एसईईको सबै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा तनाव : मुख्यमन्त्री कार्यालय घेराउ



 

लगातार दुईवटा विषयको प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा दिने प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् । प्रदेश राजधानी जनकपुरधामसहित आठै जिल्लाका एसईई दिने परीक्षार्थी आन्दोलित भएका हुन् । परीक्षा रद्द गरिएपछि आक्रोशित बनेका विद्यार्थीहरुले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न गएकाहरुले कार्यलयमा ढुंगासमेत हानेका छन् ।

 

परीक्षार्थीले जनकपुरधामको पीडारी चोकमा प्रदर्शन गर्दै टायरसमेत बालेका छन् । विद्यार्थीहरुले भानु चोकमा सडक नै अवरुद्व पारेका छन् ।बिहीबार विद्यार्थीले विज्ञान विषयको परीक्षा दिइसकेको परीक्षा रद्द गरिएको थियो । शुक्रबार सामाजिक विषयको परीक्षा भने विहानै रद्द गरियो । एक्कासी परीक्षा रद्द गराएर आफूहरुको भविष्यसँग खेलबाड गर्न खोजेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

 

सप्तरीमा बजार बन्द

सप्तरी सदरमुकम राजविराजमा विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन् । नाराबाजी पश्चात उनीहरुले राजविराज बजार बन्द गराउँदै प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरु एकाएक सडकमा आएपछि व्यापारीहरुले पसल बन्द गरेका थिए ।

 

सिरहामा राजमार्गमै बालियो टायर

सिरहामा विद्यार्थीहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान, गोलबजार, मिर्चैया, चोहर्बासहितका सडक खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले केहीबेर राजमार्गसमेत अवरुद्ध गरे । सिरहा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पनि विद्यार्थीहरुले नाराबाजी गर्दै केहीबेर प्रदर्शन गरेका छन् ।

 

रौतहटमा पनि राजमार्ग अवरुद्ध

रौतहटका विद्यार्थीले पनि चन्द्रनिगाहापुरमो टायर बालेर प्रदर्शन गर्दै केहीबेर सडक अवरुद्व गरे । परीक्षार्थीहरुले सदरमुकाम गौरमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले गौरको विभिन्न ठाउँमा सरकारविरुद्व नारावाजी गरेका हुन् ।

 

वीरगञ्जको प्रदर्शनमा अश्रुग्यास

पर्साको वीरगञ्जमा विद्यार्थीहरुले प्रहरी बिट, ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । तोडफोड र आगजनी रोक्न प्रहरीले तीन राउण्ड अश्रु ग्यास प्रहार र दमकलबाट पानीको फोहरा हालेको छ । दमकलद्वारा पानीको फोहरा प्रहार गरेपछि विद्यार्थी थप आक्रोशित बन्दै दमकल पनि तोडफोड गरेका छन् ।

 

प्रदेश २ मा एसईईको सबै प्रश्नपत्र एकसाथ बाहिरिएको आशंका

 

प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगन भयो । विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो ।

 

विज्ञानको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । जिल्ला परीक्षा समन्वय समितिको आकश्मिक बैठकले परीक्षा रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गर्‍यो । लगत्तै प्रदेशका आठवटै जिल्लामा २२ गते हुने गरी परीक्षा स्थगित गरियो ।

 

शुक्रबार हुने सामाजिक विषयको परीक्षाको प्रश्नपत्र भने अघिल्लो रात नै बाहिरियो । प्रश्नपत्र शुक्रबार बिहानसम्ममा समाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।

 

प्रश्नपत्र लिक भएको विषयमा छानविन सुरु भएको छ । तर, प्रारम्भीक रुपमा प्रदेश २ मा सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गरिएको छ । यसले बाँकी परीक्षा अन्योलमा परेका छन् भने यसअघि सम्पन्न भएको परीक्षामा पनि प्रश्न उठेको छ ।

 

प्रदेश २ अन्तर्गतका जिल्लाहरु एसएलसी तथा एसईई परिक्षाको सवालमा विगतदेखि नै बदनाम छन् । ‘यति परीक्षार्थी निष्कासित, यति परीक्षार्थीको परीक्षा रद्द, यति निरीक्षक अमर्यादित क्रियाकलाप गर्दागर्दै पक्राउ परे, बोराको बोरा चिट बरामद’ जस्ता समाचारहरु एसईई परीक्षामा प्रदेश २ बाट आउने गर्थे ।

 

