एयरपोर्टका नाममा लाखौंं भोजन गर्ने चिन्नुस् : टीकापुरको माग ‘ठगहरूलाई कारबाही गर ’!



हाम्रो इकोनोमि

 

जनताबाट कर असुल्ने अधिकार सरकार र उसका निकायहरूलाई मात्र हुन्छ । तर, कैलालीको टीकापुर नगरपालिकामा केही व्यक्तिहरूले जनताबाट लाखौ रुपैयाँ कर असुलेर अपचलन गरेको थाहा भएको छ । सार्वजनिक सम्पत्तिको दोहन गरेर व्यक्तिगत लाभ लिने विभिन्न पार्टीमा आवद्ध दर्जन बढी व्यक्तिहरू टीकापुरमा सक्रिय रहेका छन ।

 

टीकापुरको विकासका लागि स्वघोषित अगुवा मान्ने ती व्यक्तिहरूले जनताबाट कर उठाएर व्यक्तिगत मोजमस्तीमा खर्च गर्ने गरेको स्थानीयले गुनासो गर्दै आएपनि हालसम्म कुनै सुनुवाई भएको छैन । सरकारले एअरपोर्ट नबनाउने भयो, जनताबाट चन्दा उठाएर एअरपोर्ट बनाउछौं भन्दै तत्कालीन माओवादी कार्यकर्ता तथा नवधनाढ्य टीकापुरका व्यवसायी टीकाराम जैसीको संयोजकत्वमा २०६७ साल तिर एउटा कमिटी बन्यो ।

 

उक्त कमिटीमा स्थानीय पत्रकार तथा तत्कालीन नेकपा एमालेका कार्यकर्ता मातृका तिमिल्सेना सचिव, तत्कालीन बलिया गाविसका पूर्व अध्यक्ष बखत विष्ट कोषाध्यक्ष, हालका टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावल र नेपाली कांग्रेसका कार्यकर्ता नवराज रावललगायत सदस्य थिए ।

 

एअरपोर्ट बनाउछौं भनेर जनतासंग सीधै चन्दा माग्दा कसैले नदिने भएपछि टीकापुर मालपोत कार्यालयसंग सहकार्य गरेर रकम उठाउने योजना उनीहरूले बनाएको स्थानीयको भनाई छ ।

 

जग्गा किनबेच गर्दा तिर्नु पर्ने राजस्वमा नगर क्षेत्रका जनतालाई समग्र राजस्वको दुई प्रतिसत र तत्कालीन गाविस क्षेत्रमा एक प्रतिसत कर उठाउने सहमति मालपोतसंग गरेको देखिन्छ । पूर्वी कैलालीका साविकका १९ गाविस र टीकापुर नगरपालिकाका जनतालाई यो बाध्यकारी नियम लगाइएको थियो । अतिरिक्त राजस्व तिर्न नचाहने सेवाग्राहीको मालपोत कार्यालयले जग्गा रजिस्टरी पास गर्दैन थियो ।

 

स्थानीय जनताको इच्छा विपरीत सर्वदलीय निर्णयका नाममा मालपोत कार्यालयमा आउने सेवाग्राहीबाट जबर्जस्ती रकम उठाएको संझदै एकजना स्थानीयले भने, ‘एअरपोर्ट निर्माण गर्न अतिरिक्त कर तिरेको रसिद नदेखाउदासम्म मालपोतका कर्मचारीले जग्गा पासको प्रक्रिया नै अघि बढाउँदैन थिए ।’

 

जनतालाई रकम दिन्न बाध्य पारेकोमा स्थानीयले विरोध गरेका थिए । विरोधका बाबजुद पनि रकम उठाउने काम ६/७ महिनासम्म चलेको मालपोतका पूर्वकर्मचारी बताउछन । गैरकानूनी ढंगबाट रकम उठाउने समितिका संयोजक र समितिका सदस्यहरूले करीब ४२ लाख रुपैयाँ संकलन भएको बताउदै आएका छन । तर, स्थानीयले उक्त रकम करीब एक करोड रहेको दाबी गरेका छन् । जनताको तीब्र विरोध हुन थालेपछि रकम उठाउन स्थगित गरिएको थियो ।

 

