चिउरा र चाउचाउले छाक टार्दै आँधीपीडित



हाम्रो इकोनोमि

 

फेटा गाउँपालिका–६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् । गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले बिहानको खाना अबेरसम्म खान नपाएपछि भोक मार्न चटपटे खाएको बताइन् । ‘भुजा र चिउरा चपाउँदा चपाउँदै मुख दुखिसक्यो,’ उनले भनिन् ।

 

शुक्रबार साँझसम्म सञ्चालनमा आएको मेस शनिबार बिहानदेखि बन्द छ । टेन्टमा चामल र दालका बोरा छन् । पकाउने भाँडो र चुलो छैन । ‘हावाहुरीले घरभित्रको केही सामान बाँकी राखेन,’ उनले भनिन्, ‘चामल र दाल पायौं, पकाऊँ भने भाँडो छैन, राहतको रूपमा बाल्टिन र जग मात्र पायौं ?’

वीरगन्जको नारायणी अस्पतालमा ५ दिनको उपचारपछि शुक्रबार पुरैनियास्थित घरमा पुगेकी सालमु खातुनले शनिबार बिहानको खाना कहाँ खाने भनेर अपराह्नसम्म टुंगो थिएन । उनले शुक्रबार साँझको खाना मेसमै खाएकी थिइन् । अपराह्न कुच्चिएको बाल्टिन लिएर माहिली छोरीसँग उनी पानीको जोहो गर्न निस्केकी थिइन् ।

उनलाई सामान्य हिँड्डुल गर्न पनि समस्या भइरहेको थियो । हावाहुरीमा घर भत्किँदा उनी घाइते भएकी थिइन् । उनले भनिन्, ‘मेस बन्द भएछ । कहाँ खाने ठेगान छैन । परिवारमा ६ जना छौं ।’ पुरैनियाकै सालमा खातुनले आफ्ना दुई बच्चालाई बिहानको खानाका लागि चाउचाउ र बिस्कुट दिएको सुनाइन् ।

कलैया उपमहानगरपालिकास्थित एक सहकारीले शुक्रबार फेटा गाउँपालिकाको भरबलियामा आफ्ना सदस्य महिलाहरूलाई भेला गरी विपतका बेला आवश्यक सामग्रीको बारेमा छलफल गर्दा सबै महिलाले भाँडाकुँडा र चुलोको माग गरेका थिए । ‘हरेक परिवारलाई भाँडा र चुलो चाहिएको छ,’ सालमा भन्छिन्, ‘कति भुजा, चिउरा र चाउचाउ खानु ।’

स्थानीय ३२ वर्षीय कौसर आजमले खाद्यान्न पाए पनि पकाउने भाँडाकुँडा नभएकाले भुजा र चिउरा खानुपर्ने बाध्यता रहेको बताए । गाउँमा आएको राहत पनि समानुपातिक हिसाबले वितरण नभएको उनको आरोप छ । ‘बलिया हुनुखानेले सधैं राहत पाएका छन्,’ आजमले भने, ‘हामीले दुई दिनदेखि केही पाएका छैनौं ।’ एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भनिए पनि त्यो प्रभावकारी रूपले लागू नभएको उनले दाबी गरे ।

फेटा गाउँपालिका ६ का वडा अध्यक्ष जाकिर हुसैन मियाँसमेत हावाहुरीमा घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको छ । मेस बन्द भएपछि पीडित चटपटे, चाउचाउ र बिस्कुट खाइरहेको विषयमा उनले भने, ‘खुट्टा भाँचिएकाले त्यत्ति घुम्न सकेको छैन, म पत्ता लगाउँछु ।’ दुईवटा मेस सञ्चालनमा रहेको उनले दाबी गरे । भाँडाकुँडाबारे सम्बन्धित निकायमा कुरा भइरहेको उनले जनाए । ‘दुई दिनमा भाँडाकुँडाको समस्या समाधान भइहाल्छ,’ उनले भने, ‘त्यसपछि पीडितहरू आफैंले खाना पकाएर खान सक्छन् ।’

राहत बाँड्न आउनेहरूलाई पनि खाद्यान्नको सट्टा भाँडाकुँडा र चुलो वितरण गर्न आग्रह गरिएको उनले जनाए । केन्द्रबाट त्रिपालबाहेक केही राहत नआएको उनले गुनासो गरे । प्रदेश सरकारको राहत पनि गाउँपालिका कार्यालयबाट वडासम्म पुगेको छैन । ‘भीषण हावाहुरीपछि पुरैनियामा देशका ठूलाठूला नेता आएर छिटोछिटो व्यवस्था मिलाउँछु भने तर त्यो कहिले हुन्छ थाहा छैन,’ वडा अध्यक्ष मियाँले भने, ‘यस वर्षको बजेट पुनर्निर्माणमा लगाउन गाउँपालिकाका हाकिमलाई आग्रह गरेको छु, सडक र नालाभन्दा जरुरी पुनर्निर्माणको छ ।’
कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...