मलेशियाली कम्पनि भन्छ : हामी सबै खर्च बेहोर्छौँ, नेपाली कामदार लिन आतुर छौँ, नेपालको रोजगारी गुम्दैन, नेपाली इमान्दार हुन्छन्



 

नेपालबाट मलेसियामा रोजगारीका लागि कामदार जान नपाएको १० महिनाभन्दा बढी भयो ।

गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्दप्रायः नै छ ।

मलेसियाको प्रमुख ‘सोर्स कन्ट्री’ रहेको नेपालबाट सरकारले यथाअवस्थामा कामदार लैजान प्रतिबन्ध लगाएपछि मलेसियाको श्रम बजारमा समेत कामदारको अभाव खड्किएको छ ।

मुख्यतः सेक्युरिटी गार्डको काममा मलेसियामा चरम अभाव रहेको छ, जसका कारण पछिल्ला दिनमा अवैधानिक नेपाली कामदारलाई सेक्युरिटी गार्डकारूपमा

काममा लगाउन थालिएको छ ।
गएको जेठ २ गते श्रममन्त्री गोकर्ण विष्टले नेपाली कामदारहरुले चर्को शुल्क तिरेर मलेसिया जानुपरेको भन्दै नेपालमा सञ्चालनमा रहेका ‘मिडल म्यान’ संस्था तथा यसका प्रक्रियाहरुलाई एकतर्फीरूपमा खारेज गरेका थिए ।

त्यो निर्णयसँगै मलेसियाको रोजगारी बन्द भएको छ ।

तर मन्त्रीको यो निर्णयले आगामी दिनमा नेपाली कामदारलाई भने फाइदा पुग्ने भएको छ ।

जतिबेला श्रममन्त्री गोकर्ण विष्टले यो निर्णय लिँदै थिए, त्यतिबेला नेपालबाट मलेसिया रोजगारीमा जान चाहनेहरुले प्रतिव्यक्ति कम्तीमा एक लाख रूपैयाँ तिर्नुपरिरहेको थियो । सेक्युरिटी गार्डका रूपमा बाहिर जाने केही केहीले ५५ देखि ६० हजार तिरे पनि अधिकांशले एक लाख रूपैयाँभन्दा बढी रकम तिर्नुपरिरहेको थियो ।
तर नेपाल सरकारले एकतर्फी रूपमा मलेसिया रोजगारीको प्रक्रिया बन्द भएको घोषणा गरेसँगै त्यसको ५ महिनापछि अर्थात् कात्तिक १२ गते नेपाल र मलेसिया सरकारबीच नेपाली कामदारलाई लाग्ने सम्पूर्ण खर्च मलेसियास्थित रोजगारदाता कम्पनीबाट बेहोर्ने तथा मलेसियन नागरिकसरह तलब र अन्य सुविधा उपलब्ध गराउने गरी एमओयु भयो ।

यद्यपि त्यो एमओयू अझै कार्यान्वयनमा आइसकेको भने छैन । अन्य कुरा यथावत रहेमा आगामी मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट मलेसिया रोजगारी खुल्ने सम्भावना छ ।
नेपाल र मलेसिया सरकारबीच भएको यस सहमतिलाई लिएर मलेसियामा रहेका कम्पनी पनि ज्यादै उत्साहित देखिएका छन् । रातोपाटीको टिम क्वालालुम्पुर पुगेर केही रोजगारदाता कम्पनीको भ्रमणसमेत गरेको थियो । आखिर के भन्छन् त मलेसियाका रोजगारदाताहरु ? के उनीहरु सबै खर्च आफै बेहोरेर नेपाली कामदार लैजान तयार छन् त ? यहाँ रोजगारदाता कम्पनीका केही भनाइलाई प्रस्तुत गरिएको छ ।

हामी नेपाली कामदार लिन आतुर छौँ : मुहम्मद सेक्युरिटी
क्वालालुम्पुरमा सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनी छ, महमुद सेक्युरिटी एसडीएन बीएचडी । मलेसियाको ९ वटै प्रान्तमा आफ्नो शाखा रहेको दाबी गर्ने यस सेक्युरिटीमा अहिले पनि करिब २ सय जना नेपाली सेक्युरिटी गार्डको माग रहेको छ ।

