डिप्रेसनमा बलिउड सेलिब्रेटी,को? के कारणले ?
डिप्रेसनको पीडा नाम र प्रतिष्ठा कमाइसकेका सेलिब्रेटीलाई झन् बढी हुने जोखिम हुने मनोचिकित्सकको धारणा छ ।
बलिउडमा पनि यस्ता उदाहरणहरू प्रशस्त देखिन थालेका छन् ।
सामान्यतः असफलता वा तिरस्कारले डिप्रेसनमा जाने आमधारणा भए पनि कतिपय सेलिब्रेटी सफलताको शिखरमा छँदै पनि यस्तो समस्याबाट गुज्रिने गरेका छन् । केहीलाई एंग्जाइटी हुने गरेको छ ।
‘म ठीक हुने कोसिस गरिरहेको छु तर असफल भइरहेको छु,’ केही दिनअघि मात्रै निर्माता, निर्देशक आदित्य चोपडाले ट्वीट गरे ।
उनको उक्त ट्वीटपछि फ्यानदेखि सहकर्मीको बरोबर ढाडसका कमेन्ट्स आउन थालेपछि चोपडाले त्यसलाई थेग्न सकेनन् र ट्वीट हटाइदिए ।
पछि अर्को ट्वीटमा लेखे, ‘त्यो एउटा डार्क ह्युमर थियो । म ठीक छु ।’
घटना यति चर्को बन्यो कि चोपडाले केही समय टीटर अकाउन्ट नै डिएक्टिभ गरे । ‘धूम ३’ का अभिनेता चोपडाले यसो भनिरहँदा केही बहस जन्मिएका छन् ।
चोपडा यति बेला फिल्ममा काम नपाएको पीडामा छन् ।
त्यसैले पनि उनी डिप्रेसनमा हुन सक्ने प्रायः अनुमान लगाउन गाह्रो पर्दैन । तर केही समयअघि मात्रै अभिनेत्री दीपिका पादुकोणले पनि आफू डिप्रेसनको सिकार भएको खुलासा गरेपछि धेरै आश्चर्य चकित भए ।
सफलतामाथि सफलताको चाङ लगाएकी पादुकोणले यति बेला आफू डिप्रेसनसँग जुधिरहेको बताएकी छन् ।
आखाँभरि आँसु बनाउँदै पादुकोणले भनेकी छन्, ‘म केवल सुत्न चाहन्थें । त्यही नै मेरो बचाउको तरिका थियो ।
केवल सुतिरहने, नउठ्ने । मलाई त्यस्तो ठाउँ खोज्नु थियो, जहाँ म मज्जाले रुन सकूँ । आज पनि मलाई अलार्मसँग डर लाग्छ ।’
यस्तै बलिउडकी अर्की अभिनेत्री अनुष्का शर्माले पनि एंग्जाइटीको समस्या भोगिन् ।
अनुष्का पनि पछिल्लो समय राम्रै सफलता पाउने अभिनेत्रीमा गनिन्छिन् । तर उनले आफ्नो समस्या उजागर गर्दै यसका लागि उपचाररत रहेको खुलासा गर्दा कैयौं फ्यानहरू अवाक भएका थिए ।
सफलता नपाएर मानसिक पीडामा हुनेमा बलिउड अभिनेता टाइगर श्राफ पनि हुन् ।
आफ्नो फिल्म फ्लप भएपछि एक महिना डिप्रेसनबाट गुज्रिएको बताएका थिए भने अभिनेता शाहरूख खानले पनि सर्जरीपछि आफू डिप्रेसनमा गएको बताएका थिए ।