नेपाली कलाकारको पारिश्रमिक : पाउने एउटा, हल्ला अर्कै !



 

केहि महिनाअघि बागबजार नजिकैको होटल हार्दिकभित्र निर्माणाधिन एक चलचित्र टिमको भेटघाट कार्यक्रम थियो ।

निर्देशक, निर्माता लगायत केहि कलाकारको टिम पहिल्यै उपस्थित भएपनि मुख्य अभिनेता केहि ढिला गरि सुटुक्क भित्र पसे ।

उनको पारिश्रमिकको विषयमा एकछिन गफगाफ भयो । ति अभिनेताले काम गर्न सहमति त जनाए तर, एउटा सर्त राखे ।

उनको माग थियो, तुरुन्तै आधा रकम दिनुपर्ने, छायाँकनपुर्व शर्तअनुसारको सबै रकम पुरा गरिदिनुपर्ने र बजारमा १० लाख रुपैंयाँमा साइन गरेको भन्नुपर्ने । यो शर्त निर्माण टिमले मानेपछि यि अभिनेताले तुरुन्तै साइन गरे ।

सोहि किसिमको समाचार मिडियामा व्यापक सार्वजनिक भयो । चलचित्रको छायांकन भयो । प्रदर्शन भयो । यद्यपी, नेपाली चलचित्रले जुन नियती भोगिरहेको छ, त्यस्तै उक्त चलचित्रले पनि भोग्यो ।

पछिल्ला केहि वर्षयता नेपाली चलचित्र बजार कलाकारको पारिश्रमिकको विषयलाई लिएर खुबै तात्ने गरेको छ । फलानो कलाकारको पारिश्रमिक यति पुग्यो, फलानो कलाकारले यति पारिश्रमिकमा साइन गर्‍र्यो, यो कलाकारको पारिश्रमिक यति धेरै बढ्यो जस्ता खबर दिनदिनै सुन्ने गरिएको छ । पुतलीसडक, बागबजार, दरबारमार्ग, अनामनगर, बानेश्वर लगायतका स्थानमा सुनिएका यस्ता अपुरा खबर मिडियामा निकै समाचार बन्छन् । यस्ता किसिमका समाचार राम्रै बिक्ने भएकाले समेत मिडियाले बढि भन्दा बढि प्राथमिकता दिने गरेका छन् । तर, कलाकारको पारिश्रमिक वास्तवमा कति हो ? यसको भने कसैले सोधीखोजी गरेको छैन । ‘मिलाएर गर्नुस् न’ वाला चर्चित भनाईकै आधारमा कलाकारको रेट् बढेको बढ्यै छ ।
बढेकै हो त पारिश्रमिक ?

अहिले बजारमा जस्ता खालका हल्ला सुनिन्छन्, त्यसअनुसार यथार्थमा कुनैपनि कलाकारको पारिश्रमिक अचाक्ली बढेको छैन । अहिले बजारमा चलेका सबै हल्ला मात्रै हुन् । कलाकारहरुले लिने पारिश्रमिक ठिक बिपरित छ । निःसन्देह, अभिनेता अनमोल केसी, प्रदीप खड्का, पल शाह, विपीन कार्की, आर्यन सिग्देल, दयाहाङ राई, आकाश श्रेष्ठ, पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, नम्रता श्रेष्ठ, प्रियंका कार्की, आँचल शर्मा, बर्षा सिवाकोटी, बर्षा राउत, केकी अधिकारी, मेनुका प्रधानलगायतका कलाकार पछिल्लो समय चिनिएका अनुहार हुन् । यिमध्ये कतिपय कलाकारको पारिश्रमिक हल्लै हल्लामा बढेको बढ्यै छ । हल्ला अनुसार सबैभन्दा धेरै पारिश्रमिक बढेका अभिनेता हुन्, अनमोल केसी र प्रदिप खड्का । अहिले बजारमा यि दुई अभिनेताको रेट् झण्डै आधा करोड अर्थात ५० लाख रुपैंयाँको हाराहारी पुगेको हल्ला छ । बजारमा अहिले अनमोल केसीको पारिश्रमिक ४५ लाख, प्रदीप खड्काको ४५ लाख, पल शाहको २२ लाख रुपैंयाँ भन्ने गरिएको छ । यथार्थमा उनीहरुले यो पारिश्रमिक लिएर वजारमा हल्ला चलेको भने हैन । प्रदीप चम्किएको पहिलो चलचित्र प्रेमगीतबाट केहि थोरै रकममा काम गरेका थिए । दोस्रो चलचित्रबाट केहि लाख रुपैंयाँ र निर्मातावाट गाडी उपहार पाए ।

