गगनचुम्बी भवनमा भीषण आगलागी : मृत्यु हुनेको संख्या २५ पुग्यो , डढेका वस्तुभित्र मानिस हुन सक्ने भन्दै खोजतलास



हाम्रो इकोनोमि

 

 

बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ ।

 

आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए । अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा छ जनाको मृत्यु ज्यान जोगाउन हामफालेका कारण भएको थियो । एक जना वरिष्ट अग्निनियन्त्रण अधिकारी मोहसिन अलिले भवन खाली गराएर खोजतलास शुरु गरिएको जानकारी दिनुभयो । उहाँले आगलागीबाट सबैभन्दा बढी प्रभावित आठदेखि दशौं तल्ला रहेको बताउनुभयो ।

 

“आगलागीबाट मृत्यु हुनेको संख्या २५ पुगिसक्यो । हामीले २४ जनाको शव उनीहरुको आफन्तलाई जिम्मा लगाइसक्यौं,” ढाका महानगरीय प्रहरीका उपआयुक्त मोस्ताक अहमदले बताउनुभयो । आगलागीबाट अरु व्यक्तिको मृत्यु भएको वा हराइरहेको भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ । तर ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । उक्त आगलागी बिहीबार अपराह्न शुरु भएको थियो । आगलागीको चपेटामा परेका व्यक्तिको उद्धारका लागि ठूलो संख्यामा स्थानीयबासी जुटेका थिए ।

 

अग्निनियन्त्रकहरुलाई सैनिक सहयोग समेत प्राप्त भएको थियो । सैनिक हेलिकप्टरबाट केहीको उद्धार गरिएको थियो । अग्निनियन्त्रकहरु लामा भ¥याङको सहायताबाट भवनका झ्यालका सिसा फुटाएर उद्धार कार्यमा जुटेका थिए । गत महिना पनि ढाकाको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको थियो । गैरकानुनी रुपमा राखिएको रसायन बिस्फोट हुँदा उक्त अपार्टमेन्टमा भीषण आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न १२ घण्टाभन्दा बढी समय लागेको थियो ।

 

सन् २०१२ को एक अध्ययनले बंगलादेशका गगनचुम्बी भवनहरुमा आगलागी नियन्त्रणको पर्याप्त व्यवस्था नगरिएको देखाएको छ । “केबल दुईवटा भवन सुरक्षित देखिए,” बंगलादेश विश्वविद्यालयका प्रोफेसर मेहेदी अहमद अन्सारीले बताउनुभयो । विश्वविद्यालयले ढाकास्थित ११२ वटा भवनको अध्ययन गरेको थियो ।

 

राजधानी ढाका नजिकैको निम्तोलीमा सन् २०१० मा भएको भीषण आगलागीमा १२३ जनाको मृत्यु भएको थियो । नोभेम्बर २०१२ मा पनि ढाकाको एक नौ तल्ले तयारी पोशाक कारखानामा आगलागी हुँदा १११ जना कामदारको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा आगलागी हुँदा बाहिर निस्कन बनाइएका आपतकालीन ढोकाहरु चाबी लगाएर बन्द गर्ने गरिएको वा त्यस्ता ठाउँमा सामान भण्डार गर्ने गरिएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...