यसपटक यस्ता समाचार आउन त आए, तर न्यून रुपमा । आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो । मंगलबार छुट्टी थियो भने बुधबार गणित विषयको परीक्षा सकियो । बिहीबार र शुक्रबार प्रश्नपत्र आउट भएपछि यसअघि भएको परीक्षाबारे पनि प्रश्न उठेको छ ।

 

यसरी आउँछ केन्द्रबाट प्रश्न

एसईई परीक्षाको प्रश्नपत्र पहिले देशभरि एउटै हुन्थ्यो । संघीयता कार्यान्वयनसँगै प्रदेशगत प्रश्नपत्र बनाउन थालियो । यद्यपि प्रश्नपत्र निर्माण संघबाटै हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले प्रदेशगत प्रश्नपत्र बनाएर प्रत्येक जिल्ला सदरमुकाममा पठाउँछन् । शिक्षा विकास तथा समन्वय इकाई समेतको समन्वय रहने गरी जिल्ला प्रहरी कार्यालयमा प्रश्न पत्र राखिन्छ ।

 

जिल्ला प्रहरी कार्यालयमा आएको प्रश्नपत्र शिक्षा विकास समन्वय इकाईका प्रतिनिध समेतको संलग्नतामा जिल्लाभरिका प्रहरी इकाईहरुमा पुर्‍याइन्छ । प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले भने, ‘अन्य कुनै निकायलाई यसबारे जानकारी हुँदैन । प्रहरी र शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारीले प्रश्नपत्र परीक्षा केन्द्रसम्म पुर्‍याउने काम गर्छन् ।’

 

प्रहरी भन्छ : सिल खोलिएको छैन

विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । यो घटनालगत्तै सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले प्रहरीबाट प्रश्नपत्र आउट नभएको प्रतिकृया दिए । उनले भने, ‘यो हुँनै सक्दैन । परीक्षा केन्द्र बाहेकका ठाउँमा प्रश्न पत्रको सिल खोलिएकै छैन ।’

 

प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक हरीबहादुर पालले पनि उस्तै प्रतिक्रिया दिए । उनले अनलाइनखबरसँग भने, ‘प्रहरीबाट कुनै किसिमको त्रुटी भएको छैन ।’

 

सबै जिल्ला प्रहरी प्रमुखसँग यस विषयमा बुझेको र प्रहरीबाट कतै पनि त्रुटी नभएको देखिएको उनको भनाई छ । उनले प्रश्नपत्र कहाँबाट बाहिरियो भन्ने अनुसन्धान भइरहेको बताए । ‘हामी यसमा लागिरहेका छौं,’ उनले भनेका छन्, ‘आजै सीआईबीको टोली पनि आउँदैछ, यो चाँडै पत्ता लाग्छ ।’

 

सबै प्रश्नपत्र बाहिरिएको आशंका

विज्ञान विषयको प्रश्नपत्र एक दिनअगाडि बाहिरिएको र प्रश्नहरुको उत्तर तयार गरी वितरण गरिएको दृष्टान्त सप्तरीमा देखियो । लिक भएको प्रश्नपत्रको उत्तर सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई शेयर गरिएको पाइएको छ ।

 

बिभिन्न जिल्लाबाट परीक्षा हलमै विद्यार्थीले मोवाइलबाट चिट चोरिरहेको अवस्थामा पक्राउ पर्नुले यसको पुष्टि हुन्छ । परीक्षा शुरु भएकै दिनदेखि विद्यार्थीहरुले मोबाइलबाट चिट चोर्नुले शुरुमै प्रश्नपत्र आउट भएको अनुमान गर्न सकिन्छ ।

 

अधिकारीहरुले एकसाथ सबै विषयको प्रश्नपत्र आउट भइसकेको पनि आशंका गरेको छ । अन्यथा विज्ञान विषयको प्रश्न सार्वजनिक भएर परीक्षा नै रद्द भएपछि पनि सामाजिक विषयको प्रश्न बाहिरिन कसरी सम्भव भयो भन्ने प्रश्न गर्छन् ।

 

प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारमाथि प्रश्न उठाएका छन् । मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले दोषी जोसुकै भएपनि कारबाही गरिने बताएका छन् ।

 

प्रदेश सरकारले गठन गरेको छानबिन समितिका सदस्य समेत रहेका प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले समितिका अन्य पदाधिकारीहरु आजै जनकपुर आइरहेको र आजै बैठक बसेर छानबिन गरिने जानकारी दिए ।

प्रदेशका प्रहरी प्रमुख पालले पनि केन्द्रीय अनुसन्धान व्यूरोको टोली आजै जनकपुर आइरहेको बताउँदै आजैबाट छानविन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

विभान्ता, हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।