तेस्रो चलचित्र लिलिबीलीबाट निर्माण पक्षले उनलाई १५ लाख रुपैंयाँ दिइएको थियो । चौथो चलचित्र रोजबाट उनले पुरा पारिश्रमिक पाएका छैनन् । बुझिएअनुसार उनले अहिलेसम्म ५ लाख रुपैंयाँ मात्रै पाएका छन् । अहिले उनको नयाँ चलचित्र लभ स्टेसन आफैले निर्माण गरेको चलचित्र हो । कसरी उनको पारिश्रमिक ४० लाख रुपैंयाँ पुग्यो ? प्रदीप निकट एक व्यक्ती भन्छन्, ‘प्रदीपले ४० लाख रकम नलिएपनि ४० देखी ५० लाख रुपैंया“सम्मका अफर आउने गरेका छन्, यो यथार्थ कुरा हो ।’ अनमोल केसीले पहिलो चलचित्र होस्टेलबाट खासै पैसा लिएनन् । चलचित्र गाजलु र जेरीबाट १० लाख रुपैंयाँको हाराहारी बुझेको बताइन्छ । त्यस्तै कृ बाट उनले १५ लाख रुपैंयाँ लिएको उनी निकट एक व्यक्ती बताउँछन् । ड्रिम्स र पछिल्लो चलचित्र क्याप्टेन होमप्रोडक्सनबाट बनेकाले कति लिए त्यसको पत्तो छैन । पछिल्लो चलचित्र ए मेरो हजुर–३ बाट उनले ४० लाख रुपैंयाँ बुझेको भनिएको छ । तर, यसका निर्माता सुनिल कुमार थापाले भने उनको पारिश्रमिक खुलाउन नमिल्ने बताए । उनले भने, ‘हाम्रो सहमती अनुसार नखुलाउने कुरा भएकाले नलेख्नुस् है ?’ तर यो चलचित्रका निकट एक ब्यत्तीले ४० लाख रकम नलिएको दाबी गरेका छन् । उनले दाबी गर्दै भने, ‘बजारमा चल्ने हल्ला ४० लाख रुपैंयाँ ठिकै हो तर केहि चित्त बुझ्दो रकममा काम भएको छ ।’

न निर्माता बोल्छन्, न कलाकार

अनमोलले २० देखी ३० लाख रुपैंयाँभित्रै काम गर्छन् । प्रदीपले पनि यसको हाराहारीमा काम गर्न सक्छन् । स्किृप्ट, निर्देशक र चलचित्रभित्रका कलाकारमा चित्त बुझ्नुपर्छ उनीहरुलाई । पल शाह म्युजिक भिडियोबाट मनग्य आम्दानी गर्ने अभिनेता हुन् । दिनकै १ लाख रुपैंयाँसम्म लिने उनको रेट चलचित्रमा भने त्यस्तो धेरै छैन । उनी निकट एक चलचित्रकर्मी भन्छन्, ‘म आफैले म्युजिक भिडियोका लागी डेढ लाख रुपैंयाँ पारिश्रमिक दिएको देखेको छु । तर, चलचित्रमा उनले यति लिन्छन् उति लिन्छन् भन्ने हल्ला मात्रै हो ।’ पछिल्लो पटक अभिनय गरेको उनको चलचित्र विर बिक्रममा उनले अहिलेसम्म पारिश्रमिक बुझेका छैनन् । कति लिने ? पलले भन्न सकेका छैनन् । कति दिने ? निर्देशक मिलन चाम्सले मुख खोलेका छैनन् ।