संकलन भएको एक करोड रुपैयाँमा ४२ लाख रुपैयाँ मात्र समितिले सार्वजनिक गरेको छ । स्थानीयले पटक पटक जनताबाट उठाएको उक्त रकम सार्वजनिक गर्न माग गरेपछि गत बर्ष समितिले हरहिसाव सार्वजनिक गरेको थियो । तर स्थानीयको चर्को विरोधबाट छुटकारा पाउनका लागि मात्र नक्कली हिसाव सार्वजनिक गरेको समितिमाथि आरोप छ । त्यो ४२ लाख रुपैयाँमा पनि १० लाख रुपैयाँ खर्च गरिसकेको बताइन्छ भने विगत ८ बर्ष देखिको व्याज वापत आउने रकम पनि समितिका पदाधिकारीहरूले डेलिगेसनका नाममा मोजमस्तीमा उडाएको स्थानीयको आशंका छ ।

 

बाँकी रकम टीकापुरस्थित नवजीवन सहकारी संस्था र कञ्चन डेभलपमेन्ट बैंकमा राखिएको बताइन्छ । एकजना स्थानीयले भने–‘सीमित मानिसहरूको मिलोमतोमा रकम उठाएका थिए करोड रुपैयाँमा आधा रकम बाँडेर खाए ४२ लाख रुपैयाँ मात्र देखाए ।’ आफ्नो मोजमस्तीका  लागि जनतासंग करका नाममा उठाएको रकम खर्च गर्नु गैरकानूनी भएको बताउदै स्थानीयले अबैद्य समितिका पदाधिकारीहरू र अतिरिक्त कर उठाउन सहयोग गर्ने टीकापुर मालपोत कार्यालयका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।

 

तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्टले एअरपोर्ट निर्माणका नाममा टीकाराम जैसीको समितिले आफ्नै सहयोग रसिद छापेर रकम उठाएको स्वीकार गरे । विष्ट हाल सेवानिवृत्त भइसेकेका छन । त्यहीबेला मालपोतमा मोहन रसाइली सुब्बा थिए । टीकापुर मालपोतमा जोसुकै अधिकृत आएपनि रसाइलीकै बोलबाला चल्ने त्यो समयमा टीकाराम जैसी समूहले मालपोतबाट अनेकौ लाभ लिएको टीकापुरवासी बताउछन् । सरकारी जग्गा व्यक्तिका नाममा पास गरेर भ्रष्टाचार गरेको अभियोगमा रसाइलीले पक्राउ परेर जेल सजाय भुक्तान गर्नु परेको थियो । एअरपोर्टका नाममा रकम उठाउने मामिलामा जैसीको समूहले रसाइलीलाई पनि भाग दिएको मालपोतकै कर्मचारी बताउछन ।

 

जग्गा पास गर्दा कति प्रतिशत राजस्व लिने भन्ने सरकारको बजेट भाषणबाट सार्वजनिक हुने कुरा हो । संसदबाट पास भएपछि मात्र यो कार्यान्वयनमा आउछ । तर कुनै व्यक्ति, समूहले सरकारी कार्यालय र कमर्मचारीको मिलिमतोमा अतिरिक्त कर लगाउन अपराध मानिन्छ ।
सरकारले एअरपोर्ट नबनाउदा जनताबाट अतिरिक्त कर लिएर संकलन भएको रकम एअरपोर्टको निर्माणमा लगाउने भन्ने तर्क गर्नु आफैंमा मूर्खता भएको  टीकापुरका एकजना पूर्व जनप्रतिनिधिको भनाई छ ।

 

विकास निमार्णको पैरवी गर्ने नाममा टीकाराम जैसीलगायतका व्यक्तिहरूले आफ्नो धन्दा चलाइरहेको स्थानीयको भनाई छ । टीकापुरको विकास निर्माणको पैरवी गर्ने नाममा यो समूहले हालसम्म करोड बढी रकम खर्च गरिसकेको स्रोतको दाबी छ । टीकाराम जैसी, तपेन्द्र रावल (मेयर हुनु अघिसम्म), मातृका तिमिल्सेना, नवराज रावल काठमाण्डौंदेखि भारतको लखनउ र नयाँ दिल्लीसम्मका डेलिगेशनमा जाँदा टीममा नछुट्ने नाम हुन ।

