तीन बर्षमा सम्पन्न गर्ने भनेको मध्यभोटेकोशी ६ बर्ष ५० प्रतिशत मात्र काम, हेर्नुहोस भिडियो
सिन्धुपाल्चोकमा निर्माण भईरहेको मध्यभोटेकोशी जलबिदुत आयोजना तीन बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको थियो । यो आयोजना निर्माण थालेको ६ बर्ष पुगिसक्यो । अहिले पनि पचास प्रतिशत काम सकिएको छैन । कम्पनीको नाममा यहाँका राजनीतिक नेतादेखि सांसदहरुले पनि मनग्य फाईदा लिईरहेका छन् ।
तर, काम छिटो सक्ने बिषयमा भने कसैको ध्यान भएको छैन । सर्वसाधारणकोसमेत शेयर रहने यो आयोजना धेरैका लागी दुहुनो गाईनै भएको छ । व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने लक्ष्य राखिएको आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु भएको हो ।
कामको ढिलाईले अहिले २१ अरव लगानी पुग्ने अनुमान गरिएको छ । यही अनुपातमा काम हुने हो भने आयोजना सम्पन्न हुँदा ३० अरव रुपैयाँ लगानी पुग्ने भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको अहिलेसम्म ४५ प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।
आयोजनामा चिलिमेको ३८ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक÷एक प्रतिशत संस्थापक सेयर रहने छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ प्रतिशत र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत सेयर दिइने गरी आयोजनाको काम सुरु भएको हो ।
यो जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाबासी र सर्वसाधरणसमेतको सेयर लगानीमा १ सय २ मेगावाट क्षमताको निर्माणाधीन छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन गर्ने योजना रहेको छ । चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना जिल्लामा सबैभन्दा ठूलो हो ।
आयोजनाको बाध साविक मार्मिङ गाविस ९ (हाल भोटेकोशी ५ चाकुमा ) र पावर हाउस बाह्रबीसे नगरपालिकाको जम्बुमा रहनेछ । यसको सुरुङको लम्वाई ७.२ किलोमिटर लामो रहेको छ । पाँच बर्षमा आधा काम भएन तीन बर्षमा सक्ने योजना रहेपनि अहिले आयोजनाको बाँध स्थलमा खन्ने र स्लोभ बनाउने कार्य सम्पन्न गरी मुख्य बाँध निर्माण गर्न नदी डाइभर्सन कार्य गरिएको छ ।
सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ मात्रै खनिएको छ । विद्युतगृहका लागि खन्ने काम सकिएको छ । तर, अहिले पुनः काम रोकिएको छ । कूल चार किमी लामो २२० केभीको ट्रान्समिसन लाइनको सर्वेक्षण सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । अहिले आयोजनाले विसं २०७६ को असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
तर, काम रोकिएका कारण यो समयमा काम सम्पन्न हुने अवस्था छैन । हालसम्म सो आयोजनाको समग्र निर्माण कार्य प्रगति करीब ४२ प्रतिशतमा रहेको कम्पनीलेनै जानकारी दियो । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट वार्षिक दुई अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ । स्थानीयवासीका अनुसार कामको जिम्मा पाएको चिनियाँ ठेकेदार पक्ष र आयोजनकै कारण काम ढिलाई भएको हो ।
‘कामको गती बढेको देखिएन,मैले १ महिनादेखि कामको अनुगमन गरे तर, यही तरिकाले काम गर्ने हो भने दश बर्षमा पनि काम सकिँदैन’,–भोटेकोशीका गाउँपालिकाका अध्यक्ष पौडेलले भने,–‘स्थानीयको लगानीमा आयोजनाको कर्मचारी मोटाउने काम मात्र भईरहेको छ ।’ आयोजनाले भने जुरे पहिरो, महाभूकम्प, नाकाबन्दी एवं बाढीका कारण निर्माणमा ढिलाइ भएको प्रतिकृया दिएको छ ।


