प्रधानमन्त्री ओली झापा पुगे पछी झापामै रहेका पूर्वराजा ज्ञानेन्द्र भागेर इलाम पुगे, यस्तो भेटियो कारण
२०६२–०६३ को जनान्दोलनताका राजतन्त्र बचाउन लागेको भन्ने आरोप लागेपनि प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रमक देखिएका छन्। यसै हप्ता एउटा अन्तर्वार्तामा उनले पूर्वराजा शाहलाई ‘आफ्नो थान्कामा बस्न’ आग्रह गर्दै संविधान विपरितका गतिविधि गरिए संविधान अन्तर्गत ल्याउने चेतावनी दिए।
त्यसअघि २ चैत्रमा जनकपुरमा भएको भनिएको पूर्वराजा शाह र भारतीय राजदूत मञ्जितसिँह पुरीबीचको भेटघाटप्रति प्रम ओलीले असन्तुष्टि जनाएको र भेटघाटबारे बुझबुझारथ भएनभएकोबारे परराष्ट्र मन्त्रालयलाई बुझ्न लगाइएको समाचार आएको थियो। त्यसलगत्तै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहलाई त्यस्तो चेतावनी दिएका थिए।
२ माघमा सिमरा झरेका पूर्वराजा शाहले २४ माघदेखि झापालाई आफ्नो मुकाम बनाएका छन्। र, त्यहीँबाट पूर्वी तराई एबं पहाडी जिल्लाका धार्मिक केन्द्रहरु भ्रमणको बहानामा सर्वसाधारणहरुसँग भेटघाट गरिरहेका छन्। त्यसक्रममा ‘राजा आउ देश बचाउ’ भन्ने र गणतन्त्र एवं वर्तमान राजनीतिक व्यवस्था विरोधी नारापनि लाग्ने गरेहेको छ।
आफ्नो गृहजिल्लालाई केन्द्र बनाएर पूर्वराजाले गरेका यी गतिविधि पक्कैपनि प्रम ओलीलाई चित्त बुझेको छैन। तर, शान्तिपूर्ण रुपमा जो कसैले गतिविधि गर्न पाउने भएकाले सरकारले केही गर्न सक्ने स्थिति स्थिति छैन। झन् धार्मिक पीठमा पुजाआजा गर्ने उद्देश्यले भ्रमण गरिएकाले पूर्वराजाका गतिविधिमाथि अवरोध सिर्जना गरिँदा यो विषय धार्मिक रुपले सम्बेदनशील बन्ने स्थिति छ।
यी दुई शीर्ष राजनीतिक व्यक्तित्वबीचको कटुताको सानो झल्को झण्डै दुई महिनादेखि ओलीको गृहजिल्लालाई मुकाम बनाइरहेका पूर्वराजा शाहको इलाम–पाँचथर भ्रमण अवधि पारेर आजदेखि प्रधानमन्त्री ओलीले झापा–मोरङ भ्रमण बनाएबाट पनि अनुमान लगाउन सकिन्छ।
केहीबेर अघिमात्र पूर्व प्रस्थान गरेका ओलीले आजे मोरङको उर्लाबारी पुग्नेछन् जहाँ उनले त्यहाँ रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन, त्यहाँ निर्मित स्तम्भको अनावरण र मदन भण्डारी स्मृति प्रतिष्ठानअन्तर्गत इन्जिनियरिङ कलेजको समेत उद्घाटन गर्नेछन्।
यी तीन कार्यक्रम सकेर प्रधानमन्त्री ओली आजै गृहजिल्ला झापा जाने कार्यक्रम छ। उनको निवास झापाको दमकमा छ। संयोगबस हिमालयन टि गार्डेनको गेष्टहाउस पनि दमकमै छ। र, गार्डेनका मालिक रहेका पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र दमकस्थित त्यही गेष्टहाउसमा रहँदै आएका छन्।
तर, मोरङ हुँदै ओली झापा जाने दिन पूर्वराजा शाह चाहिँ पहाडी जिल्ला इलाम प्रस्थान गरेका छन्। झापासँग सीमा जोडिएको जिल्ला भएपनि उनी आज साँझ इलाममै रहनेछन्। र, पर्सि (१९ चैत्र) विहान पाँचथरको सदरमुकाम फिदिमस्थित गढीमाई मन्दिरको पुजाआजा गर्नेछन्।
मंगलबारका लागि इलामबाट पाँचथर जाने कार्यक्रम बनाएका पूर्वराजा शाह त्यसैदिन इलाममा रहनेछन्। र, थप दुई दिन इलाममा रहनेछन्। २१ चैत्रमा पूर्वराजा शाहको इलामस्थित माइस्थान मन्दिरको दर्शन र पुजाआजा गर्ने कार्यक्रम रहेको विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले बताइन्।
उता मोरङको कार्यक्रम सकेर झापा पुग्ने ओलीले आज दिउसो ३ बजे आफ्नो निर्वाचन क्षेत्र दमक नगरपालिका परिसरमा प्रदेश नं १ स्तरीय साहित्यिक–प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम बनाएका छन्। लगत्तै उनले नगरपालिका भवनको उद्घाटन गर्नेछन्। आजै झापाको गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तरिक्रया गर्ने कार्यक्रम पनि छ।
आज साँझ दमकमा बस्ने प्रम ओली भोलि (१८ चैत्र) पनि झापामै रहनेछन्। भोलि विहान उनले दमकस्थित रेडक्रस हलमा आयोजित नेकपाको नगर र वडा कमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रशिक्षण दिनेछन्।
भोलि नै प्रधानमन्त्री ओलीले दमकमा निर्माण गरिएको पशुहाटको उद्घाटन गर्ने कार्यक्रम पनि छ। त्यसपछि उनले भारतीय राजदूतावासको सहयोगमा निर्मित गौरादह नगरपालिकास्थित स्कूलचौन माविको भवन पनि उद्घाटन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराएका छन्।
यसअघि पूर्वराजा शाहले १७–१८ चैत्रका लागि मात्र इलाम–पाँचथर भ्रमणको योजना बनाएका थिए। उनको सचिवालयले यसै अनुसारको सूचना प्रवाह गरेको थियो।
प्रम ओली पूर्व जाने कार्यक्रम एकाएक सार्वजनिक भएसँगै पूर्वराजाको इलाम–पाँचथरको भ्रमण कार्यक्रम लम्ब्याइएको छ। त्योपनि यस्तो बेला, जतिबेला यी दुई शीर्ष राजनीतिक व्यक्तित्वबीचको कटुवा उत्कर्षमा छ।