 

गरीब निमुखा जनतालाई बाध्य पारेर मालपोतबाट रकम उठाएकोमा जैसी समूहको टीकापुरमा आलोचना हुँदै आएको छ । जतिसुकै आलोचना भएपनि जैसी समूहले टेरपुच्छर लगाएका छैनन् ।

 

एअरपोर्टका नाममा रकम उठाए खानेहरूको छबी टीकापुरमा विवादस्पद रहेको छ । करीब डेढ दशक अघि नेपालगञ्जमा मोटरसाइकल वर्कसपको पसल चलाउन नसकेर कैलालीको वौनियामा निमार्ण सामाग्रीको व्यापार गर्न छिरेका जैसीलाई तत्कालीन नेकपा माओवादीको रकम व्यापारमा लगाएको आरोप लाग्ने गर्छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनको संरक्षण भएको खुलेआम बताउदै हिंड्ने जैसीले रानी जमरा कुलरिया सिंचाई आयोजनामा सिमेन्ट छड सप्लाई गर्ने काम पाएका छन ।

 

त्यही कामबाट हाल उनले करोडौं रकम कमाएको यस क्षेत्रका व्यापारीहरू बताउने गर्छन् । पैसा कमाउनका लागि जस्तासुकै गैरकानूनी काम पनि गर्न पछि नपर्ने जैसी र उनको समूह पूर्वी कैलालीको नेपाल भारत खुला सिमानाबाट प्रतिबन्धित सामाग्रीको व्यवसायमा पनि संलग्न भएकोले दुबै देशका सुरक्षा निकायहरूले निगरानी गरिरहेको स्रोतको भनाई छ । खासगरी उनीमाथि भारतबाट नेपालीले चोरी गरेर ल्याएका भारतीय रुपैयाँ र सुन हीरालगायतका बहुमूल्य धातु सस्तोमा खरिद गर्ने आरोप लाग्ने गरेको बताइन्छ ।

 

यसैगरी टीकापुरका मेयर तपेन्द्र रावलले पनि एअरपोर्ट निर्माणका नाममा गरीब निमुखा जनताबाट उठाएको रकममा तर मारेको टीकापुरवासी बताउछन् । उक्त रकमबाट डेलिगेशनका नाममा काठमाण्डौं र भारत भ्रमण गरेको  मेयर रावलमाथि आरोप लाग्दै आएको छ । तत्कालीन नेकपा एमालेको स्थानीय नेता हँुदा रावल टीकापुर नगरपालिका भित्र हुने विकासे बैठकमा पार्टी प्रतिनिधिका रुपमा सहभागी हुँदा साँझ रमझममा समय बिताउन मनपराउने व्यक्ति भएको टीकापुरमा चर्चा चल्ने गर्दथ्यो ।  मेयर हुनु अघि आर्थिक अवस्था कमजोर भएका रावलको आर्थिक व्यवस्थापन नगरपालिका भित्रका विकास निर्माणबाट प्राप्त कमिसनबाट चल्दै आएको उनलाई चिन्नेहरू बताउछन् ।

 

टीकापुरको सबै संस्थामा एक न एक पटक अनिवार्य अध्यक्ष हुनु पर्ने चाहना राख्दै आएका नेपाली कांग्रेसका कार्यकर्ता नवराज रावल पनि एयरपोर्टको रकममा मोज गर्ने व्यक्ति हुन् । मालदार सार्वजनिक संघ-संस्थाहरूमा अध्यक्ष हुनै पर्ने प्रवृत्तिका नवराजले टीकापुरका विभिन्न संघसंस्था र भूमिगत प्रोजेक्टहरूबाट करोडौं रुपैयाँको सम्पत्ति आर्जन गरेको टीकापुरवासीकाबीच बेला बेलामा चर्चा चल्ने गर्छ  ।

 

हाल उनी करीब ३० करोडको लागतमा चलिरहेको टीकापुर खानेपानीका अध्यक्ष छन । खानेपानीबाट मात्र १० प्रतिशतका  दरले न्यूनतम करीब ३ करोड रुपैयाँ रावलले कमिसन वापत आर्जन गरिसकेको निर्माण ठेकेदारहरू चर्चा गर्दछन् ।  बजेट नभएका संस्थामा अध्यक्ष हुन नचाहने रावललाई टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावललको छाँया भनिन्छ । हाल टीकापुर नगरपालिकालाई यी दुई रावलले नै चलाएको चर्चा हुँदै आएको छ ।