क्वालालुम्पुर, सेलाङ्गोरलगायत स्थानका कम्पनीहरुले यस सेक्युरिटीसँग नेपाली सेक्युरिटी गार्डको माग गरेका छन् । तर नेपालबाट सेक्युरिटी गार्ड लिनका लागि नयाँ प्रक्रिया सुरु नभएकाले उनीहरुले कामदारको ‘सप्लाई’ गर्न पाएका छैनन् ।
अहिलेसम्म त उनीहरुले बिस्तारै बिस्तारै भन्दै रोकिरहेका छन् । तर अब पनि यो प्रक्रिया सुरु नभएमा भने उनीहरुले बाध्य भएर अर्को विकल्प रोज्नुपर्ने हुन्छ ।

उनीहरुसँग रहेको अर्को विकल्प भनेको सारावाङ पुगेर त्यहीँका नागरिकलाई सेक्युरिटी गार्डका रूपमा लिनु नै हो । तर मलेसियाकै मान्छेले सेक्युरिटी गार्डको काम गर्न नरुचाउने र इमानदारिताका साथ काम नगर्ने भएको कारणले उनीहरु नेपाली सेक्युरिटी गार्डका लागि कुरिरहेका छन् ।

महमुद सेक्युरिटीका सीईओ रादिन रोस्लान बिन रादिन साउदी भन्छन्, ‘हामीसँग नेपाली सेक्युरिटी गार्डको विकल्प छैन । कम्पनी आफैले नेपाली सेक्युरिटी गार्ड चाहियो भनेर माग गर्छन् । तर अहिले हामीले नेपाली सेक्युरिटी गार्डको सप्लाई गर्न सकिरहेका छैनौँ । त्यसकारण हामी नेपाली सेक्युरिटी गार्डको पर्खाइमै छौँ ।’

महमुद सेक्युरिटीका सीईओ बिन रादिन साउदीका अनुसार धेरैजसो कम्पनीहरुको पहिलो रोजाइमा नेपाली सेक्युरिटी गार्ड रहेका छन् । नेपाली सेक्युरिटी गार्डले इमानदारिताका साथ काम गर्ने र ‘बहादुर’ भएको कारण पनि उनीहरु नेपाली सेक्युरिटी गार्डलाई लिन चाहन्छन् ।

त्यसो त मलेसियाको कानुनी आधार पनि सेक्युरिटी सेक्टरमा मलेसियाली र नेपालीबाहेक अन्य देशकालाई अनुमति नै छैन । कानुनतः मलेसियाली सेक्युरिटी गार्ड नपाएको अवस्थामा उनीहरुले नेपालीलाई मात्रै गार्डका रूपमा लिन सक्छन् । त्यसकारण पनि मलेसियामा नेपाली सेक्युरिटी गार्डको विकल्प छैन ।

हामी सबै प्रक्रिया पूरा गर्न तयार छौँ तर खोलिदिनु पर्यो : अनुग्राह सेक्युरिटी
महमुद सेक्युरिटी मात्रै होइन, अनुग्राह सेक्युरिटीका म्यानेजिङ डाइरेक्टरको गुनासो पनि त्यस्तै छ । उनीहरुसँग पनि धेरैभन्दा धेरै नेपाली सेक्युरिटी गार्डको माग छ ।
तर नेपालबाट कामदार मलेसिया आउने क्रम रोकिएको हुँदा अहिले कुनै पनि कम्पनीलाई कामदार दिन नपाएको अनुग्राह सेक्युरिटीका प्रबन्ध निर्देशक दातो हाजी अब्दुल अजिज बिन अब्दुल सलाम गुनासो छ । प्रबन्ध निर्देशक अजिज बिन अब्दुल सलाम भन्छन्, ‘हामीलाई नेपाल र मलेसिया सरकारले गरेको एमओयूमा कुनै समस्या छैन । हामी यो सहमतिबाट खुशी छौँ र सबै खर्च बेहोर्न हामीलाई कुनै समस्या पनि छैन । यो हाम्रो दायित्व पनि हो । तर अब नेपालबाट कामदार मलेसिया आउने बाटो भने खुल्ला हुनुपर्छ र दुवै देशले यसका लागि पहल गर्नुपर्छ ।’