नाम चलेका महंगा भनिएका अन्य कलाकारको पारिश्रमिक पनि चलचित्र बजारमा चलेको हल्ला जस्तो सत्यता छैन । बढेको पारिश्रमिकको विषयमा न सम्बन्धित कलाकार बोल्छन् न त उक्त चलचित्रका निर्देशक तथा निर्माता । यथार्थ कुरा लुकाएर मिडियामा अर्कै किसिमको हल्ला फैलाउने गरिएको छ ।

के भन्छन् चलचित्र बजारका हस्ती ?

नेपाली चलचित्र क्षेत्रका अब्बल निर्देशकको लिस्टमा मिलन चाम्सको नाम छुट्दैन । उनले आफै महंगा भनिएका अभिनेता पल शाहलाई चलचित्र विर वित्रममा कति रकम दिने अझै पक्का नभएको बताउँछन् । पल चम्किएका र स्टारडम भएका अभिनेता हुन् भन्ने थाहा छ । निर्देशक चाम्सले भने, ‘हामी दुइ जनाको नाता पारिवारका सदस्य जस्तै छ । उसको पारिश्रमिक यति हो भनेर कसरी भनौं ?’ मिलन पछिल्लो समय बजारमा चलेको कलाकारको पारिश्रमिक आतंकले तनाबमा परेको बताउँछन् । उनको दाबी छ, कुनैपनि कलाकारको हल्ला अनुसारको पारिश्रमिक छैन । फलानो कलाकारले ४० लाख रुपैंयाँ लियो, फलानोले ३० लाख रुपैंयाँ लियो भनेर मिडियामा आउने खबर क्षणिक हल्ला मात्रै हुन् । निर्देशक दिनेश राउत भन्छन्, ‘सस्तो प्रचारबाजीका लागी यस्तो नाटक रचिएको हो, यसले दिर्घकालिन रुपमा स्वयं कलाकारलाई फाइदा गर्दैन ।’ यदि कुनै कलाकारले यति महंगो रकम लिने सामर्थ्य राख्छ भने उसले शेयरमा पनि बस्न सक्नुपर्छ । बलिउडमा जस्तै यदि हल्ला अनुसारको पारिश्रमिक लिने हो भने पछि चलचित्र घाटामा गएको खण्डमा समेत निश्चित रकम फिर्ता गर्न सक्नुपर्छ, उनले भने, ‘प्रोजेक्ट र कलाकारको भ्यालु बढाउन गरिएको नाटकले भविष्यमा नयाँ निर्मातालाई असर गर्ने पक्का छ ।’ निर्माता सन्तोष सेनले एउटै कलाकारलाई आधा करोड दिएर चलचित्र बनाउन सक्ने नेपाली चलचित्र बजारको सामर्थ्य नभएको दाबी गर्छन् । नयाँ निर्माता पनि आउनुपर्छ । सधै हामीले मात्रै चलचित्र बनाएर हुँदैन । उनले भने, ‘कतिपयको स्क्रिप्ट राम्रो हुन्छ, केहि बजेटमा चलचित्र बनाउने भनेर आएका निर्माता मिडियामा सुनेका समाचारका कारण पाखा लागेका छन् । हैसियत अनुसार पारिश्रमिक लिनुपर्छ । तर अनावश्यक हल्ला गर्नु ठिक हैन ।’ उनले ५० लाख रुपैंयाँ सम्पुर्ण कलाकारको पारिश्रमिक दिन सक्ने भएपनि एउटै कलाकारलाई यो रकम दिन सक्ने नेपाली बजारको मार्केट नबनेको बताए ।

के भन्छन् कलाकार ?

