होटलमा यौन धन्दा चलाउँने ४ जना पक्राउ
गत चैत ३ गते १६ बर्षकी किशोरी बेपत्ता भएको सूचना प्रहरीमा सात दिन पछि पुग्यो । घरमा सामान्य विवाद भएपछि हिँडेकी किशोरी उनी घर नफर्किएपछि आफन्तले चैत १० गते प्रहरीमा खबर गरे ।
सूचना पाए लगतै प्रहरीले खोजी तिब्र बनायो । किशोरी बेपत्ता भएका कारण अप्रिय घटना हुन सक्ने संका पनि थियो । तर घरमा झगडा गरी निस्किएकी युवतीलाई होटलमा पु¥याएर अवैध यौन धन्दामा लगाएको पाइयो ।
किशोरी हराएको उजुरी परेपछि अनुसन्धान गर्दा काम लगाइदिने भन्दै विराटनगर– ४ मा रहेको वेलकम होटलमा अवैध यौन पेशामा लगाउन खोजेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
किशोरीलाई सिरहासम्म पुर्याएर अवैध कार्यमा लगाएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार एक समूहले किशोरीलाई सिरहाको लहान, सुनसरीको इटहरीका होटलहरुमा केही दिन राखेर विराटनगर ल्याइएको थियो । तर चैत १७ गते विराटनगरबाट उत्तरतर्फ लैजादै गर्दा प्रहरीले बरगाछी चोकबाट किशोरीको उद्धार गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।
किशोरीलाई लैजान प्रयोग भएको बा १८ च ३१०६ नम्बरको कारसहित चालक सिरहा लहान–७ घर भई विराटनगर ६ बस्दै आएका २९ बर्षका नुर जमाल, विराटनगर– ४ स्थित वेलकम होटल सञ्चालक ५० बर्षका आशिष महतो र ४० बर्षकी सुशीला अधिकारीलाई पक्राउ गरेको हो । होटलसम्म पुर्याउने सिरहा धनगढीमाई नरगरपालिका– ११ नैनपुर घर भई विराटनगर बस्दै आएका सन्तोष परियारलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाइसकेको छ । पक्राउ परेका चारै जनालाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गराइसकेको मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
वर्किङ भनेर भिजिट भिसामा विदेश पठाएको आरोपमा महिला पक्राउ
प्रहरीले वर्किङ भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीका लागि मान्छे पठाएको अरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा छिन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालका अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई वर्किङ भिसामा पठाउने भनेर झुक्याएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न भएको खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
उनी पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमा काम गर्थिन् । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीको भनाइ छ ।
यसअघि धनुषाका मोहम्मद गुलाम राइन र सबिर राइनलाई नेपाल वायु सेना निगमको उडानमार्फत दुबई जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले राकेको थियो ।

त्यसपछि उनीहरुलाई वर्किङ भिसामा नभई भिजिटमा मात्र विदेश पठाउन खोजिएको खुलेको थियो । त्यसैले ठगी कसुर अन्तरगत जाहेरी लिएर प्रहरीले अनुसन्धान थालेको थियो । थापाबाट अन्य व्यक्ति पनि ठगिएको हुनसक्ने आशंकामा प्रहरीले जानकारी गराउन आह्वान गरेको छ ।


