाम्रो इकोनोमि

 

विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको  छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए । प्रहरीका अनुसार छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर ४२ लाख रुपैयाँ जुटाएका थिए । रकम लिएर खड्का गायब भएपछि मात्रै किशोरी र उनका अभिभावकले ठगिएको महसुस गरेका थिए ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा पारी किशोरी र उनका अभिभावकलाई घर न घाटको बनाएको बताए । उनले भने, ‘यसले किशोरीसँग विवाह गर्छु भन्यो । अमेरिकाबाट भर्खरै आएको भनेपछि किशोरी पनि लोभिइन् । किशोरीले अभिभावकसँग छलफल गरिन् ।

 

विवाहपछि छोरी अमेरिका जाने भएपछि अभिभावक पनि मक्खै परे । यही क्रममा खड्काले किशोरीका अभिभावकसँग ४२ लाख रुपैयाँ माग्यो । घर बैंकमा राखेर रकम झिके । रकम पाएपछि हुनेवाला ज्वाइँ (खड्का) बेपत्ता भए, बल्ल आफू ठगिएको भेउ पाए ।’

 

रकम लिएलगत्तै बेपत्ता
प्रहरीका अनुसार खड्काले किशोरीलाई साथीको विवाहमा भेटेका थिए । सामान्य परिचयका क्रममा खड्काले किशोरीलाई ‘भर्खर अमेरिकाबाट आएको’ भने । किशोरी नजिकिइन् । खड्काले गफ दिँदै गए । टेलिफोन नम्बर साटासाटपछि उनीहरू छुटिए । त्यसपछि सामाजिक सञ्जालमार्फत नजिकिन थाले । टेलिफोनमा गफ हुन थाल्यो । खड्का किशोरीको घरमा पुगे । उनी किशोरीकी आमासँग नजिकिन थाले ।

 

केही सातापछि उनले किशोरीसँग विवाहको प्रस्ताव राखे । अमेरिका जाने प्रलोभनमा किशोरी ऊसँग विवाह गर्न राजी भइन् । अभिभावकसँग पनि किशोरीले विवाहको कुरा गरिन् । छोरी अमेरिका जाने भएपछि  अभिभावक पनि राजी भए । त्यसवेलासम्म किशोरी खड्काको मायाजालमा चुर्लुम्म डुबेकी थिइन् ।

 

लिभिङ टुगेदरमा रहेका उनलाई अभिभावकले पनि रोकतोक गरेनन् । यही क्रममा खड्काले अमेरिकाबाट रकम आउन ढिला भएको र केही आवश्यकता परेको किशोरीका अभिभावकसँग भने । किशोरीका अभिभावकले घर बैंकमा बन्धक राखेर ४२ लाख रुपैयाँ झिके । रकम खड्काको हातमा थमाए । रकम लिएलगतै खड्का बेपत्ता भए । त्यसपछि पो उनीहरूले ठगिएको भेउ पाए ।

 

खड्काविरुद्ध ठगी र जबर्जस्ती करणी मुद्दा
परिसरका प्रवक्ता डिएसपी बोगटीले भने, ‘यसले ४२ लाख रुपैयाँ ठग्यो । किशोरीलाई झुटा आश्वासन दिएर शारीरिक शोषण पनि ग-यो । त्यसकारण खड्काविरुद्ध ठगी र जबरजस्ती करणीको मुद्दा दायर गरेका छौँ । घटना सम्बन्धमा थप अनुसन्धान हुन अझै बाँकी छ ।’

 

पक्रिन खोज्दा प्रहरीकै मोबाइल लुटेर धम्की
विशेष सूचनाका आधारमा खड्का नयाँ बसपार्क क्षेत्रमा रहेको खुल्यो । प्रहरी पक्राउ गर्न नयाँ बसपार्क पुगे । सार्वजनिक बसमा यात्रा गरिरहेको अवस्थामा फेला परे । प्रहरीले बस रोक्यो ।

 

पक्राउ गर्न खोज्दा प्रहरीको मोबाइल नै लुटेर खड्का फरार भए । सोही मोबाइलबाट फोन गरी प्रहरीका हाकिमलाई धम्काउन थाले । अनुसन्धानमा खटिएका प्रहरीका परिवारलाई समेत टेलिफोनबाट धम्की दिन थाले । उनले पीडित पक्षलाई पनि धम्की दिने गरेको प्रहरीले बताएको छ । करिब तीन महिनाको प्रयासपछि खड्का पक्राउ परे ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...