अभिनेता सुनिल थापाले घाँटी हेरेर हाड निल्नुपर्ने बताउँछन् । अहिले यति लाख रुपैंयाँ, उति लाख रुपैंयाँ लियो भन्ने जुन कुरा छन् बास्तवमा कलाकारले राम्रै पारिश्रमिक लिनुपर्छ । तर, चलचित्रको बजार हेरेर मात्रै, उनले भने, ‘१ देखि २ करोड रुपैंयाँमा निर्माण हुने चलचित्रबाट कसरी आधा करोड रुपैंयाँ एउटै चलचित्रलाई खर्च गर्न सकिन्छ ?’ अभिनेता विपीन कार्की भन्छन्, ‘हल्लामा पारिश्रमिक बढाउने कुरा त हाम्रो तर्फबाट हुदैन । तर मैले कतिपय चलचित्रमा शेयर पनि पाएको छु । केहि रकम सुरुमै पाउने भएकाले चित्त बुझ्दो पारिश्रमिकमै काम गरिरहेको छु ।’ अभिनेता प्रदीपले भने आफुले चित्त बुझ्ने पारिश्रमिक भएको खण्डमा चलचित्रमा खेल्न तयार रहेको बताउँछन् । उनी भन्छन्, ‘रेट यति हो भनेर समानको भाउ जस्तो त हैन । तर सम्मानजनक पारिश्रमिक पाएको खण्डमा काम गर्न सकिन्छ ।’ यस विषयमा पलले भने मुख खोल्न मानेनन् । अनमोलले कति रकम बुझ्दै आएका छन् ? उनले पनि खुलाउन मानेनन् ।

हल्लै–हल्लाको पारिश्रमिक

केहि समयअघि अभिनेता दयाहाङ राई अभिनित एक चलचित्र सार्वजनिक भयो । उक्त चलचित्र नेपालमा २ दिन पनि चलेन । तर, उनले सो चलचित्रबाट १० लाख रुपैंयाँ पारिश्रमिक बुझेको बजारमा हल्ला चलाइयो । यथार्थमा उनले ५ लाख रुपैंयाँ मात्रै बुझेका थिए । सो चलचित्रका निर्देशक भन्छन्, ‘मेरो नाम नखुलाउनुस् अफ्ठ्यारो पर्छ । तर, मैले ५ लाख रुपैंयाँ मात्रै दिएको हुँ, बजारमा १० को हल्ला चल्यो ।’ खासमा दयाहाङ राईले आफुनजिकका साथीभाईले निर्माण गरेका चलचित्रमा ५ लाख रुपैंयाँमा काम गर्न लगभग तयार हुन्छन् ।

अन्य कलाकारहरु पनि केहि निश्चित पारिश्रमिक र विषयवस्तुको आधारमा चलचित्रमा काम गर्न सक्छन् । तर, गफ अर्कै पिटिन्छ । काठमाडौंका चोक–चोकमा खोलिएका ब्यानरहरुले करोडौंको लगानी, लाखौं रुपैंयाँ पारिश्रमिक दिएको घोषणा गर्छन् । बास्तवमा उनिहरुको पारिश्रमिक बढेको भन्नुको कारण हो बिचौलिया । बिचौलियाका कारण कलाकारहरुको पारिश्रमिक बढेको बजारमा हल्ला चलाइन्छ । निर्माताले उनीहरुलाई दिने रकमबाट केहि बिचमा लुकाउन पाइने भएपछि धेरैले यस्तो किसिमको हल्ला फैलाउने गरेका छन् ।