अजिज बिन अब्दुल सलामका अनुसार मलेसियामा रहेका अधिकांश सेक्युरिटीले नेपालबाट सेक्युरिटी गार्ड ल्याउँदा सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने गरेका छन् । कतिपय सेक्युरिटी कम्पनीहरुले त एकजना कामदार नेपालको गाउँबाट काठमाडौँमा आउँदा लाग्ने गाडी भाडा, काठमाडौँमा बस्न र खान लाग्ने खर्च, मेडिकल लगायतका अन्य सबै खर्च,

हवाई टिकट आदि सबै दिने गरेका छन् । त्यसबाहेक कमिसनबापत नेपालका म्यानपावर कम्पनीहरुलाई करिब २० हजार नेपाली रूपैयाँ समेत दिने गरेका छन् । त्यसकारण अहिले नेपाल र मलेसिया सरकारबीच भएको यो सहमतिले वैधानिकता पाएको र यसले नेपाली सेक्युरिटी गार्डका लागि ज्यादै फाइदा पुर्याउने उनले बताए ।

मलेसियामा रहेका ठूला इलेक्ट्रिोनिक्स कम्पनीहरुले त पहिलेदेखि नै सबै खर्च बेहोरिरहेको भन्दै यसले अब साना कम्पनीहरुलाई पनि बाध्य पारेको र यसले नेपालीहरुको हित हुने बताए ।
मलेसियामा रहेका कम्पनीहरुका लागि नेपाली कामदारको विकल्प नरहेको भन्दै चाँडोभन्दा चाँडो यो प्रक्रिया सकियोस् भन्ने चाहिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘मलेसियाको कानुनले मात्रै होइन, नेपालीप्रतिको विश्वास र इमानदारिताका कारणले नेपाली सेक्युरिटी गार्डको कुनै विकल्प छैन । हामी सहमतिप्रति खुशी छौँ र सबै खर्च बेहोर्न तयार पनि छौँ । तर मात्र मलेसियाले कामदार ल्याउन पाउने बाटो भने खुला हुनुपर्छ ।’

सहमतिले नेपालीको रोजगारी गुम्दैन
अहिले कतिपयले नेपाल र मलेसियाबीच श्रम सम्झौता भएसँगै नेपालीको रोजगारी खोसिने बताइरहेका छन् । तर मलेसियाली कम्पनी र उद्योग भने नेपालीको रोजगारीमा कुनै कमी नआउने बताइरहेका छन् ।
मलेसियाले तत्कालका लागि नेपाल र बङ्गलादेशसँग यस प्रकृतिको श्रम सम्झौता गरेर एकै प्रकृतिबाट कामदार लिने प्रयत्न गरेको छ । जसका कारण दुवै देशबाट कामदार लिँदा लाग्ने सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने हुन्छ । त्यसकारण रोजगारदातालाई नेपाललाई छाडेर बङ्गलादेश जानुपर्ने कुनै कारण वा बाध्यता रहँदैन ।

त्यसबाहेक मलेसियाले नेपालसँग गरेको जस्तै सम्झौता अन्य देशहरुसँग पनि गर्न खोजिरहेको छ । त्यसकारण मलेसियाली कम्पनीलाई जुन देशबाट कामदार ल्याए पनि खर्च करिब करिब उस्तै लाग्छ । नजिकका देशहरुबाट कामदार ल्याउँदा हवाई भाडा कम लागे पनि अन्य सबै खर्च आफैले बेहोर्नुपर्ने भएपछि उनीहरुलाई जुन देशबाट कामदार ल्याए पनि त्यो खर्चमा कुनै कटौती हुन सक्दैन ।
बरु मलेसियामा नेपाली कामदारको राम्रो छवि रहेको कारणले पनि उनीहरु नेपाली कामदारलाई नै लिन चाहिरहेका छन् र नेपाली कामदार पर्खिरहेका छन् । त्यसकारण श्रम सम्झौताले कुनै असर नगर्ने र आफ्नो पहिलो रोजाइमा नेपाली कामदार नै रहेको मलेसियाली कम्पनीहरुले रातोपाटीसँगको कुराकानीमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी