यसकारण भएको रहेछ लुक्लामा विमान दुर्घटना
नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते, बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो।तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको विमान दुर्घटना भएको खबरले अधि कांशलाई दुखित बनायो।

पर्यटन सिजन भएकाले तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला यतिबेला निक्कै व्यस्त रहन्छ।
सोहीअनुसार आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण भइरहेको थियो। त्यति नै बेला बिहान ९:२० मा समिट एयरको ९ एन– ए एम एच विमान दुर्घटनामा पर्यो।
प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बुका अनुसार रनवेको दायाँ भागमा रहेको हेलिकोप्टर पार्किङस्थलमा मनाङको हेलिकप्टर ल्यान्ड भएको केही समयमा नै एउटा विमान टेक अफ गरेको थियो।
त्यतिबेलासम्म समिट एयर रनवेको बायाँ पट्टी रहेको पार्किङस्थल मा नै टेक अफका लागि तयार भएको थियो।
लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उडेको विमान धावन मार्गको दुई सय मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरिराखिएको मनाङ र श्रीएयरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बू बताउँछन्।
‘बिहानैदेखि हामी सँगै थियौ।’ प्रहरी निरीक्षक लिम्बूले भने, ‘असई साब केही मिटर मात्र तल हुनुहुन्थ्यो, हामी पनि त्यतै जाँदै थियौँ, प्लेनको आवाज अलि फरक आयो, फर्केर हेर्दा हामीतिर विमान आउँदै रहेछ, माथिल्लो साइट कुनातिर लाग्यौँ,तर असई साब पछाडि फर्किनुभएन क्यारे, उहाँलाई किच्दै हेलिप्याडमा पुगेर हेलिलाई समेत क्षति पुर्यायो, हामी तत्काल उद्धारमा जुट्यौँ।
’उनले भने,’दुईजना असई साबलाई हेर्दा हेर्दै बिमानले किच्यो, खड्का साबको तत्काल मृत्यु भयो, श्रेष्ठ साब गम्भीर घाइते हुनुभयो।’ प्रहरी निरीक्षक लिम्बूले भावुक हुँदै भने।
‘केही मिटर दूरीमा रहनुभएका सहकर्मीको सेकेण्डमै मृत्यु भयो तत्काल रेस्क्युमा खटियो, घाइतेलाई पाँच मिनेटमै काठमान्डौ पठायौँ, अनि मृतकलाई केही समयपछि।’
दुर्घटनामा समिट एयरका सहचालक काठमाडौंको चावहिलका ३४ वर्षिया सुजित ढुंगाना, दो ल खा घर भई पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक ३९ वर्षीया राम बहादुर खड्काको घटनास्थलमै मृत्यु भयो।
भोजपुर जिल्ला घर भएका प्रहरी सहायक निरीक्षक ४२ वर्षिया रुद्र श्रेष्ठको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बूले बताए।
प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रमुख हुन् भने रुद्र श्रेष्ठ विमानस्थल सुरक्षा गार्ड प्रमुखको जिम्मेवारीमा कार्यरत थिए। उनीहरु बिहानैदेखि विमानस्थलको सुरक्षाको लागि अन्य सहकर्मीसहित खटिएको प्रहरी निरीक्षक लिम्बू ले बताए।
प्रहरी निरीक्षक लिम्बू इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख हुन्। तर वसन्त ऋतुको यो याममा पर्यटकको चाप अत्याधिक हुने भएपछि लुक्ला विमानस्थलमै खटिने गरेको उनको भनाइ छ।
लुक्ला विमानस्थलमा जनशक्तिसमेत कम हुने भएकाले ड्युटीमा समेत समस्या हुनेगरेको प्रहरीले बताउने गरेका छन्।
ड्युटीमा खटिएका प्रहरीले बिहानैदेखि केही नखाईकन दिउँसो विमानको उडान तथा अवतरण बन्द भएसम्म बस्नुपर्ने प्रहरी निरीक्षक लिम्बूले बताए।आइतबार बिहान पनि सबैजना भोकै रहेको उनले सुनाए।
चियासमेत नखाईकन सुरक्षामा बसेको साथीको ज्यान गयो।उ नले भने, ‘भाग्यले बाँचियो, मेरै आँखैअगाडि केही मिटरको फरकमा दुईजना सहकर्मी गुमाउँनुपर्दा एकदमै दुख लागेको छ।’
लिम्बूले भने, ‘तत्काल त उद्धारमा लागियो, केही महसुस भएन तर अहले चाहिँ नयाँ जिन्दगी पाएँछु भन्ने लागिरहेको छ।’ ‘मैले शकु शल भएर नयाँ जीवन पाएँ। उनले भने, ‘घाइतेले पनि नयाँ जीवन पाएको भन्दा फरक पर्दैन।’
घाइते हुनेहरुमा काठमाडौं कालिमाटी टोल घर भएका समिट एयरका चालक रवीनाथ रोकाय, ललितपुर उपमहानगरपालिका बैसेपाटी ठेगाना भएका मनाङ एयरका चालक ४८ वर्षीय चेतबहादुर गुरुङ, मनाङ
एयर लुक्लाका स्टेशन म्यानेजर खुम्बुपासाङ ल्हामु गाउँ पालिका-२ का ४३ वर्षिया लाक्पा छिरिङ शेर्पा र मनाङ एयरकै कर्मचारी खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ।विश्वकै जोखिमपूर्ण विमानस्थलहरुमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाई सामान्य विमानस्थलको भन्दा निकै कम (५२७ मिटर) मात्र छ।


