सेनाको विशेष विमानबाट चीनका राष्ट्रपति सि जिन पिङ अचानक काठमाडौमा उत्रिएपछि…
चीनका राष्ट्रपति सि जिन पिङ अचानक काठमाडौ आइपुग्नु भएको छ । उहाँ आइतबार राति अकस्मात् काठमाडौं आएपछि सुरक्षा निकायमा समेत निकै खैलाबैला मच्चिएको जानकारी दिइएको छ । चिनियाँ सेनाको विशेष विमानमा आउँनु भएका राष्ट्रपति सि मध्यराति त्रिभुवन विमानस्थलमा उत्रिएको जनाइएको छ ।
उहाँले आफू काठमाडौं आउने जानकारी नेपाली समयअनुसार आइतबार अपराह्न दुई बजे दुतावासलाई दिनु भएको थयो । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राष्ट्रपति दिउँसो ४ बजेको विशेष विमानबाट काठमाडौँ आउँन चाहनु भएको थियो । तर सुरक्षा थ्रेट हुने भन्दै उहाँलाई मध्यराति आउन नेपाल सरकारले आग्रह गरेको पनि उल्लेख गरिएको छ ।
सि आउने खबर आएपछि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा तत्काल सुरक्षा निकायका प्रमुखहरुको बैठक बोलाउनु भएको थियो । ओलीले सिलाई दिने सुरक्षाका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
राति १ बजे सि काठमाडौं उत्रिँदा विमानस्थलमा सेनाको कमान्डमा विशेष सुरक्षा व्यवस्था गरिएको थियो । सि आउनुभन्दा एक घन्टाअघि नै विमानस्थलबाट हुने आन्तरिक एवम् बाह्य उडान स्थगित गरिएको थियो । विमानस्थलमा उत्रिएका सिलाई नेपाली सेनाले सम्मान अर्पण गरेको थियो । त्यसपछि उहाँलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सीधै बालुवाटार लगिएको थियो । उहाँ चढेको हेलिकोप्टरलाई अन्य चारवटा हेलिकोप्टरले स्कर्टिङ गरेका थिए ।
बालुवाटारमा ओली र सि बीच करिब डेढ घन्टा वार्ता भएको थियो । वार्तापछि राष्ट्रपति सिले नेपाललाई ९० अर्ब डलर सहयोगको घोषणा गर्नुभएको छ । चीनले ऊर्जा पूर्वाधार, प्रविधि, उद्योग, सडक निर्माणलगायतका क्षेत्रका लागि उक्त सहयोग रकम उपलब्ध गराउन लागेको हो ।
यो रकम राशि करिब ९० खर्ब रुपैयाँ हुन आउँछ । अहिले नेपालको कुल बजेट १३ खर्ब १५ अर्ब छ । सहयोगसम्बन्धी सम्झौतामा सोमबार नेपालको परराष्ट्र मन्त्रालयका सचिव र चिनियाँ राजदूतले हस्ताक्षर गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली र राष्ट्रपति सिबीच नेपाली युवालाई चीनमा रोजगारीका अवसर सिर्जन गर्ने विषयमा गहन छलफल भएको बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्री केपी ओलीले चिनियाँ सहयोगप्रति सिलाई विशेष धन्यवाद दिनु भएको छ । राष्ट्रपति सिले भने आफू नेपालको वर्तमान शक्तिशाली सरकारका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा निकै खुसी भएको प्रतिक्रिया दिनु भएको छ । नेपाल सरकारको समृद्ध नेपाली सुखी नेपाली नारालाई सार्थक बनाउनका लागि चीनले सहयोग गरेको उहाँले प्रतिकुया दिनु भएको छ ।
सिले सोमबार बिहानै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ । शीतल निवासमा एक घन्टासम्म भएको छलफलमा राष्ट्रपति सिले भण्डारीसँग नेपाललाई गर्न लागेको आर्थिक सहयोगका विषयमा जानकारी गराउँनु भएको थियो । दुई राष्ट्रपतिबीच आगामी दिनमा उच्चस्तरीय भेटलाई निरन्तरता दिने सहमति भएको छ ।
किन गोप्य राखियो सिको नेपाल भ्रमण
चिनियाँ राष्ट्रपति सिले आफूले नेपालको भ्रमण गर्ने इच्छा धेरै पहिलेदेखि नै गरेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । उहाँको भ्रमण सार्वजनिक गर्दा नेपालसँगका छिमेकी देशहरुले समेत चासो राख्ने भएकाले यसलाई गोप्य राखिएको हो । उहाँको भ्रमण राति नै तय गर्नुमा भने सुरक्षा थ्रेट मुख्य कारण रहेको बताइएको छ ।
सरकारले उहाँलाई बस्नका लागि होटल सोल्टीमा विशेष सुरक्षासहितको व्यवस्था गरेको छ । सिका लागि सोल्टी होटलको क्राउन प्लाजा सबै खाली गरिएको छ । सोमबार दिनभर होटल सोल्टीमा विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँ सँग पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, डा।
बाबुराम भट्टराईले भेट गर्ने कार्यक्रम छ । उहाँसँग भेटघाट गर्ने भएपछि जिल्ला भ्रमणमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार मध्यरातमै राजधानी आउँनु भएको स्रोतको दावी छ ।
दिनभरको भेट सकेपछि सि सोमबार मध्यराति स्वदेश फर्कने कार्यक्रम छ । उहाँको विशेष सुरक्षाका लागि चिनियाँ सेनाका थप ३ जहाज पनि काठमाडौं आएका छन् ।
(अन्त्यमा हाम्रो अनुरोधः हामी यो कुरा सत्य भएको कामना गर्छौ तर यो अप्रिल फुल विशेषका लागि यो सामग्री तयार गरिएको छ । मनोरञ्जनका लागि तयार गरिएको यो सामग्रीमा आम पाठकमा कुनै भ्रम नपरोस् ।)