 

त्यसैगरी बलिया गाविसका पूर्व अध्यक्ष तथा हाल करोडपति व्यापारी बखत विष्ट कुनै बेला टीकापुर नगरपालिका अघि एउटा सानो सटरमा जुत्ता बनाउन प्रयोग हुने सामाग्रीको व्यवसाय गर्थे । २०५४ सालमा गाविस अध्यक्ष निर्वाचित हुँदा समेत विहान साँझ त्यही पसलमा भेटिने विष्ट एकाएक करोडपति कसरी भए भन्ने प्रश्न उठ्ने गर्छ ।

 

सामाजिक संघ/संस्था, सामुदायिक बन तथा विकास निर्माणका  लागि गठन गरिने उपभोक्ता समितिहरूको नेतृत्वमा आफै बसेर विष्टले करोडौं रुपैयाँ आर्जन गरेको लम्की चुहा नगरपालिकाका सर्वसाधारण समेत चर्चा गर्छन् । विष्ट जनताबाट मालपोत कार्यालयमार्फत अतिरिक्त राजस्व उठाए टीकापुर एयरपोर्ट निर्माण गर्नु पर्छ भन्दै गठन भएको समितिका कोषाध्यक्ष समेत हुन् । एयरपोर्टको रकममा उनले पनि मोज गरेको स्थानीयको भनाई छ ।

 

त्यसैगरी एयरपोर्टको रकममा मोज गर्ने आरोप खेप्दै आएका अर्का व्यक्ति हुन् मातृका तिमिल्सेना । माल कमाउन लागि पत्रकारको परिचय दिने खासमा छोटो समयमा करोडपति व्यापारीका रुपमा स्थापित भइरहेका तिमिल्सेना केही बर्ष अघि डेरामा जीवन विताइरहेकोमा हाल साहू महाजनका रुपमा टीकापुरमा देखापरिरहेका छन । आधा दर्जन व्यवसायिक प्रतिष्ठानका मालिक उनी टीकापुर नगर विकास समितिबाट घडेरी उपहार लिएर विवादमा आएका थिए ।

 

तत्कालीन एमालेको कार्यकर्ता बताउने उनले राजनीतिक शक्तिको आडमा आफ्नी श्रीमतीलाई टीकापुर बहुमुखी क्याम्पसमा दैनिक ज्यालादारीमा जागिरमा प्रवेश गराए । हाल उनी लाइब्रेरियनमा पदोन्नति भएकी छिन । पत्रकार र पार्टीको नेता भन्दै रानी जमरा कुलरिया सिंचाई आयोजनाको कृषि कार्यक्रमबाट अनुदान र बेला बेलामा कृषि हाकिमबाट नगद समेत लिंदै आएको टीकापुर कृषि कार्यालयका कर्मचारी बताउछन् ।

 

एयरपोर्ट निर्माणका लागि भनेर जैसी समितिमा अन्य सदस्यहरू राखिएपनि तिनीहरूलाई यो समूहले भाउ नदिएको बताइन्छ । एअरपोर्टका नाममा सहकारीमा राखेको भनिएको रकम समेत बेला बेलामा यी पाँच जनाले निजी प्रयोजनाका लागि बिना ब्याज चलाउने गरेको टीकापुरका पीडित सर्वसाधारणले बताउँदै आएका छन् ।

 

जनतासंग जबर्जस्ती असुलेको रकम जनतालाई नै फिर्ता गर्न पनि पीडितहरूले माग गर्दै आएका छन् । एक बर्ष अघि टीकापुरका केही युवाहरूले एअरपोर्टका नाममा गैरकानूनी ढंगबाट उठाएको रकम ब्याजसहित जनतालाई फिर्ता गर्नैपर्ने भन्दै प्रदर्शन गरेका थिए । विगतदेखि समाजसेवालाई कमाउ धन्दा बनाउदै आएका यी पाँचै जना उपर सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग टीकापुरमा उठ्दै आएको छ । (साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...