नवलपरासीबाट विप्लवका जिल्ला इञ्चार्जसहित दुई पक्राउ
प्रहरीले विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । नेकपाका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको प्रहरीले जनाएको छ ।
तत्कालीन माओवादी केन्द्रको नवलपरासी जिल्ला कार्यालय सचिव रहेका मोहनले प्रचण्ड नेतृत्वको पार्टीमा आएको विभाजनमा वैद्यलाई साथ दिएका थिए । पछि विप्लवले पार्टी फुटाएपछि उनी त्यसमै सक्रिय रहँदै आएका छन् । नेकपाका जिल्ला सदस्य मर्दनिया कावासोती १५ शेरगञ्ज का हुन् । उनी सेन्टपोल बोडिङ्ग स्कुल गोछडाका शिक्षकसमेत भएको बताइएको छ ।
विप्लव गतिविधिमाथि प्रहरीको निगरानी
यसैबीच, सरकारले विप्लप नेतृत्वका नेकपालाई प्रतिबन्ध लगाएपछि नवलपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ८ वटा स्थानीय तह रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर जिल्लामा अधिकांश स्थानीय तहका साथै सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
नवलपुरमा स्थानीय तहका जनप्रतिनिधिहरुमा चन्दा र राजिनामा जस्ता खबरहरुले चर्चा पाइरहेको बेला ती स्थानीय तहहरुमा समेत सुरक्षा व्यवस्था मजबुद पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक एवम् सूचना अधिकारी अर्जुन रानाभाटले सोमबार बिहान कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले सादा पोशाकमा पनि प्रहरी ठाउँठाउँमा परिचालन गरिएको र विप्लव समूहका गतिविधिलाई मसिनो ढंगले निगरानी राखिएको बताए ।
विप्लवका नेताहरु एकपछि अर्काे गर्दै प्रहरी फन्दामा, भेरी-कर्णाली इन्चार्ज पनि समातिए
सरकारले प्रतिबन्ध गरेसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु एकपछि अर्काे गर्दै पक्राउ पर्न थालेका छन् । कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ गरेको २४ घण्टा नबित्दै प्रहरीले भेरी–कर्णाली संयोजक धनराज शाहीलाई पक्राउ गरेको छ ।
श्रेष्ठलाई आइतबार राति पुर्वी क्षेत्रबाट पक्राउ गरिएको हो भने शाही सोमबार कालिकोटमा पक्राउ परेका हुन् । कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको कालिकोट प्रहरीले जनाएको छ । शाही कालिकोटमा विप्लव समूहले गठन गरेको जनसरकार प्रमुख पनि हुन्।
शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद भएको शर्माले बताए । उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा–आतंक मच्चाउन सक्रिय थिए। गत भदौ १० गते विप्लव समूहको बन्दका क्रममा उनले दैलेख र कालिकोटको सिमानामा बम बिस्फोट गराई आतंक मच्चाएका थिए। त्यही दिन जिल्ला नापी र मालपोत कार्यालय कालिकोट छेउमा बम बिस्फोट गराइएको थियो। यी घटना शाहीको निर्देशनमा भएको प्रहरीको दाबी छ ।
यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन् । उनलाई हरेक साताको शनिबार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको छ । त्यसअघि विप्लवनिकट जन पत्रकार संगठनका कालिकाेट इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरिसकेको थियो।
कालिकोट विप्लव सूहका नेता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला हो । विश्वकर्माको घर कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ६ मालकोट हो। विश्वकर्माको अगुवाइमा मालकोटमा त्यहाँ २१०० वर्गफिटको सहिद स्मृति भवन र पार्टी हेडक्वार्टर कार्यालय बनाउन थाले पनि प्रहरीले रोकिदिएको छ।
सरकारले गत फागुन २८ गतेदेखि विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएको छ । त्यसयता प्रहरीको विशेष ब्यूरोले गृहमन्त्रालयको निर्देशनअनुसार विप्लव समूहका नेता तथा कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ ।
शुक्रबार राति मात्रै विप्लव समूहका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शनसहित ९ जना नेताहरुलाई पक्राउ गरेको थियो । ओली विप्लव समूहका तेस्रो वरियताका नेता हुन् ।