केहि समयअघि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीले चलचित्र कायराबाट १० लाख रुपैंयाँ पारिश्रमिक लिइन् भन्ने खबर ब्यापक मिडियामा छायो । तर उनले ७ लाख रुपैंयाँको हाराहारी मात्रै पारिश्रमिक बुझेकी थिइन् । सो चलचित्र निकट एक व्यत्ति थप्छन्, ‘यो बजार हल्लै हल्लाको हो । साम्राज्ञीले त्यतिका रकम लिएको मैले मिडियाबाटै सुनेको हुँ ।’ साम्राज्ञीले भ्रर्खरै मात्रै निर्देशक अशोक शर्माले निर्माण गर्न लागेको चलचित्र रातो टिका निधारमाका लागी साम्राज्ञीलाई १६ लाख रुपैंयाँमा अनुबन्ध गरिएको खबर बाहिरिएको छ । तर, अशोक निकट एक ब्यक्ति भन्छन्, ‘साम्राज्ञीलाई राम्रै पारिश्रमिक दिएको कुरामा त दुइमत छैन तर यो रकम हल्लैहल्लाको रकम हो ।’ यसअघि निर्देशक नवल नेपालले निर्माण गर्न लागेको चलचित्रमा जसिता गुरुङलाई अफर गरिएको थियो । जसितालाई १० लाख रुपैंयाँ दिन नसकेपछि साम्राज्ञीलाई अनुबन्ध गरिएको स्रोतको दाबी छ । जसिताले कथा मन नपरेपछि काम गरिनन् । तर, साम्राज्ञीले जसितालाई दिने रकम (७–८) लाख रुपैंयाँमा काम गरेको स्रोतको दाबी छ । केहि समय अघि मिडियामा नम्रता श्रेष्ठले १५ लाख पारिश्रमिक लिएर चलचित्र प्रसादमा काम गरेको हल्ला आयो । तर नम्रताले यस बिषयमा केहि बोल्न मानिन् । यद्यपी उनले प्रसादबाट केहि निश्चित रकम लिएकी थिइन् । र, एउटा बिदेश राइट्स लिएकी थिइन् ।

बिचौलियाका कारण आतंक

केहि समयअघि पुतलीसडक नजिकैको एक क्याफेमा अभिनेता प्रदीप खड्कालाई कसरी काम गराउन सकिन्छ भन्ने बिषयमा मिटिङ बसिरहेको थियो । एक बिचौलियाले ५० लाख रुपैंयाँको डिमाण्ड गरे अर्का एक निर्माता निकटका ब्यक्तिलाई । उनले भने, ‘तपाइले प्रदीपलाई दिने रकममा एक रुपैयाँपनि कम नगर्नुस्, बाँकी बिचमा मैले तपाईलाई के कति मिलाउने सल्लाह गरौंला हुँदैन ?’ यो बार्तालाप सुन्दा निकै हाँस्यास्पद थियो । ति बिचौलिया भन्दैथिए, ‘प्रदीपलाई मैले भनेर मात्रै हुँदैनँ, कसैलाई भन्न लगाउनुपर्छ । तपाई र मैले ५ लाख जति राखौंला अरु त्यस्तै रकम उता अर्कैलाई दिनुपर्छ । प्रदीपलाई ४० लाखमा काम गराउन सकिन्छ ।’ त्यस्तै केहि समयअघि अनमोल केसी र प्रदीपलाई एउटा चलचित्रमा काम गराउनका लागी एक बिचौलिया निकै लागि परे । आफ्नो कुनैपनि हैसियत नचल्ने भएपछि उनि मिडियानिकट ब्यक्तीलाई पनि भन्न लगाए । उनले स्वयं मिडियाका ब्यक्तीलाई कसलाई के कति मिलाउनुपर्छ गरौंला तर एकपटक कुरा चलाउनुपर्‍यो समेत भने । यस्तै बिचका ब्यक्तीका कारण पनि कलाकारहरुको पारिश्रमिक बढेको हल्ला छ । अधिकांस कलाकार र निर्मातालाई पनि थाहा नभएको कुरा के हो भने नेपाली चलचित्र बजारमा बिचौलियाको बिग बिगी छ, कलाकार देखी अन्य विभिन्न क्षेत्रबाट निर्माताबाट राम्रै रकम लुकाउन पाउनेभएपछि उनिहरु निकै सक्रिय भएर लाग्ने गरेका छन् । सोझा निर्मातालाई मज्जाले चुस्न पाएपछि मिडियामा एउटा हल्ला फैलाउने, कलाकारलाई एउटा रकम दिने र अलिकति आफुले राख्ने चलन छ ।

स्टारडम झल्काउन गलत हल्ला

स्टारडम झल्काउन र गलत हल्ला चलाएर चलचित्र निर्माण गर्नेहरूसँग बार्गेनिङ बढाउनका लागि कलाकारको पारिश्रमिक उच्च देखाउने गरिएको छ । स्टारहरुलाई बडीगार्डसँगै पत्रकार सम्मेलनमा उतारेर यस्तो किसिमको ताण्डव समेत देखाउने गरिएको छ । नाम नखुलाउने सर्तमा एक चलचित्रका निर्माता भन्छन्, ‘एक देखी डेढ करोडमा सक्ने लक्ष्य राखेकाले कसरी अभिनेता र अभिनेत्रीलाई त्यत्रो रकम दिन्छन् र ?’ यि सबै कुरा वाइयात हो । उनि थप्छन्, ‘एउटा कलाकारलाई ४० लाख रुपैंयाँ दिएर अरु कलाकारलाई दिनु पर्दैन ? चलचित्र निर्माण गर्दा एउटा कलाकारलाई मात्रै पैसा बुझाएर चलचित्र त बन्दैन नि ।’ नेपाली चलचित्र क्षेत्र बुझेका कतिपय भन्छन्, ‘नेपाली कलाकारको स्टारडम उनिहरुको फ्यान फलोइङ भन्दा पनि पारिश्रमिक बढाएको नाटक गरेर मापन गर्ने गरिएको छ, यो गलत हो ।’ कलाकारले अनावश्यक पारिश्रमिक डिमाण्ड गर्ने र चलचित्रको बजारबारे केहि जानकारीबिना कलाकार सस्तो रुपमा प्रस्तुत हुँदा नेपालको चलचित्र उद्योग पछिल्लो समयमा कमजोर हुँदै गएको कतिपयको तर्क छ । एउटै कलाकारले अनावश्यक रुपमा पारिश्रमिक माग्दा नयाँ निर्माताहरु विरक्तिन थालेका छन् । पुराना निर्माता समेत रन्थनिएका छन् ।

हालै मात्र अभिनेता पुष्प खड्काले एक चलचित्रका लागि ३० लाख पारिश्रमिक डिमाण्ड गरेको हल्ला फैलिएको छ । पुष्प नेपाली चलचित्रमा बल्ल उदाएका अभिनेता हुन् । उनले एक्लै कुनैपनि चलचित्रलाई हिट बनाउन सक्ने कुनै खुबी छैन । उनले पनि अनमोल, प्रदीप, पल शाहकै सुचिमा आफुलाई ल्याउन खोजेका छन् । उनले अभिनय गरेको चलचित्र दर्पण छाँया–२ ले बक्स अफिसमा पानी पनि भन्न पाएन । मंगलम ठिककै चलेको हो । उनका दुई चलचित्र दाल भात तरकारी र मारुनी प्रदर्शन हुँदैछन् । उनी मात्रै हैन धेरैजसो कलाकारहरुले हल्लैहल्लामा पारिश्रमिक डिमाण्ड बढाएको देखिन्छ । यद्यपी कलाकारले चलचित्र क्षेत्रको अवस्था हेरेर पारिश्रमिकको डिमाण्ड गर्नुपर्ने नेपाली चलचित्र क्षेत्रका सुभचिन्तकहरु बताउने गरेका छन् ।

नयाँ निर्मातालाई यसरी सुरुमै तर्साउने र पुराना निर्माताले लगानी गर्न छाडे भने भविष्यको चलचित्र बजार के होला ? निर्देशक याम थापा भन्छन्, ‘कलाकारले पनि घाटी हेरेर हाड निल्न आवश्यक छ, म आफै केहि स्क्रीप्ट लेखेको छु, कलाकारहरु महंगा छन् के गरौं खै ?’ चलचित्र क्षेत्रका जानकार भन्छन्, ‘आफु निकट प्रतिस्पर्धीलाई जित्न पारिश्रमिकको सवाल उठाइन्छ, उक्त चलचित्रको स्टारडम कस्तो छ ? कति चलचित्र हिट छन् ? उसले काम गरेका चलचित्रले दर्शक तान्न सक्ने कति खुबी छ भन्ने कुरा कसैले बुझ्दैन ।’

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १